२०८३ बैशाख १४

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे  कुराकानी भएको थियो । 

विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।

भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संसाथगत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए । 

साथै, मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाटप्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए ।

चिनियाँ राजदूत माओमिङले नेपाल सरकारकोतर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए । सो भेटमा दुईदेशबीचको आपसी हित र वहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।

Read More

बस्ती खाली गराइएको ठाउँको संरक्षणका लागि तारबारको काम थालिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।

थापाथलीस्थित वागमती नदी किनारामा शनिवार खाली गराइएको स्थानको निरीक्षण गर्दै उनले आइतबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले तथा यसपछि खाली गराइने ठाउँहरुको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन् । 

डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको निरीक्षण गरेकी थिइन्  । अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई यी भवनहरुमा राख्ने योजना छ । 

नदी किनाराका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती बैशाख १२ गते खाली गराइ सकिएको छ । यसका लागि महानगरपालिकाभित्र भएका अनधिकृत वस्ती बसोबास गरिरहेका व्यक्ति आफैँलाई खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । 

यसरी जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले आफैँ घर टहरा खाली गराएका थिए । 

वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट गरेर ३३२ वटा घरटहरा थिए । यसमध्ये थापाथलीतर्फका १३६ घरटहरा भत्काइएका छन् । यस ठाउँबाट सरेर अन्यत्र जानेहरुलाई महानगर प्रहरी बलले सवारी साधन र जनशक्ति परिचालन गरेर घरबाट बाहिर सामान निकाल्न र बाहिर निकालिएका सामान उनीहरुले भनेका ठाउँमा ओसार्न सहयोग गरेको थियो । यो प्रसुति गृह पछाडितर्फको भाग हो । वंशीघाट विश्व निकेतन विद्यालय पछाडि पर्छ । यहाँ १९६ घरटहरा छन् । 

वागमती नदी खण्डको सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म रहेको अव्यवस्थित बस्ती अन्तर्गत वडा नं. ९ तर्फ १६२ घरधुरी र वडा नं. ३१ तर्फ दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा थिए । यीमध्ये वैशाख १२ गते वडा नं. ९ तर्फका घरटहरा खाली गराइयो । वडा नं. ३१ तर्फ यस दिन राती ९ बजेसम्म भत्काउँदा केही भागको मात्र काम सकिएको थियो । १३ आइतबार गते विहान मनोहरा क्षेत्रमा जनशक्ति, स्रोत साधन केन्द्रीत गरिएको थियो ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्रका अव्यवस्थित बस्ती भत्काउने क्रमसँग मध्यान्नबाट स्रोत साधन बाँडेर दिउँसो १ बजेदेखि वडा नं. ३१ जागृतिनगरका घरटहरा भत्काउन थालिएको थियो । 

आज जागृतिनगरसँगै मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवैतर्फ काम भइरहेको छ । 

उपत्यका विकास प्राधिकरणका अनुसार महानगरपालिकाको वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गको नमूना टोलमा ४६ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा छन् । वडा नं. १६ को जागृति मार्गमा १२३ घरधुरी र वुद्धज्योतीमा ७६ घरधुरी छन् । महानगरपालिकाको चमती विकास आयोजनाका प्रमुख निर्मलराज बरालका अनुसार वनस्थलीबाट परिक्रमा मार्ग प्रवेश गर्दा गर्दै ५ घर सकुम्बासी बस्तीका रुपमा रहेको छ । प्राधिकरणको तथ्याङक अनुसार वडा नं. ३२ को जडीबुटी मिलन चोकमा ११४ घरधुरी, वडा नं. १४ को जागरण मार्गमा ४०१ घरधुरी, वडा नं. वडा नं. २९ अनामनगरमा २३ घरधुरी छन् ।  

वडा नं. १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार के. सी. का अनुसार यस वडाको देवीनगर, विनायक नगर र शंखमुल गरी ३ ठाउँमा करिब २ सय ३० परिवार छन् । उनका अनुसार नदीको किनारामा सडक छ । सडकपछि वस्ती छ । 

वडा नं. ६ का सदस्य नरेन्द्रकुमार थापाका अनुसार वडाभित्रको रामहिटीमा १४८ घरधुरी, सुबिगाउँमा ४२, रेम्बोडाँडामा ९ घर, शान्तिनगरमा १४ घर, चुच्चेपाटीमा २२ घर र कुमारीगालमा ११ घरटहरा छन् ।  

