२०८३ बैशाख १३

निर्वाचन तयारी सुस्त भएको भन्दै शेखर कोइरालाको प्रश्न, ‘२१ फागुनमै चुनाव हुन्छ कि हुँदैन?’

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले तोकिएको मितिमा निर्वाचन हुने-नहुने विषयमा गम्भीर शंका व्यक्त गरेका छन्। २१ फागुनमा निर्वाचन गराउने भनिए पनि सरकारको तयारी सुस्त देखिएको भन्दै उनले समयमै चुनाव हुन सक्ला भन्ने आशंका उठाएका हुन्।

शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका-४ मा स्थानीय नेताहरूसँग भेटघाट गर्दै कोइरालाले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए। उनले त्यसका लागि कांग्रेस पार्टीका सबै तहका कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन पनि दिएका छन्।

कोइरालाले कांग्रेस निर्वाचनमा भाग लिन पूर्ण रूपमा तयार र आतुर रहेको स्पष्ट पार्दै निर्वाचन नै प्रजातन्त्रलाई बलियो बनाउने आधार भएको बताए। “हामी त निर्वाचनको मिति कुरेर बसेका छौं,” उनले भने, “तर सरकारको तयारी हेर्दा चुनाव हुन्छ कि हुँदैन भन्ने शंका समेत जन्मिएको छ।”

सरकारप्रति प्रश्न उठाउँदै उनले सुरक्षा र व्यवस्थापनका गम्भीर चुनौतीहरू अझै समाधान नभएको उल्लेख गरे। “केही दलका नेताहरू काठमाडौँ बाहिर जान पाएका छैनन्, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू छुट्टै छन् । यी विषयमा सरकारले के सोचेको छ?” भन्दै कोइरालाले सरकारलाई गम्भीर भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे।

उनको भनाइले आगामी निर्वाचनको तयारी र सरकारको भूमिकामाथि पुनः बहस सुरु गराएको छ ।