२०८३ बैशाख १३

निर्वाचन आयोगद्वारा समानुपातिक सूचीमा त्रुटि सच्याउन दलहरूलाई निर्देशन

२१ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा देखिएका त्रुटि सच्याउन सबै राजनीतिक दलहरूलाई पत्राचार गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, दलहरूले पेस गरेको बन्दसूचीको नामहरूको कलस्टर प्रतिशत जाँच्दा विभिन्न त्रुटि फेला परेको हो।

जाँचमा एकै व्यक्तिको नाम दुई ठाउँमा रहेको, वा एउटै कलस्टरमा हुनुपर्ने व्यक्तिको नाम अर्को कलस्टरमा राखिएको जस्ता समस्या देखिएका छन्। यस्ता त्रुटि नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत फेला परेका छन्।

त्यसैगरी, केही उम्मेदवारको सूचीमा हस्ताक्षर नभएको र नागरिकता सम्बन्धी विवरण प्रष्ट नभएको पनि आयोगले पत्ता लगाएको छ। आयोगले दलहरूलाई यी त्रुटि सच्याउन इमेलमार्फत निर्देशन दिएको छ।

आयोगका अनुसार दलहरूले आजदेखि पुस २७ गतेसम्म सूचीमा देखिएका त्रुटि सच्याउन सक्नेछन्। उम्मेदवारले नाम फिर्ता लिन चाहेको खण्डमा पुस २८ गतेसम्म समय दिइएको छ। यसपछि, फिर्ता लिएको स्थानमा दलले अर्को उम्मेदवारको नामावली पुस ३० गते आयोगमा पेश गर्नुपर्नेछ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार, उम्मेदवारको बन्दसूची माघ ४ गते प्रकाशन हुनेछ। यसपछि माघ ५ देखि माघ १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धी दावी–विरोध पेश गर्न सकिनेछ। माघ ११ देखि १७ गतेसम्म आयोगले दावी–विरोधको अध्ययन गरी निर्णय गर्नेछ। अन्तिम उम्मेदवारको सूची माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म प्रकाशित हुनेछ।

निर्वाचन आयोगले तय गरेको मितिअनुसार आगामी फागुन २१ गते मतदान सम्पन्न हुने छ।