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । समितिको प्रतिवेदनले, काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी, कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी रहेको देखाएको छ । 

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।

Read More

वैकल्पिक व्यवस्था बिना विद्यालय भत्काइँदा नेविसंघ आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघले मनोहरा खोलाको किनारमा सञ्चालनमा रहेको सरस्वती आधारभूत विद्यालयमा डोजर चलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

सुकुमबासी बस्ती हटाउने क्रममा वैकल्पिक व्यवस्था नगरी विद्यालयमा समेत डोजर प्रयोग गरिएको भन्दै नेविसंघले असन्तुष्टि व्यक्त गरेको हो। प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा विद्यालय केवल भौतिक संरचना नभई बालबालिकाको सिकाइ, संरक्षण र भविष्य निर्माणको आधार भएकाले तत्काल समाधान आवश्यक रहेको उल्लेख छ।

नेविसंघले प्रभावित विद्यार्थीहरूको पठनपाठन निरन्तरता सुनिश्चित गर्न सुरक्षित वैकल्पिक स्थानमा विद्यालय सञ्चालन, अस्थायी कक्षा व्यवस्थापन तथा आवश्यक शैक्षिक सामग्री र शिक्षक उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

विज्ञप्तिमा उक्त घटनाले २७५ विद्यार्थीको नियमित अध्ययन र शिक्षाको अधिकारमा प्रत्यक्ष असर परेको जनाउँदै, नयाँ शैक्षिक सत्र सुरु हुनुअघि वैकल्पिक योजना बिना विद्यालय भत्काइनु संवेदनशील र आपत्तिजनक भएको उल्लेख गरिएको छ।

Read More

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प, थप झट्काको उच्च सम्भावना

काठमाडौं ।  जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प आएपछि थप शक्तिशाली झट्काको सम्भावनालाई लिएर सतर्कता बढाइएको छ। पछिल्ला दिनदेखिको भूकम्पीय गतिविधिबीच आएको यो कम्पनले जोखिम अझै कायम रहेको संकेत गरेको छ।

जापानी मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार बिहान ५:२३ बजे आएको भूकम्पको केन्द्र होक्काइडोको दक्षिणी क्षेत्र र गहिराइ करिब ८३ किलोमिटर थियो। प्रारम्भिक ६.१ म्याग्निच्युडको अनुमानलाई संशोधन गर्दै ६.२ कायम गरिएको हो।

सुनामी चेतावनी जारी नगरिए पनि प्रभावित क्षेत्रमा बलियो कम्पन महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षणले ठूलो क्षतिको सम्भावना न्यून आँकलन गरे पनि चट्टान खस्ने र भूस्खलनको जोखिम रहेको चेतावनी दिइएको छ।

जेएमएले आगामी दिन र हप्तामा यस्तै स्तरका थप भूकम्प आउन सक्ने जनाउँदै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। केही घण्टाअघि नजिकैको समुद्री क्षेत्रमा ५.० म्याग्निच्युडको अर्को भूकम्प पनि आएको थियो।

गत साता इवाटे प्रान्तमा ७.७ म्याग्निच्युडको भूकम्पपछि बढेको त्रासबीच आएको यो कम्पनलाई सोही शृङ्खलाको हिस्सा मानिएको छ। जापान ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले विश्वकै भूकम्पीय रूपमा सक्रिय देशमध्ये एक हो।

Read More

इजरायलको आक्रमणमा लेबनानमा १४ जनाको मृत्यु

काठमाडौँ । युद्धविराम जारी रहेकै बीच लेबनानमा भएका इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका र दुई महिला पनि रहेका छन्। साथै ३७ जना घाइते भएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यो आक्रमण आइतबार भएको हो । दुवै देशबीच गत बिहीबार मात्रै युद्धविराम थप तीन साताका लागि लम्ब्याइएको थियो ।

सम्झौताअनुसार इसराइललाई आफ्नो सुरक्षाका लागि आवश्यक ठाने जुनसुकै बेला कदम चाल्ने अधिकार दिइएको छ।

