काठमाडौँ । राजधानीको शोभा भगवतीस्थित विष्णुमती खोला किनारमा ठूलो परिमाणमा हातहतियार फेला परेपछि सुरक्षा चासो बढेको छ।
काठमाडौँ महानगरपालिका-१५ अन्तर्गत शोभा भगवती क्षेत्रमा आइतबार बिहान प्रहरीले ४ थान अत्याधुनिक पेस्तोलसहित गोली बरामद गरेको हो।
नेपाल प्रहरी अन्तर्गत प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा खोला किनारमा लुकाइछिपाइ राखिएको अवस्थामा हतियार फेला पारेको जनाएको छ।
बरामद सामग्रीमा टाइप-५४ मोडेलका ४ थान पेस्तोल, ७ थान म्यागजिन र ९ एमएम बेरेटा पेस्तोलमा प्रयोग हुने ५८ राउन्ड गोली रहेका छन्।
फेला परेका हतियार कसले र कुन उद्देश्यले त्यहाँ राखेको हो भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै सम्भावित आपराधिक गतिविधिसँग सम्बन्ध जोडेर अनुसन्धान अघि बढाएको छ।
घटनापछि उक्त क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाइएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण संकलन गर्दै संलग्न व्यक्ति वा समूहको खोजी तीव्र पारिएको छ।
राजधानीमै यसरी हतियार भेटिनु सुरक्षाका दृष्टिले संवेदनशील विषय बनेको छ।




