काठमाडौँ । नेपालका लागि जापान का राजदूत मायदा तोरु ले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री डा तिमिल्सिनाले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। उनले बदलिँदो विश्व सन्दर्भमा प्रविधि र नवप्रवर्तनमार्फत द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने धारणा राखे।
सरकारले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, दूरसञ्चार विस्तार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउन डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाइएको बताए।
यी क्षेत्रमा जापानको प्राविधिक सहयोग, लगानी, क्षमता विकास तथा अनुभव आदानप्रदान उपयोगी हुने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको र लगानीमैत्री वातावरण निर्माण भइरहेको बताए। नीतिगत सुधार, कानुनी संरचना सुदृढीकरण तथा प्रशासनिक प्रक्रियाको सरलीकरणमार्फत वैदेशिक लगानी आकर्षित गर्ने सरकारको योजना रहेको उनले स्पष्ट पारे।
विशेषगरी सूचना प्रविधि, डिजिटल सेवा, क्लाउड पूर्वाधार, ई–गभर्नेन्स प्रणाली तथा नवप्रवर्तन उद्योगमा विदेशी लगानी आवश्यक रहेको उनले जोड दिए।
राजदूत मायदा तोरुले नेपालमा सूचना प्रविधि क्षेत्रको तीव्र विकासका लागि दुई देशबीच थप सहकार्य गर्न सकिने धारणा राखे। उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताए।
उनका अनुसार जापानमा करिब तीन लाख नेपाली बसोबास गर्दै आएका छन्, जसमा धेरैजसो सूचना प्रविधि, इन्जिनियरिङ तथा प्राविधिक क्षेत्रमा आबद्ध छन्। ती नेपालीहरूको सीप, अनुभव र पुँजीलाई नेपालतर्फ आकर्षित गर्न सके डिजिटल रूपान्तरण अभियानलाई थप गति दिन सकिने उनले उल्लेख गरे।
राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण र पूर्वाधार विकासलाई गति दिन सके जापानी निजी क्षेत्रको चासो नेपालमा अझ बढ्न सक्ने बताए। उनले प्रविधि–आधारित उद्योग, सफ्टवेयर विकास, स्टार्टअप इकोसिस्टम तथा डिजिटल सेवा क्षेत्रमा जापानी लगानी आकर्षित गर्न सकिने सम्भावना औंल्याए।
नेपाल र जापानबीच ७० वर्ष पुरानो सम्बन्धलाई नयाँ ढङ्गले विस्तार गर्ने दिशामा दुवै पक्ष सकारात्मक देखिएका छन्। प्रविधि, लगानी र मानव स्रोतको संयोजनमार्फत आगामी दिनमा द्विपक्षीय सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।




