२०८३ बैशाख १३

औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितीमा सीएनआइकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राकोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरेका थिए ।

दुई संस्थाबीच भएको समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा संचालनलाई प्राथमिकतामा राखिएको छ । यसैगरी हेटौडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा संचालनका लागि सहकार्य गर्ने समझदारी सीएनआई र निफ्राबीच भएको छ । 

सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिने घोषणा गरे अनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो । 

यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिन नेपाल सरकारलाई संयुक्त रुपमा प्रस्तावसँगै आग्रह गरिनेछ । 

सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं संचालनका लागि निफ्रासँग समझदारी गरी सुरुवातीको काम गर्न लागिएको बताए ।सीएनआईं र निफ्राबीच भएको यो समझदारी निकै महत्वपूर्ण रहेको उनले बताए । 

निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थान विन्दुको रुपमा लिएको बताए । उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने बताए । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीले सरकारले पीपीपी मोडलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा संचालन दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताए । 

सो अवसरमा सीएनआईका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष गोकुल भण्डारी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, वागमती उद्योग परिसंघ एवं चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, सीएनआई उद्योग समिति सभापति राहुल अग्रवाल, उपसभापति गुरु अधिकारी, सीएनआई पूर्वाधार समिति सभापति रामकृष्ण खतिवडा, निफ्राका उपप्रमुख लगानी अधिकृत रबिन श्रेष्ठलगायत सहभागी थिए । 

Read More

श्रीलंकाको पुननिर्माण कोषमा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा

काठमाडौँ । आर्थिक संकट, भूकम्प र चक्रवातको विनासबाट गुज्रिरहेको श्रीलंकाले पुननिर्माण कोषमा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

श्रीलंकाको अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार चक्रवात दिट्वाबाट गम्भीर रूपमा प्रभावित श्रीलंकाको पुनर्निर्माणका लागि स्थापित ‘पुनर्निर्माण श्रीलंका कोष” मा ४.२ अर्ब श्रीलंकाली रुपैयाँ भन्दा बढी जम्मा गरिएको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले चक्रवात पछिको पुनर्निर्माण र पुनर्निर्माणलाई सहयोग गर्न कोष स्थापना गरेका थिए । कोषमा अहिलेसम्म कुल ४.२ अर्ब श्रीलंकाली रुपैयाँ जम्मा गरिएको छ । यसमध्ये  २ करोड ३० लाख विदेशी मुद्रामा प्राप्त भएको बताइएको छ ।

सहयोगको रुपमा ६० लाख डलरभन्दा बढी विदेशी मुद्रामा मात्र प्राप्त भएको र यस कोषमा योगदान देश भित्र र विदेशका व्यक्तिहरू, श्रीलंकाली उद्योगपतिहरू, व्यावसायिक संस्थाहरू, सामाजिक संस्थाहरू, विदेशमा बस्ने श्रीलंकाली नागरिकहरू र शुभचिन्तकहरूले सहयोग गरेको सरकरले जानकारी दिएको छ ।

सरकारले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पुनर्निर्माणमा सहयोग गर्ने आशा पनि राखेको बताएको छ । जसमा सहयोगको सबैभन्दा ठूलो हिस्सा उत्तर अमेरिका, अष्ट्रेलिया, चीन र बेलायतबाट आएको बताइएको छ ।

श्रीलंकाको संसदले राहत र पुनर्निर्माण लागतहरू कभर गर्न आज ५०० अर्ब रुपैयाँको अतिरिक्त बजेट अनुमोदन गर्ने अपेक्षा गरिएको छ । प्रारम्भिक सरकारी अनुमान अनुसार, कुल पुननिर्माण लागत छ देखि सात अर्ब डलर पुग्न सक्छ । चक्रवात दिट्वाले देशभरि ठूलो बाढी, पहिरो र पूर्वाधारमा गम्भीर क्षति पुर्‍याएपछि श्रीलंकालाई संकटमा पुर्याएको छ ।

Read More

अदालतको आदेशसँगै रवि लामिछाने पार्टी नेतृत्वमा फर्किँदै, रास्वपाले भन्यो: ‘न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध छौं’

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी पुनः पार्टीको मूल नेतृत्व र जिम्मेवारीमा फर्किने भएका छन्।

रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्कालै आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने स्पष्ट गरिएको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै पार्टी विधिको शासन र कानुनी सर्वोच्चताप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “सभापतिज्यूमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको श्रृङ्खला हुन्। वर्तमान नागरिक सरकारले यस प्रकारको राजनीतिक हस्तक्षेपलाई पूर्णविराम लगाउनेछ भन्नेमा पार्टी विश्वस्त छ।”