आक्रमणअघि इसराइली रक्षा बलका प्रवक्ताले दक्षिणी लेबनानका धेरै गाउँका बासिन्दालाई तत्काल स्थान छाड्न चेतावनी दिएका थिए। उनले त्यहाँ बसिरहनु ज्यानका लागि खतरनाक हुने बताएका थिए।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इसराइली रक्षा बल सक्रिय रहेको र बलियो रूपमा कारबाही गरिरहेको बताएका छन् । उनले हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लंघन गरिरहेको आरोप पनि लगाएका छन्।

Read More

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधामन्त्री बालेन शाहले दिउसो २ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Read More

ट्रम्पको इरानलाई तीन दिनको अल्टिमेटम

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिदै तीन दिनको अल्टिमेटम दिएका छन् । उनले युद्ध अन्त्य गर्न युद्धविराममा सहमत हुन इरानसँग तीन दिन मात्रै रहेको बताएका हुन् । अन्यथा इरानको तेल पाइपलाइनमा विस्फोट हुन सक्ने चेतावनी दिए ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानले तेल निर्यात गर्न नसके पाइपलाइनभित्र दबाब अत्यधिक बढ्ने बताएका छन् । उनका अनुसार तेललाई जहाज वा भण्डारण ट्याङ्कीमा पठाउने मार्ग बन्द हुँदा र नाकाबन्दी लाग्दा यस्तो अवस्था सिर्जना हुन्छ ।

उनले तेलको प्रवाह अचानक रोकिँदा पाइपलाइनभित्र प्राविधिक र प्राकृतिक कारणले दबाब बढेर पाइपलाइन फुट्न सक्ने दाबी गरे । ट्रम्पका अनुसार यस्तो अवस्था आए पाइपलाइनलाई पहिलेको अवस्थामा फर्काउनु लगभग असम्भव हुने र यसको क्षमता पनि धेरै घट्नेछ ।

यता इरानले अमेरिकासँग सम्भावित सम्झौताका विषयमा कडा अडान लिएको छ । इरानले आणविक कार्यक्रम र होर्मुज जलडमरूमध्यको विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार यो सन्देश पाकिस्तानमार्फत अमेरिकासम्म पुर्‍याइएको हो। इरानले यी दुवै विषयलाई आफ्नो ‘रातो रेखा’ भन्दै कुनै पनि प्रकारको सम्झौता सम्भव नभएको जनाएको छ ।

साथै, यो औपचारिक वार्ता नभई आफ्नो धारणा स्पष्ट पार्ने कूटनीतिक पहल मात्र भएको इरानले जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघाचीले यस विषयमा तय सीमाभित्र रहेर जिम्मेवारी निभाइरहेको पनि बताइएको छ ।

Read More

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठकमा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधव कुमार नेपालले पार्टीको आगामी रणनीति बारेको प्रस्ताव पेस हुने बताइएको छ ।

यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुने बताइएको छ ।

Read More

बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले २१ बुँदामा सरकारको अवस्थाको चित्रण गरेका हुन् ।

उनले भनेका छन्:   

१. विदेशी ऋणमा वृद्धि

एसियाली विकास बैंक र विश्व बैंकबाट करिब १८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत। ऋण नलिने वाचा गर्नेहरूकै पालामा ऋणको बोझ थपिएको देखिन्छ।

२. श्रमिकको सुरक्षामाथि प्रश्न

इजरायल, कुबेत, बहराइन र लेबनानजस्ता अस्थिर तथा युद्धग्रस्त देशमा पुनः श्रम स्वीकृति खुला। युवाको सुरक्षाभन्दा रेमिट्यान्स प्राथमिकतामा परेको छ।

३. भ्रामक सूचना प्रवाह

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको झुटो प्रचार स्वयं मन्त्री र साँसदहरु बाट, जसले सरकारी विश्वसनीयतामाथि प्रश्न उठायो।

४. गृहमन्त्री विवाद र राजीनामा

अभियुक्तसँग शंकास्पद आर्थिक कारोबारको आरोप लगायत असंख्य आरोप लागेपछि गृहमन्त्री सुदन गुरुङले राजीनामा दिए।

५. श्रममन्त्री बर्खास्त

पदको दुरुपयोग गर्दै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा निरन्तरता दिएको सामान्य आरोपमा स्टन गर्दै श्रममन्त्री दीपककुमार साह पदमुक्त।

