काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी पुनः पार्टीको मूल नेतृत्व र जिम्मेवारीमा फर्किने भएका छन्।
रास्वपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्कालै आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने स्पष्ट गरिएको छ। कार्यवाहक सभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै पार्टी विधिको शासन र कानुनी सर्वोच्चताप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सभापतिज्यूमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको श्रृङ्खला हुन्। वर्तमान नागरिक सरकारले यस प्रकारको राजनीतिक हस्तक्षेपलाई पूर्णविराम लगाउनेछ भन्नेमा पार्टी विश्वस्त छ।”
रास्वपाले लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूलाई झुटा र पूर्व सरकारको राजनीतिक बदनियतबाट प्रेरित भएको दाबीसमेत गरेको छ। सभापति पक्राउपछि सिर्जित कठिन परिस्थितिमा साथ, समर्थन र ऐक्यबद्धता जनाउने देश–विदेशमा रहेका समर्थक, शुभेच्छुक र न्यायप्रेमी नेपालीहरूप्रति पार्टीले आभार व्यक्त गरेको छ।
अदालतको आदेशसँगै रवि लामिछाने पुनः सक्रिय राजनीतिमा फर्कन लागेका छन्, जसले रास्वपाको आगामी राजनीतिक गतिविधि थप गतिशील हुने संकेत गरेको छ।




