काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले बैंकको नीति, वित्तीय स्थिति र आगामी कार्यदिशासँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाबसहितका सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। सभामा बैंकको समग्र वित्तीय अवस्था, जोखिम व्यवस्थापन, सेवा विस्तार तथा आगामी योजनाबारे पनि छलफल गरिएको थियो।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा सम्बन्धी प्रस्ताव पारित गरेको छ। साथै, महालेखापरीक्षकको कार्यालयबाट आवश्यक परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सर्वसम्मत रूपमा भएको छ।
साधारण सभामा बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ। प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा परिवर्तन आवश्यक परेमा सोही अनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
सभामा सहभागी शेयरधनीहरूले बैंकको दीर्घकालीन रणनीति, सुशासन र डिजिटल बैंकिङ सेवाको विस्तारप्रति चासो व्यक्त गर्दै व्यवस्थापनप्रति विश्वास व्यक्त गरेका थिए।
बैंकले आगामी दिनमा वित्तीय अनुशासन, ग्राहक सेवा र प्रविधिमैत्री बैंकिङलाई थप प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।




