२०८३ बैशाख १५

मस्कोमा पुटिन–इरानी विदेशमन्त्री भेटवार्ता, मध्यपूर्व शान्तिबारे छलफल

काठमाडौँ । रुसको राजधानी मस्कोमा इरानका विदेशमन्त्री अब्बास अराघची र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच उच्चस्तरीय भेटवार्ता भइरहेको छ।

पाकिस्तान भ्रमणपछि रुस पुगेका अराघची र पुटिनबीचको वार्ता हालसम्म जारी रहेको रुसी समाचार संस्था तासले जनाएको छ।

भेटका क्रममा राष्ट्रपति पुटिनले इरानी जनताले आफ्नो सम्प्रभुता र अधिकारका लागि साहसपूर्वक संघर्ष गरिरहेको उल्लेख गर्दै कठिन परिस्थितिपछि इरानमा शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन्। पुटिनले मध्यपूर्व क्षेत्रमा चाँडोभन्दा चाँडो शान्ति स्थापना गर्न रुसले आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

रणनीतिक साझेदारीमा जोड
इरानी विदेशमन्त्री अराघचीले इरान–रुस सम्बन्धलाई “रणनीतिक साझेदारी” का रूपमा वर्णन गर्दै आगामी दिनमा दुई देशबीच सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्। उनले क्षेत्रीय स्थिरता र आपसी सहयोग विस्तारमा पनि जोड दिएका छन्।

उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी
भेटवार्तामा रुसी पक्षबाट विदेशमन्त्री सर्गेई लाभरोभ, क्रेमलिनका सहयोगी युरी उसाकोभ र रुसी सुरक्षा तथा खुफिया निकायका प्रमुख इगोर कोस्त्युकोभ सहभागी छन्।

इरानको तर्फबाट उपविदेशमन्त्री काजेम गरिबाबादी र मस्कोस्थित इरानी राजदूत काजिम जलाली पनि वार्तामा उपस्थित छन्।

क्षेत्रीय राजनीति केन्द्रमा
मध्यपूर्वमा बढ्दो तनाव र बदलिँदो भूराजनीतिक अवस्थाबीच भएको यो भेटवार्तालाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ। दुवै पक्षले क्षेत्रीय शान्ति, सुरक्षा र द्विपक्षीय सहकार्य विस्तारबारे गहिरो छलफल गरिरहेको जनाइएको छ।

वार्ता अझै जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ।