२०८३ बैशाख १८

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सहकार्य, १५ लाखसम्म विनाधितो कर्जा सुविधा

काठमाडौँ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ।

यस सहमतिसँगै राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीहरूले अब व्यक्तिगत आवश्यकताका लागि विनाधितो कर्जा सुविधा लिन सक्ने भएका छन्।

सम्झौता अनुसार कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट अधिकतम १५ लाख रुपैयाँसम्मको सेवाग्राही कर्जा उपभोग गर्न पाउनेछन्। बैंकका अनुसार यो व्यवस्थाले कर्मचारीहरूलाई वित्तीय आवश्यकताहरू सहज रूपमा पूरा गर्न मद्दत पुर्‍याउनेछ।

यस सहकार्यले एकै स्थानबाट बैंकिङ सुविधा प्राप्त हुने, समय बचत हुने तथा दुई संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

सम्झौतामा नेपाल बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कँडेल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका हुन्। कार्यक्रम नेपाल बैंकको प्रधान कार्यालयमा बैशाख १६ गते आयोजित एक समारोहबीच सम्पन्न भएको थियो।

नेपाल बैंक लिमिटेड हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा सुधार गर्दै प्रतिस्पर्धात्मक रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको जनाएको छ।

युवामैत्री सेवा, दक्ष व्यवस्थापन र प्रविधिमैत्री प्रणालीमार्फत बैंकप्रति आम सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गरिएको छ।