२०८३ बैशाख १३

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सन्देशमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको छ । प्राप्त पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्याइएको छ ।

साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उनीहरूको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ प्राथमिकतामा राख्दछ। चिनियाँ कम्युनिस्ट पार्टीले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि धन्यवाद ज्ञापन गरेको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जानकारी दिएका छन् ।

Read More

न्याय प्रणालीमा सुधार आवश्यक, आत्मपरिवर्तन गर्नुपर्ने बेला आयो: प्रधानन्यायाधीश राउत

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बदलिँदो समयअनुसार न्यायपालिकाभित्र पनि सुधार र आत्मपरिवर्तन आवश्यक भएको बताएका छन्।

उच्च अदालत तुलसीपुरको अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै उनले हालैको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीप्रति संकेत गर्दै यस्तो घटनाले न्याय सम्पादनप्रति जनआक्रोश झल्काएको हो कि भन्ने प्रश्न उठाएका छन्।

प्रधानन्यायाधीश राउतले क्षतिग्रस्त अदालत भवन पुनःनिर्माणका लागि सरकारसँग आवश्यक स्रोत जुटाउन आफू प्रतिबद्ध रहेको बताए। साथै उनले उच्च अदालतलाई अन्यत्र सार्ने विषय हालका लागि सम्भव नभएको स्पष्ट पारे।

उनका अनुसार तुलसीपुरबाट देउखुरी सार्ने चर्चा भए पनि यसबारे औपचारिक जानकारी आफूलाई नभएको बताए। यसअघि लुम्बिनी प्रदेश योजना आयोगले अदालत स्थानान्तरणका लागि योजना बनाएको भन्ने चर्चा सार्वजनिक भएपछि त्यसको स्थानीय स्तरमा विरोध समेत भएको थियो।

कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का तथा वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल लगायतले पनि आफ्ना धारणा राखेका थिए।

प्रधानन्यायाधीश राउत तुलसीपुर भ्रमणपछि अन्य क्षेत्रको निरीक्षणका लागि घोराही, नेपालगञ्ज हुँदै पोखरा जाने कार्यक्रम रहेको जनाइएको छ।

Read More

यातायात क्षेत्र बारे सर्वोच्चका फैसला कार्यान्वयन गर्न गठित आयोगले बुझायो प्रतिवेदन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश तथा फैसला कार्यान्वयनका लागि गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।

मंगलबार आयोगका अध्यक्ष दीपक सुवेदीसहितको टोलीले गृहमन्त्री अर्याललाई भेटेर प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै मन्त्री अर्यालले त्यसलाई छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन सदस्यीय आयोग गठन गरिएको थियो । आयोगमा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्यको रूपमा रहेका छन् ।

आयोगले २०८२ पुस १६ गतेदेखि काम सुरु गरेको थियो। प्रारम्भमा एक महिनाको समयसीमा दिइए पनि अध्ययन र अनुसन्धानका लागि थप एक महिना म्याद थप गरी कार्यादेशअनुसार काम सम्पन्न गरिएको जनाइएको छ ।

आयोगलाई यातायात क्षेत्रसँग सम्बन्धित सर्वोच्च अदालतका विभिन्न आदेश तथा फैसला कार्यान्वयनको अवस्था, कानुनी तथा नीतिगत व्यवस्था, सवारी साधनको प्राविधिक गुणस्तर, सडकको न्यूनतम मापदण्ड, प्रदूषण, रुट अनुमति, यातायात सञ्चालन प्रणाली, पारदर्शिता, सुरक्षा, दुर्घटनामा दायित्व निर्धारण तथा सिन्डिकेट र कार्टेलिङ जस्ता विषयमा अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।

Read More

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डंगोल पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा संकलित तथ्य प्रमाण तथा विज्ञ टोलीको विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो । उनीमाथि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनविपरीत कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप लागेको छ ।

उक्त प्रकरणमा पुर्व सिइओ अशोक शेरचनसहित अन्य कर्मचारीमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ । 

