काठमाडौँ । पर्यटन विभागले सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ (रातको बास) सहितका प्याकेज बिक्री नगर्न ट्रेकिङ एजेन्सीहरूलाई कडा निर्देशन दिएको छ। केही एजेन्सीहरूले गैरकानुनी रूपमा यस्तो प्याकेज प्रचार–प्रसार गरिरहेको गुनासो आएपछि विभागले हस्तक्षेप गरेको हो।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै सम्पर्क अधिकृत र सम्बन्धित ट्रेकिङ कम्पनीहरूलाई प्रचलित कानुन पालना गर्न सचेत गराएको छ। सगरमाथा आधार शिविरमा अनधिकृत रूपमा पर्यटकलाई रात बसाउने अभ्यास बढ्दो देखिएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कसलाई मात्रै अनुमति?
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ अनुसार आधार शिविरमा सीमित व्यक्तिहरूलाई मात्र बस्न पाइन्छ। यसमा पर्वतारोहण टोलीका सदस्य, पथप्रदर्शक, उच्च हिमाली क्षेत्रमा काम गर्ने कामदार, आधार शिविरका कर्मचारी तथा स्थानीय सहयोगीहरू समावेश छन्।
यीबाहेक अन्य व्यक्तिलाई विभागको पूर्वस्वीकृति बिना आधार शिविरमा बस्न दिन पाइँदैन। त्यसैले सर्वसाधारण पर्यटकका लागि ‘ओभरनाइट स्टे’ प्याकेज बेच्नु कानुनी व्यवस्थाविपरीत भएको विभागले स्पष्ट पारेको छ।
कारबाहीको चेतावनी
विभागका शाखा अधिकृत प्रकाश पोखरेलद्वारा जारी सूचनामा नियम उल्लंघन गरे कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, सगरमाथा आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई पनि निगरानी कडा पार्न निर्देशन दिइएको छ।
विभागले सबै सरोकारवालालाई नियमको पालना गर्न आग्रह गर्दै पर्यटकीय गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखेको जनाएको छ।





