काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गर्दै नतिजामा चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योग तथा उत्तरपुस्तिका हेर्ने सुविधा दिने जनाएको छ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालद्वारा जारी विज्ञप्तिअनुसार विद्यार्थीले जेठ १ गतेदेखि ७ गतेसम्म अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। पुनर्योगसँगै उत्तरपुस्तिका हेर्न तथा पुनः परीक्षण गराउनसमेत पाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यस वर्ष नियमिततर्फ परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये २ लाख ८४ हजार १६० जना अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी १ लाख ४६ हजार ५०७ जना विद्यार्थी एनजी भएका छन्।
बोर्डले एनजी भएका विद्यार्थीका लागि असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।




