काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध भएको अन्यायको हिसाब अझै मिल्न बाँकी रहेको स्पष्ट पारेका छन्। शुक्रबार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएपछि समर्थकहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले धेरै बोल्ने समय नभएको बताएका हुन्।
लामिछानेले भने, “अहिले बोल्ने समय आएको छैन। अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्छु।” उनका यी शब्दले उनी आफूले भोगेको घटनाक्रमलाई सामान्य रूपमा नलिएको संकेत गरेको छ। रिहाइको क्षणमा संयमित देखिएका उनले न्यायिक प्रक्रियाप्रति भरोसा राख्दै सही समय आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने संकेत गरे।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिहीबार जिल्ला अदालत रुपन्देहीको साउन २६ गतेको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानतमा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार शुक्रबार लामिछाने बैंक जमानत बुझाएर रिहा भएका हुन्।
रिहाइपछि समर्थकहरूबीच देखिएको उत्साह र लामिछानेको संयमित अभिव्यक्तिले यो मुद्दा अझै राजनीतिक र न्यायिक दुवै हिसाबले लामो बहसको केन्द्रमा रहने संकेत गरेको छ।
लामिछानेले “अहिले होइन” भनेको मौनतालाई धेरैले आउँदो दिनका कडा प्रश्न र जवाफको पूर्वसंकेतका रूपमा लिएका छन्।




