काठमाडौं । मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लाका विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनले प्रशासनिक अनुशासनको कमजोर पाटो उजागर गरेको छ। अनुगमनका क्रममा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित भेटिएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा गरिएको यो अनुगमनले सरकारी कार्यालयको कार्यसंस्कृति र जिम्मेवारीबोधमाथि गम्भीर प्रश्न खडा गरेको छ। मुख्यमन्त्री कार्यालयका अनुसार धनुषामा रहेका १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयमा एकैसाथ आकस्मिक अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा पूर्वस्वीकृति बिना बिदा लिएको, कार्यालय समयमा उपस्थित नभएको र तोकिएको कार्यसमयको पालना नगरेको अवस्था फेला परेपछि सम्बन्धित कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याइएको हो। दुई जना उपसचिवजस्ता उच्च पदस्थ कर्मचारीसमेत अनुपस्थित भेटिनुलाई प्रदेश सरकारले गम्भीर अनुशासनहीनताका रूपमा लिएको छ।
मुख्यमन्त्री कार्यालयले प्रदेश सरकार कार्यालय समयको पालना, सेवा प्रवाहको प्रभावकारिता र कर्मचारी जवाफदेहितालाई प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा यस्ता लापरवाही सह्य नहुने स्पष्ट पारेको छ। छड्के अनुगमनमा परेका सबै कर्मचारीलाई प्रचलित ऐन–कानुनअनुसार कारबाही गरिने र उनीहरूलाई औपचारिक रूपमा पत्राचार गर्दै स्पष्टीकरण मागिसकिएको सचिवालयले जनाएको छ। प्राप्त स्पष्टीकरणका आधारमा थप निर्णय लिइनेछ।
प्रदेश सरकारले पछिल्लो समय सेवा प्रवाह चुस्त बनाउने र कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्यले नियमित तथा आकस्मिक अनुगमनलाई तीव्र बनाउँदै आएको छ। यस्ता कदमले कर्मचारीमा अनुशासन बढ्नुका साथै सर्वसाधारणले पाउने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री कार्यालयले आगामी दिनमा पनि प्रदेशभरका सरकारी कार्यालयमा छड्के अनुगमनलाई निरन्तरता दिने घोषणा गर्दै कार्यालय समयमा अनुपस्थित रहने, जिम्मेवारीबाट पन्छिने र सेवा प्रवाहमा लापरवाही गर्ने जो–कोहीमाथि कडाइका साथ कारबाही हुने सन्देश दिएको छ।
