२०८३ बैशाख १३

नेपालमा पहिलो पटक ग्लोबल म्याथ डिबेट लिग: अब गणित बहसको भाषा बन्ने

काठमाडौं । नेपालमा पहिलो पटक गणितलाई बहस, तर्क र सिर्जनशीलतासँग जोड्ने अनौठो प्लेटफर्म ग्लोबल म्याथ डिबेट लिग (GMDL) सुरु हुने भएको छ।

एम्बार्क अनम्याथले जनवरी २०२६ मा हुने यो बहुप्रतिक्षित कार्यक्रम नेपालमा ल्याउँने भएको हो । जसको नलेज पार्टनरका रूपमा ब्रिटानिका एजुकेशन रहनेछ ।

गणितलाई अंक र सूत्रमा मात्र सीमित नराख्ने उद्देश्यसहित सुरु गरिएको GMDL ले विद्यार्थीसँगै शिक्षक र अभिभावकलाई पनि नयाँ सोचमा डुबाउने छ। यहाँ गणित समस्याको उत्तर खोज्ने विषय मात्र होइन, विचार प्रस्तुत गर्ने, तर्क गर्ने र वास्तविक जीवनसँग जोडेर बुझ्ने माध्यम बन्नेछ।

अनम्याथका सह–संस्थापक दिवेश बथिजाले यो कार्यक्रमले विद्यार्थीको सोचाइमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
“ग्लोबल म्याथ डिबेट लिग गणना मात्र होइन, सोच्ने र बुझ्ने तरिकामै परिवर्तन ल्याउने यात्रा हो,” बथिजाले भने, “विद्यार्थीहरूलाई बहस गर्न, चुनौती लिन र गणितलाई नयाँ ढंगले जीवन्त रूपमा अनुभव गर्न अवसर मिल्नेछ।”

देशभरका विद्यालयका ५ हजार बढी विद्यार्थी स्क्रिनिङ राउन्ड, क्षेत्रीय छनोट र राष्ट्रिय फाइनल मार्फत तीन चरणमा प्रतिस्पर्धामा उत्रिनेछन् । यसले नेपालका विभिन्न क्षेत्रमा गणितीय संवाद र सौहार्दपूर्ण प्रतिस्पर्धाको माहोल सिर्जना गर्ने अपेक्षा आयोजकले गरेको छ।

विश्वसनीय ज्ञानको २५० वर्षको इतिहास बोकेको ब्रिटानिका एजुकेशनले हाल आधुनिक डिजिटल उपकरणमार्फत सिकाइको प्रभावकारिता बढाउँदै आएको छ। नेपालभरका विद्यालयहरूसँग सहकार्य गर्दै, उनीहरूले शिक्षकलाई समय बचत गर्ने, विद्यार्थीको जिज्ञासा बढाउने र आलोचनात्मक सोच विकास गर्ने स्रोतहरू उपलब्ध गराइरहेका छन्।

सन् २०१२ मा स्थापित अनम्याथ स्कूलले गणित सिकाइलाई अनुभवात्मक, रोचक र अर्थपूर्ण बनाउने अभियान सञ्चालन गर्दै आएको छ। द ग्लोबल म्याथ डिबेट लिगसहित म्याथ म्याराथन र स्पेस म्याथ जस्ता कार्यक्रममार्फत अनम्याथले विद्यार्थीलाई गणितसँग वास्तविक जीवनको सम्बन्ध जोड्न प्रेरित गर्दै आएको छ।

नेपालमा पहिलो पटक गणित र बहसको यस्तो संयोजन देखिन लाग्दा विद्यार्थी, शिक्षक र अभिभावक सबैमा उत्साह जागेको छ। आगामी जनवरीमा सुरु हुने GMDL ले नेपालको शैक्षिक क्षेत्रमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।