काठमाडौँ । सोपान फार्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । बुधबार काठमाडौँको बालुवाटारस्थित निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न गरिएको हो।
कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर आइपिओका रूपमा निष्कासन गरेको थियो । यो निष्कासन २०८३ साल बैशाख ३ गतेदेखि ८ गतेसम्म खुला गरिएको थियो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । त्यसको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
यस आईपीओमा कुल २७ लाख ३० हजार ९८७ योग्य लगानीकर्ताबाट २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयर माग भएको थियो । त्यस्तै ३७ हजार ७ सय ५६ आवेदन भने अयोग्य ठहरिएका थिए।
बाँडफाँडपछि लक्की ड्रमार्फत ३ लाख ४७ हजार ४९० आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।



