काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। मन्त्रीस्तरको निर्णयअनुसार अब यात्रुवाहक तथा ढुवानी दुवै सवारीमा ५ प्रतिशतले भाडा बढाइएको हो।
यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर लागू भइसकेको छ। उनका अनुसार इन्धन मूल्यमा भएको उल्लेख्य वृद्धिलाई आधार बनाएर भाडा समायोजन गरिएको हो।
यसअघि भाडा निर्धारण गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा थियो। अहिले सो मूल्य बढेर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन करिब ३० प्रतिशतभन्दा बढी वृद्धि हो। यही परिवर्तनलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।
यसअघि गत चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो। त्यसबेला यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी क्षेत्रका मालवाहकमा २१.६८ प्रतिशत र तराईका मालवाहक सवारीमा १५.७५ प्रतिशतसम्म वृद्धि गरिएको थियो।
त्यसपछि इन्धन मूल्य दुईपटक बढेपछि यातायात व्यवसायीहरूले भाडा पुनः समायोजनको माग गर्दै आएका थिए। विभागले वैशाख ९ गते मन्त्रालयसमक्ष यात्रुवाहक सवारीका लागि झण्डै ९.८ प्रतिशत र ढुवानीतर्फ पहाडमा करिब १४ प्रतिशत तथा तराईमा १२ प्रतिशत वृद्धि प्रस्ताव गरेको थियो।
तर अन्ततः मन्त्री सुनिल लम्सालले ५ प्रतिशत वृद्धि गर्ने प्रस्तावलाई स्वीकृति दिएका छन्, जसअनुसार नयाँ भाडादर कार्यान्वयनमा आएको छ।