ललितपुर महानगरपालिका–२७ का स्थायी बासिन्दा ५० वर्षीय डंगोललाई उच्च अदालत पाटनको अनुमति लिएर काठमाडौँको थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । हाल अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

रवि लामिछानेको मुद्धा आजपनि हेर्दा हेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटको सुनुवाई आजपनि हेर्दा हेर्दैमा परेको छ ।

आइतबारदेखि सुनुवाई भइरहेको यो रिट लगातारहेर्दा हेर्दैमा परेको हो । मंगलबार  सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलको बहस पछि आज बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । 

यो रिट अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

Read More

युरोपेली संघले होर्मुजमा युद्धपोत नपठाउने

काठमाडौँ । युरोपेली संघले होर्मुज जलडमरूमध्यमा युद्धपोत नपठाउने जनाएको छ ।

संघकी विदेश नीति प्रमुख काजा कालासले युरोपेली देशहरू आफ्ना नागरिकलाई जोखिममा राख्न नचाहने भएकाले यस्तो निर्णय गरिएको बताएकी छन् ।

उनले विश्वमा खाद्य, मल र ऊर्जाको आपूर्ति कायम राख्न कूटनीतिक उपाय अपनाउनु आवश्यक रहेकोमा जोड दिएकी छन् ।

यसअघि डोनाल्ड ट्रम्पले उक्त जलडमरूमध्यमा तेल ढुवानी गर्ने जहाजहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नौसैनिक सहयोगको प्रस्ताव गरेका थिए । तर धेरै युरोपेली देशहरूले त्यसमा साथ नदिने संकेत गरेका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय समुद्री संगठनले पनि सैन्य जहाज पठाउनु दीर्घकालीन समाधान नहुने जनाएको छ । संगठनका प्रमुख आर्सेनियो डोमिङ्ग्वेजका अनुसार सैन्य उपस्थितिले केही जोखिम कम गर्न सक्छ, तर पूर्ण सुरक्षा सुनिश्चित गर्न सक्दैन ।

उनले व्यापारी जहाज र नाविकहरू अझै जोखिममै रहने भएकाले दीर्घकालीन समाधानका लागि वैकल्पिक उपाय आवश्यक रहेको बताएका छन् ।

यसअघि जापानले पनि सो क्षेत्रमा तत्काल युद्धपोत पठाउने कुनै योजना नरहेको स्पष्ट गरेको थियो ।

Read More

साहुखल र घिमिरेलाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी बालगोपाल साहुखल र चेतकुमार घिमिरेले दिएको छ । 

मंगलबार एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरेका हुन्  । 

त्यस्तै टिम व्यवस्थापकमा मदनलाल श्रेष्ठ, सहायक व्यवस्थापक राजीवकुमार यादव र ‘पर्फमेन्स एनालिस्ट’ को जिम्मेवारी पंकज शाहीलाई दिइएको एन्फाले जनाएको छ । 

नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण खेलका लागि उनीहरुलाई जिम्मेद्वारी दिइएको एन्फाले बताएको छ । हाल यो खेलका लागि प्रमुख प्रशिक्षक गुल्लिएल्मो एरेनाको प्रशिक्षणमा ४९ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपालले  हङकङसँग मार्च २६ मा दशरथ रंगशालामा हङकङ चाइनाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

Read More

पूरा नपाए पनि आधाले काम चल्यो: उपभोक्ताको मिश्रित प्रतिक्रिया

काठमाडौं । देशभर देखिएको ग्यास अभावका बीच नेपाल आयल निगमले सुरु गरेको आधा सिलिन्डर वितरण व्यवस्थाले उपभोक्तामा केही राहतको अनुभूति गराएको छ।

मंगलबार काठमाडौंको टेकुस्थित निगमको कार्यालयमा ग्यास लिन पुगेका सर्वसाधारणले पूर्ण सिलिन्डर नपाए पनि आधा परिमाणले दैनिक आवश्यकता पूरा गर्न सहज भएको बताएका छन्। लामो समयदेखि ग्यास अभाव झेलिरहेका उपभोक्ताका लागि यो उपाय अस्थायी समाधान बनेको देखिएको छ।

