काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बदलिँदो समयअनुसार न्यायपालिकाभित्र पनि सुधार र आत्मपरिवर्तन आवश्यक भएको बताएका छन्।
उच्च अदालत तुलसीपुरको अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै उनले हालैको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीप्रति संकेत गर्दै यस्तो घटनाले न्याय सम्पादनप्रति जनआक्रोश झल्काएको हो कि भन्ने प्रश्न उठाएका छन्।
प्रधानन्यायाधीश राउतले क्षतिग्रस्त अदालत भवन पुनःनिर्माणका लागि सरकारसँग आवश्यक स्रोत जुटाउन आफू प्रतिबद्ध रहेको बताए। साथै उनले उच्च अदालतलाई अन्यत्र सार्ने विषय हालका लागि सम्भव नभएको स्पष्ट पारे।
उनका अनुसार तुलसीपुरबाट देउखुरी सार्ने चर्चा भए पनि यसबारे औपचारिक जानकारी आफूलाई नभएको बताए। यसअघि लुम्बिनी प्रदेश योजना आयोगले अदालत स्थानान्तरणका लागि योजना बनाएको भन्ने चर्चा सार्वजनिक भएपछि त्यसको स्थानीय स्तरमा विरोध समेत भएको थियो।
कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का तथा वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल लगायतले पनि आफ्ना धारणा राखेका थिए।
प्रधानन्यायाधीश राउत तुलसीपुर भ्रमणपछि अन्य क्षेत्रको निरीक्षणका लागि घोराही, नेपालगञ्ज हुँदै पोखरा जाने कार्यक्रम रहेको जनाइएको छ।




