काठमाडौँ । उपचारपछि स्वदेश फर्किएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका आन्तरिक एजेन्डातिर सक्रिय बनेका छन् ।
सिंगापुरबाट फर्किएपछि देउवा अहिले उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । नेतृत्वसँग कुराकानी बढिरहेको बेला महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन र विधानसम्बन्धी आफ्नो चिन्ता सभापति देउवा समक्ष अघि सारे। आइतबार सभापति देउवासँग भएको करिब एक घण्टाको भेटवार्तामा महामन्त्री शर्माले पार्टीको भविष्य, विधान र महाधिवेशनबारे विस्तृत चर्चा हुँदा देउवाले “पार्टीलाई संस्थागत भूमिमा राखेर अगाडि बढाउने” स्पष्ट संदेश दिएका छन् ।
देउवा पक्षधर नेताहरुको अनुसार, शर्माले उठाएका मुद्दा गम्भीर भए पनि पार्टीलाई विवाद होइन, प्रक्रियाबाट चलाउनै पर्ने देउवाको अडान पूर्ववत रहेको छ। भेटमा शर्मा केही असन्तुष्ट देखिए पनि देउवाले संयमित तरिकाले पार्टी संरचना, विधानमा भएका प्रावधान र हुनै पर्ने प्रक्रिया सम्झाइदिएको स्रोत बताउँछ।
देउवा पक्षधर भन्छन: सभापति देउवाको तर्क स्पष्ट छ- महाधिवेशनका विषय प्रक्रियागत रूपमा अघि बढ्छन्, ५४% प्रतिनिधिको माग पनि विधानअनुसारै टुंगिन्छ। कांग्रेस निर्णायक मोडमा छ: भावनाले होइन, नियमले चल्नुपर्छ । यी सबै बुँदा देउवाले अत्यन्त धैर्यपूर्ण रूपमा प्रस्तुत गरेपछि भेटवार्ता ‘तनावपूर्ण’ नभई कार्यात्मक संवादमा रूपान्तरण भएको छ ।
महामन्त्री विश्वप्रकाशको चेतावनीलाई पनि सभापति देउवाले ‘पार्टी आन्तरिक बहसको हिस्सा’ का रूपमा लिएको नेताहरु बताउछन । महामन्त्री शर्माले सभापति देउवालाई भनेका थिए: “विधान नमान्ने हो भने म महामन्त्री बस्दिनँ । राजिनामा दिन्छु ।” तर सभापति देउवा निकट स्रोतका अनुसार, देउवाले यो चेतावनीलाई ‘प्राकृतिक असन्तुष्टि’का रूपमा लिए । “पार्टीभित्र बहस हुन्छ, असन्तुष्टि व्यक्त हुन्छ, तर अन्तिम निर्णय संस्था र विधानले नै गर्छ,” भन्ने देउवाको अडान यथावत् छ।
सभापति देउवा पक्ष नेताहरु भन्छन: “कांग्रेसलाई अस्थिरता होइन, स्थिर नेतृत्व चाहिन्छ । र त्यो स्थिरता देउवाकै अनुभव र संयमताबाट मात्र सम्भव छ।”
पार्टीभित्रको उथलपुथललाई नियन्त्रणमा राख्दै सभापति देउवा ‘नेतृत्वको भूमिका’ मा सक्रिय देखिएका छन् । कांग्रेस अहिले संवेदनशील राजनीतिक मोडमा छ। राष्ट्रिय राजनीति तरल, पार्टीभित्र वैचारिक खटपट, महाधिवेशनको समय नजिक र नयाँ गठबन्धन सम्भावनाहरू खुला । यस्तो बेला नेतृत्वको शान्ति, परिपक्वता र अनुभव अत्यन्त महत्वपूर्ण हुन्छ-जसलाई देउवाले फेरि एकपटक देखाएका छन् । संयमतापुर्वक देउवाले संवादलाई समाधानतर्फ फर्काएका छन् ।
देउवा कसैको भावनालाई बेवास्ता गर्दैनन् तर पार्टी विधान तोडेर कुनै निर्णय पनि हुन दिंदैनन् । कांग्रेसलाई विवाद होइन, चुनाव र राजनीतिक स्थिरताबाट अघि लैजान चाहन्छन् । “असल नेता त्यही हो, जो चर्का आवाज सुन्छ तर निर्णय प्रक्रियाबाट गर्छ,” देउवा नजिकको एक नेताले भने ।




