काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा सुकुमबासी तथा नदी किनारका बस्ती हटाउने सरकारी अभियान शनिबार पनि जारी छ। आज स्वयम्भू, बालाजु, माछापोखरी र अनामनगर आसपासका बस्तीमा डोजर चलाइएको छ।
प्रहरीको बाक्लो उपस्थितिमा बिहानैदेखि सुरु गरिएको कारबाहीअन्तर्गत नदी किनार र अतिक्रमित क्षेत्रमा बनेका घर–टहरा हटाइँदै छन्। यसअघि शुक्रबार टेकु, बल्खु, शंखमुल र बंशीघाट मा समेत सयौँ संरचना भत्काइएको थियो।
सरकारले सुकुमबासी व्यवस्थापनको उद्देश्यले अभियान अघि बढाएको बताए पनि पहिचान नगरी बस्ती हटाइएको भन्दै आलोचना बढेको छ। डोजर अभियानपछि नदी किनारमा बसोबास गर्ने अन्य नागरिकसमेत त्रसित बनेका छन्।
संभावित क्षतिबाट जोगिन कतिपय बासिन्दाले आफ्नो घरमा जग्गाधनी प्रमाणपत्र टाँसेर ‘यो वैध हो’ भन्ने संकेत गर्न थालेका छन्, जसले वर्तमान अवस्थाको संवेदनशीलता झनै उजागर गरेको छ।