रास्वपाले लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूलाई झुटा र पूर्व सरकारको राजनीतिक बदनियतबाट प्रेरित भएको दाबीसमेत गरेको छ। सभापति पक्राउपछि सिर्जित कठिन परिस्थितिमा साथ, समर्थन र ऐक्यबद्धता जनाउने देश–विदेशमा रहेका समर्थक, शुभेच्छुक र न्यायप्रेमी नेपालीहरूप्रति पार्टीले आभार व्यक्त गरेको छ।

अदालतको आदेशसँगै रवि लामिछाने पुनः सक्रिय राजनीतिमा फर्कन लागेका छन्, जसले रास्वपाको आगामी राजनीतिक गतिविधि थप गतिशील हुने संकेत गरेको छ।

Read More

संसद् पुनःस्थापनाका लागि कांग्रेस-एमाले फेरि सर्वोच्च जाने तयारी, १३८ भन्दा बढी सांसदको हस्ताक्षर जुटाउँदै

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका नेपाली कांग्रेस र नेकपा (एमाले) अब पूरक रिट लिएर पुनः अदालत जाने तयारीमा जुटेका छन्। संसद् पुनःस्थापनालाई अझ बलियो आधारमा प्रस्तुत गर्न दुवै दलले १३८ भन्दा बढी सांसदको हस्ताक्षर संकलन सुरु गरेका छन्।

पुस २ गते बुधबारदेखि नै कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभामा रहेका आफ्ना–आफ्ना सांसदहरूको हस्ताक्षर संकलन थालेका हुन्। एमालेका युवा नेता महेश बर्तौलाका अनुसार सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी सांसदको हस्ताक्षरसहित पूरक रिट सर्वोच्च अदालतमा बुझाइने तयारी भइरहेको छ।

यसअघि एमालेले संस्थागत रूपमै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरिसकेको छ भने कांग्रेसका निवर्तमान ८ जना सांसदले पनि अलग्गै रिट दिएका थिए। एमालेले संसद् पुनःस्थापनाको पक्षमा स्पष्ट अडान लिँदै आवश्यक परे सडक आन्दोलनमा समेत उत्रिने चेतावनी दिँदै आएको छ।

यता, नेपाली कांग्रेसभित्र भने यस विषयमा मतभेद स्पष्ट देखिएको छ। पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको पक्षमा निर्णय गरे पनि पछि सभापति शेरबहादुर देउवापक्षधर सांसदहरू स्वयं संसद् पुनःस्थापनाको रिट लिएर सर्वोच्च पुगेका छन्।

तर कांग्रेसभित्रका संस्थापनइतर नेताहरूले भने चुनावको विकल्प नरहेको भन्दै संसद् पुनःस्थापनाको कदमप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रतिनिधिसभा पुनःस्थापनातर्फ जानु गलत हुने तर्क गर्दै आलोचना गरिरहेका छन्। रिट दायर गर्ने विषयलाई लिएर कांग्रेसले भने यसलाई पार्टीको संस्थागत निर्णय नभई व्यक्तिगत पहल भन्दै दूरी कायम गर्ने प्रयास गरेको छ।

कांग्रेस-एमालेको संयुक्त पहलमा अघि बढिरहेको पूरक रिटले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ, जसले देशको राजनीतिक दिशा अब अदालतको फैसलातर्फ केन्द्रित गराएको छ।

Read More

डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीन कार्ड लटरी (डिभी भिसा कार्यक्रम) निलम्बन गरेका छन् ।

यो कार्यक्रममार्फत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्ध व्यक्ति संयुक्त राज्य अमेरिका प्रवेश गरेको पिए पछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम निलम्बन गरेको हो । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा डिभी कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्न आदेश दिएको बताएकी छन् । 

ट्रम्पले यो निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोड्दै ग्रीन कार्ड लटरी जस्ता कार्यक्रमहरू मार्फत अमेरिका प्रवेश गर्नेहरूको लागि पूर्ण पृष्ठभूमि जाँच आवश्यक रहेको बताउदै हालको प्रणालीमा त्रुटिहरू रहेको र यसबाट गलत फाइदा उठाउन सक्ने ठाउ रहेको बताएका छन् ।

ट्रम्प लामो समयदेखि डाइभर्सिटी भिसा लटरीको विरोध गर्दै आएका छन् । 

यसैबीच, ट्रम्पले कानुनमा समावेश गरिएको, जस्तै डाइभर्सिटी भिसा लटरी, वा संविधानमा समावेश गरिएको, जस्तै अमेरिकामा जन्मेका जो कोहीको लागि नागरिकताको अधिकार, कानुनी आप्रवासनलाई सीमित वा हटाउने प्रयास गरिरहेका छन् । हालै, सर्वोच्च अदालतले उनको जन्मसिद्ध नागरिकता चुनौतीको सुनुवाइ गर्न सहमति जनाएको छ।

