२०८३ बैशाख १३

जेलबाट भागेको आलोचना गर्दै रास्वपालाई रावलको प्रश्न: ‘अरूलाई चुनौती दिनुभन्दा पहिले काम गरेर देखाउनुस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता डा. भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै अरू दललाई चुनौती दिनु अघि आफ्नै काम देखाउन सुझाव दिएका छन्।

उनले आफ्ना अभिव्यक्तिमा राजनीतिक प्रतिस्पर्धा भाषण र आरोपमा सीमित नहुनु पर्ने स्पष्ट पारे।

आइतबार नेपाली रेडियो नेटवर्कसँगको संवादमा रावलले नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा विशाल जनसभा आयोजना गर्दै लाखौँ नागरिकलाई परिचालन गरेको दाबी गरेका हुन् । “हामीले जस्तै जनताको समर्थन मैदानमा उतारेर देखाउनुस्,” उनले लामिछानेतर्फ प्रश्न तेर्स्याए।

रावलले रास्वपाका केही नेताका अभिव्यक्ति प्रति आपत्ति जनाउँदै, नेपाललाई भारतको प्रान्त बनाउने जस्ता भाषण गर्नेहरूमाथि कारबाही गरेर चरित्र देखाउन आग्रह गरे। “आरोप लगाउनुभन्दा व्यवहारमा के गर्नुभयो, त्यो देखिनुपर्छ,” उनको भनाइ थियो।

आफूहरू पछिल्ला ५० वर्षदेखि जनताको सेवामा सक्रिय रहेको उल्लेख गर्दै रावलले रास्वपाका नेताहरू छोटो समयमै विभिन्न विवाद र काण्डमा मुछिएको दाबी गरे। “अर्कालाई औँला उठाउनु अघि आफ्नै काम हेर्नुपर्छ,” उनले भने, “राजनीतिक मैदान सबैका लागि खुला छ, लोकतन्त्रमा कसैले कसैलाई रोक्दैन।”

भदौ २३ र २४ गते देशमा घटेका घटनालाई स्मरण गर्दै रावलले त्यसपछिको राजनीतिक अवस्थाबारे पनि टिप्पणी गरे। उनले सुशीला कार्की नेतृत्वको सरकारलाई विदेशी शुभेच्छुकबाट बधाई आएको प्रसंग उल्लेख गर्दै त्यसबेला सरकारको भूमिकामाथि प्रश्न उठाए। आगामी निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय जनताले नै गर्ने उनको धारणा छ।

रावलले रास्वपाका नेताहरू केही वर्षयतामात्र राजनीतिमा सक्रिय भए पनि आफूहरू दशकौँ लामो राजनीतिक अनुभव बोकेर अघि बढेको दाबी गरे। उनले नागरिकता प्रक्रिया, सुरक्षा संयन्त्रको अवस्था, कैदीबन्दी फरार हुने घटनालगायत विषय उठाउँदै नख्खु जेल प्रकरणप्रति पनि आलोचनात्मक टिप्पणी गरे।

रावलले ताजा जनादेशमा जान तयार रहेको समेत उल्लेख गर्दै, “नेपाली कम्युनिष्ट पार्टी चुनावी प्रतिस्पर्धाका लागि तयार छ,” भनी आफ्नो पक्ष स्पष्ट पारेका छन् ।