काठमाडौं । सुकुमवासीहरूको वर्तमान अवस्था अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोग को टोली फिल्डमा खटिएको छ। आइतबार बिहान आयोगको एक टोली कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यास क्षेत्रमा पुगेर त्यहाँ आश्रय लिइरहेका विस्थापितहरूको अवस्थाबारे जानकारी संकलन गरेको हो।
शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीहरूलाई हटाइएको थियो। हटाइएका व्यक्तिहरूलाई नेपाल प्रहरी र नगर प्रहरीको समन्वयमा नागार्जुन तथा कीर्तिपुरस्थित सत्सङ्ग भवनलगायत विभिन्न स्थानमा अस्थायी रूपमा राखिएको छ।
उक्त स्थानान्तरण प्रक्रियाका क्रममा मानवअधिकार उल्लंघन भएको आरोप उठेपछि आयोगले अनुगमनलाई तीव्र बनाएको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल ले सुकुमवासीहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न टोली खटाइएको जानकारी दिएका छन्।
यसअघि आयोगले २०६९ सालमा सुकुमवासी व्यवस्थापनसम्बन्धी सिफारिसहरू कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको थियो। सोही सन्दर्भमा आयोगले हालै वैशाख ११ गते पुनः पत्राचार गर्दै पुराना सिफारिसहरू कार्यान्वयनमा ल्याउन जोड दिएको जनाएको छ।
आयोगले २०६९ जेठ १ गते नै वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको लागि वैकल्पिक बसोबासको व्यवस्था सुनिश्चित गरेर मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो।