ग्रिन कार्ड लटरी, आधिकारिक रूपमा डाइभर्सिटी भिसा कार्यक्रममार्फत प्रत्येक वर्ष हजारौं मानिसहरूलाई अमेरिकामा स्थायी बसोबास प्राप्त गर्ने अवसर प्रदान गर्दछ । यसको उद्देश्य अमेरिकामा कम आप्रवासीहरू भएका देशका नागरिकहरूलाई अवसर प्रदान गर्नु हो ।

डाइभर्सिटी भिसा कार्यक्रम अन्तर्गत, धेरै अफ्रिकी देशहरूसहित एशियाका  देशहरुका अमेरिकामा कम जनसंख्या भएका देशहरूका मानिसहरूलाई लटरी मार्फत वार्षिक रूपमा लगभग ५० हजार ग्रिन कार्ड प्रदान गरिन्छ । २०२५ भिसा लटरीको लागि लगभग २ करोड मानिसहरूले आवेदन दिए ।

Read More

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठक पुस २७ गतेदेखि बस्ने

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ ।

विहिबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले दोस्रो बैठकको प्रस्ताव पेश गरेका हुन् । महासचिव पोखरेलले बैठक केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं बस्ने प्रस्ताव गरेका हुन् । आज जारी बैठकले सो प्रस्ताव अनुमोदन गर्ने बताइएको छ ।

Read More

अर्घाखाँचीबाट कांग्रेसका उम्मेदवार सिफारिस

बुटवल । नेपाली कांग्रेसले अर्घाखाँचीबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारहरू सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना र समानुपातिकमा ६ जना उम्मेदवार सिफारिस गरेको हो ।  त्यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभाका लागि ३ जनाको नाम सिफारिस गरेको छ । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, पूर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष लेखनाथ पोखरेल, डा. मुक्तिराम श्रेष्ठ, डा. जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल सिफारिस भएका छन् ।

त्यसैगरी समानुपातिकमा पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल सिफारिस भएका छन् ।

यस्तै राष्ट्रियसभाका लागि पूर्व सांसद डा. राम बहादुर बिसी, पूर्व पार्टी सभापति पिताम्बर शर्मा भुसाल र पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन् ।

Read More

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न मन्त्री घिसिङको आग्रह

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ विमोचन गरेका छन् ।

शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानिय सरकारका जनप्रतिनिधी, ईन्जिनियरिङ्ग समुदायका विज्ञहरु समेतको उपस्थिति थियो । 

मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामाग्रीको रुपमा रहेको बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रत्सोहान गर्नुपर्ने बताए । उनले निर्माण सामाग्रीको रुपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सिर्जना भई ग्रामिण अर्थतन्त्र समेत मज्बुद हुन सक्ने तथा आयातित निर्माण सामाग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न समेत मदत गर्न सक्ने बताए ।

आकासवाट हेर्दा नेपालका बस्तीहरुको छानो जस्ताले ढाकेको देखिएकोमा उनले बाँसकै प्रयोगवाट जस्ताको विकल्प समेत खोज्न सुझाए । बाँसको व्यवसायिक खेतिलाई प्रोत्साहन गर्दे  यसलाई हरित निर्माण सामाग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने कुरा बताए । उनले हाईड्रोपावरका कन्सट्रक्सन क्याम्पहरु निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्ने बताए ।

ह्याविटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्य प्रति शहरी विकास मन्त्रालयलाई बधाई एवम् धन्यवाद दिदै उनले भविष्यमा बाँसको प्रबद्र्धनात्मक कार्यहरुमा संस्थावाट सदैब सहयोग रहने कुरा व्यक्त गरे । 

मार्गदर्शनले बाँसको कटाई, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगकालगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्धारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।

Read More

माओत्से गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘पेन्सन पट्टा’ को छायांकन सुरु

काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशनमा बन्न लागेको ‘पेन्सन पट्टा’ को छायांकन सुरु गरिएको छ । 

बिहीबार कास्की जिल्लाको ताङतिङ गाउँमा शुभ मुहूर्त गरेपछि फिल्मका मुख्य दुई कलाकार पशुपति राई र गौमाया गुरुङले पहिलो सट दिएर छायांकनको शुरु गरिएको हो ।

 फिल्मको सोही गाउँमा ३५ दिनसम्म छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

निर्देशक गुरुङ स्वयंको लेखन रहेको यस फिल्ममा पशुपति र गौमायासहित दयाहाङ राई, सुनिल थापा, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, यासिली राई लगायतको अभिनय रहनेछ ।  माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (बेलायत) र सपना गुरुङ निर्मातामा छन् । 

Read More

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएका ५४ वर्षीय पबित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर षडानन्द नगरपालिका-१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भएका २५ वर्षीय साईरज सुबेदी रहेका छन् ।

पक्राउ मध्ये पबित्रले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख रूपैयाँ र साईरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख १४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पबित्र र बबितालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा साईरजलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

Read More