६. कर्मचारी र विद्यार्थी संगठन खारेज

कर्मचारी संगठन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय

लोकतन्त्रको मर्ममाथि गम्भीर प्रहार।

७. साना व्यापारी र सडक छेउका घरवाला माथि प्रहार

सडक विस्तार र फुटपाथ सफाईको नाममा

वीरगञ्ज, बुटवल लगायतका साना व्यापारी तथासडक छेउका घरवाला माथि निर्मम प्रहार

सरकारी प्रहरीबाट लुटपाटको आरोप।

 ८. शंकास्पद सम्पत्ति विवाद

प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरूको

धन, जग्गा, सुन, शेयर र लगानीमाथि शंका र विवाद।

९. गैरकानुनी गिरफ्तारीको आरोप

चर्चा कमाउन अन्य दलका ठूला नेता

व्यापारी र निर्माण व्यवसायीहरूको गिरफ्तारी

कानूनभन्दा प्रचार ठूलो देखियो।

१०. सीमामा करको भारी

नेपाल–भारत सिमानामा सदियौंदेखि चल्दै आएको

सामान्य खरिद बिक्रीमा १०० रुपैयाँभन्दा बढी भनसार कर

सोझा साझा गरिबको भात खाने बाटो बन्द।

११. ठूला मुद्दामा सेटिङ्ग

जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा पक्राउ परेका

उच्च तहका व्यक्तिहरू प्रतिशोधको आरोपबीच रिहा

कानुन आफ्ना आलोचकहरूका लागि मात्र कडा भएको सेटिङ

 १२. अपराध दरमा वृद्धि

देशभर हत्या–हिंसाका घटनामा वृद्धि, शान्ति सुरक्षा कायम गर्न सरकार कमजोर देखिएको आरोप।

१३. विमानस्थलमा अव्यवस्था

विमानस्थलमा भीडभाड दोब्बर, तर व्यवस्थापन प्रभावकारी हुन नसकेको अवस्था।

१४. महँगी नियन्त्रणमा असफलता

भारतीय सीमा नाकामा समस्या, इन्धन र खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको आलोचना।

१५. सुकुम्बासीमाथि कडा कदम

पूर्व तयारी र वैकल्पिक व्यवस्था बिना बस्ती हटाउने कार्यले ‘डोजर आतंक’ को आरोप खेप्नुपरेको अवस्था।

१६. हतारमा निर्णय

नीति घोषणा छिटो, तर कार्यान्वयनका लागि आवश्यक तयारी कमजोर।

१७. कामभन्दा प्रचार बढी

व्यवहारिक काम कम, सामाजिक सञ्जालमा प्रचारप्रसार बढी भएको टिप्पणी।

१८. प्रशासनसँग टकराव

कर्मचारी संयन्त्रसँग समन्वय अभाव, आदेशमुखी शैली हाबी।

१९. जनतासँग संवादको कमी

निर्णयहरू आउँछन्, तर त्यसको स्पष्ट कारण र संवाद अभाव देखिन्छ।

 २०. प्राथमिकता अस्पष्ट

मुख्य समस्याहरू यथावत्, तर देखावटी काममा बढी ध्यान।

२१. आलोचनाप्रति असहिष्णुता

प्रश्न उठ्दा उत्तरभन्दा आक्रोश बढी देखिने प्रवृत्ति ।

Read More

मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो कैमारा आत्मघाती ट्रक विस्फोटमा मृत्यु भएको छ ।

रक्षामन्त्री कैमारा परिवारका अनुसार राजधानी बमाको नजिकै रहेको आफ्नै निवासमा भएको आत्मघाती ट्रक विस्फोटमा उनी गम्भीर घाइते भएका थिए ।

सरकारी टेलिभिजनले केही घण्टापछि पुष्टि गर्दै प्रारम्भमा घाइते भएका कैमाऱाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

रिपोर्टअनुसार मालीका राष्ट्रपति असीमी गोइता पनि निशानामा परेका थिए। उनको निवासलाई समेत लक्ष्य बनाइएपछि उनलाई सुरक्षित स्थानमा सारिएको थियो ।

मालीको चरमपन्थी समूह आजावाद मुक्ति मोर्चाले माली सेनासँग रहेका रुसी भाडाका सैनिकले दुई दिनको लडाइँपछि किदाल क्षेत्र छाड्न सहमति जनाएको दाबी गरेको छ । मोर्चाले उक्त सहर अहिले आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । माली अहिले व्यापक हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ। राजधानी बमाकोसहित विभिन्न सहरमा चरमपन्थी समूहले लगातार आक्रमण गर्दै आएका छन् ।

Read More