काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित अन्तिम प्रतिवेदन आगामी चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। सो दिन दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा प्रतिवेदन बुझाइने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र वितरण गर्दैछ। उक्त प्रक्रिया सम्पन्न भएसँगै यसपटकको निर्वाचन औपचारिक रूपमा पूरा भएको मानिनेछ। त्यसपछि आयोगले समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेछ।
हालै सम्पन्न निर्वाचनबाट ६ वटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ५७ सिट हासिल गरेको छ भने नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट पाएका छन्।
संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचनबाट र ११० जना समानुपातिक प्रणालीमार्फत चयन हुने प्रावधान रहेको छ।