बजारमा ग्यासको चरम अभाव भएपछि निगमले ९ सय ५५ रुपैयाँमा आधा सिलिन्डर उपलब्ध गराउने व्यवस्था लागू गरेको हो। यसअघि डिपोहरूमा हप्तौँसम्म नाम दर्ता गर्दा पनि पालो नपाउने समस्या झेलिरहेका उपभोक्ता अहिले सिधै टेकु पुगेर ग्यास लिइरहेका छन्।

कलङ्कीबाट ग्यास लिन आएकी एक महिलाले १० दिनसम्म डिपो धाउँदा पनि ग्यास नपाएपछि अन्ततः यहाँ आएर आधा सिलिन्डर पाएको अनुभव सुनाइन्। उनका अनुसार यसले केही दिनका लागि भए पनि घरको चुल्हो बल्ने अवस्था बनेको छ।

अरू उपभोक्ताहरूले समेत ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बनेको गुनासो गरेका छन्। कतिपय परिवारले खाना पकाउनै नसक्ने अवस्था भोग्नुपरेको भन्दै उनीहरूले यस्तो अवस्थामा आधा सिलिन्डर वितरणले राहत दिएको बताएका छन्।

यता, निगमले भने सबै उपभोक्तालाई सकेसम्म खाली हात फर्किन नपर्ने गरी वितरण व्यवस्थापन गरिएको जनाएको छ। निगमका प्रतिनिधिका अनुसार बजारमा देखिएको चाप कम गर्न र सीमित आपूर्ति सबैमा बाँडफाँड गर्न आधा सिलिन्डर वितरणको अवधारणा लागू गरिएको हो।

Read More

लामो प्रतीक्षापछि पोखरामा फेरि उड्ने भयो प्याराग्लाइडिङ

काठमाडौं । पोखरामा लामो समयदेखि रोकिएको प्याराग्लाइडिङ गतिविधि पुनः सञ्चालनमा आउने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सुरक्षाका कारण बन्द गरिएको यो साहसिक खेल अब फेरि सुरु गर्न लागिएको हो।

प्याराग्लाइडिङ पोखराको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक मानिन्छ, जसले आन्तरिक र बाह्य दुवै पर्यटकलाई लोभ्याउँदै आएको छ। विमानस्थल निर्माण अघि दैनिक करिब १ हजारदेखि १२ सयसम्म पर्यटकले यस खेलको अनुभव लिने गरेका थिए।

विमानस्थल सञ्चालनसँगै उडान सुरक्षालाई ध्यानमा राख्दै केही समयका लागि रोकिएको यो गतिविधि पुनः सुरु हुने भएपछि पर्यटन व्यवसायी तथा साहसिक खेलप्रेमीहरू उत्साहित देखिएका छन्।

पुनः सञ्चालनसँगै पोखराको पर्यटन क्षेत्र अझ चलायमान हुने अपेक्षा गरिएको छ।

Read More

एभरेष्ट बैंकको ३ अर्बको ऋणपत्र आउँदै, लक्ष्मी सनराईज क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको छ। उक्त ऋणपत्रको निष्काशन तथा बिक्री व्यवस्थापनका लागि बैंकले लक्ष्मी सनराईज क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको जनाएको छ।

“एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नाम दिइएको यस योजनाअन्तर्गत बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका कुल ३० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ।

यसमा ४० प्रतिशत अर्थात १२ लाख युनिट सर्वसाधारणका लागि खुला गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १८ लाख युनिट व्यक्तिगत (प्राइभेट प्लेसमेन्ट) माध्यमबाट बिक्री गरिने योजना रहेको छ।

६ वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज पाउनेछन्। उक्त ब्याज भुक्तानी हरेक ६–६ महिनामा अर्धवार्षिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ।

यस सम्बन्धमा भएको सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बैंकले यस ऋणपत्रमार्फत लगानीकर्तालाई स्थिर आम्दानीको अवसर उपलब्ध गराउने लक्ष्य लिएको बताएको छ।

Read More