२०८३ बैशाख १८

राष्ट्रपति पौडेलबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालले जनाएको छ ।

यसअघि राष्ट्रपति पौडेलले आजै सहकारी सम्बन्धी र  सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । 

सरकारले सिफारिश गरेका अन्य अध्यादेश भने राष्ट्रपतिले अझै जारी गरेका छैनन् । सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र  केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश  राष्ट्रपति पौडेलले होल्ड गरेका छन् । 

Read More

सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाई

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई सेवाबाट अवकाश हुने क्रममा सम्मानसहित बिदाई गरिएको छ ।

हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई फौजी परम्पराअनुसार बिदाई गरिएको हो । सोही अवसरमा उनले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी तथा सशस्त्र प्रहरीको झण्डा हस्तान्तरण गरेका छन् ।

समारोहमा नवनियुक्त महानिरीक्षक पौडेलले अर्याललाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी परिवार महिला संघतर्फ अर्यालकी श्रीमती अनिता लामिछानेलाई संघकी उपाध्यक्ष सावित्रा कुमारी पौडेलले फूलमालासहित बिदाई गरेकी थिइन् ।

बिदाई कार्यक्रममा अर्यालले संगठनको नेतृत्व सम्हाल्नु र सफलतापूर्वक अवकाश पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले संगठनलाई परिवारका रूपमा लिँदै अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको महत्व बुझ्ने अवसर पाएको उल्लेख गरे ।

उनले संगठन सुधार निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै राष्ट्र, संगठन र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताए । साथै सशस्त्र प्रहरीको वर्दीलाई नागरिकका लागि भरोसा र अपराधीका लागि डरको प्रतीक बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनियुक्त महानिरीक्षक पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने उल्लेख गर्दै अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि उपयोगी रहने विश्वास व्यक्त गरे । उनले संगठनलाई आधुनिक, सक्षम र जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

समारोहमा पूर्व महानिरीक्षकहरू, उच्च पदाधिकारीहरू तथा सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी र जवानहरूको उपस्थिति रहेको थियो ।

Read More

चलचित्र ‘महाराजधिराज’ मा सुशील सिटौला अनुबन्ध

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले आज अर्का कुशल अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको हो ।

सुशीललाई मुख्यमध्ये एक भूमिकामा ‘महाराजधिराज’मा देख्न सकिने निर्माण टिमले जानकारी दिएको छ । सुशील नेपाली सिनेमा उद्योमा अन्डररेटेड अभिनेता हुन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दा सिनेमाको लाइनअप थप बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन् । ‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि बलियो बजाउने बताएका छन् ।

चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । यो सिनेमा नबराज थापाले खिच्नेछन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

Read More

युएईविरुद्ध नेपालको ६ रनको रोमाञ्चक जित

काठमाडौँ । नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा नेपालले युएईलाई दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

बर्षाले प्रभावित बनेको यो खेलमा युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो ।

युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।  

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए । 

यसआघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए ।  त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेपालको लिग-२ मा २३ खेलमा १६ अंक भएको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ । अब सिरिजको अर्को खेल आइतबार ओमान र युएईबीच हुने तालिका रहेको छ ।

Read More

अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।

विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् । 

Read More

कंकेश्वरीमा बुद्धको १५ फिट लामो सिंहशैय्यासन प्रस्तर राखियो

काठमाडौँ । काठमाडौँ महानगर- १९ कंकेश्वरीमा १५ फिट लामो सिंहशैय्यासन प्रस्तर वुद्ध मूर्ति स्थापना गरिएको छ । 

२५७० औँ वुद्ध जयन्तीको अवसर पारेर आज वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले मूर्ति सार्वजनिक गरेका हुन् । 

सार्वजनिक गरिएको मूर्तिलाई करिब ४ फिट अग्लो आसनमा राखिएको छ । यसको निर्माण लागत करिब २८ लाख रुपियाँ रहेको वडाध्यक्ष एवं महानगरपालिकाको पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।  

सो अवसरमा उनले भने- ‘यस स्थानलाई हामीले वुद्ध पार्क नामाकरण गरेका छौँ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँछौँ । त्यसपछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ । निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।’

मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयहरुले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका थिए । त्यसपछि नमूना विहारमा आएर वुद्धको पूजाआराधना गरिएको थियो ।

Read More

‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ- विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए ।

उनले भने, ‘हामीले काजी भन्ने बितिकै मुखिया, गाउँको ठूलाबडा भन्ने बुझ्छौ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारको भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको कथा हो ।’

अभिनेता कार्कीले ‘काजी’ मा देखाईएको प्रेम कथा ‘रोमियो जुलियट’, ‘मुना मदन’ जस्तै आगामी धेरै वर्षसम्म सम्झिने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे । उनले फिल्मको कथावस्तु, निर्देशकीय पक्ष, छायांकन पक्ष, आर्ट डिपार्टको प्रशंसा गरे । अभिनेत्री केकी अधिकारी र गरिमा शर्माले फिल्मको कथाको प्रशंसा गरे । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’ मा ग्रामिण पृष्ठभूमिमा तयार गरिएको प्रेमकथा देखाएइको छ ।

‘यो अलिक समय अगाडिकको ग्रामिण भेगमा बस्ने एउटा जोडीको प्रेम कथा हो । यसले हामीलाई हाम्रो बाल्यकाल वा त्यो भन्दा अगाडिको समयको निस्वार्थ प्रेमसँग परिचित गराउँछ । यो फिल्मले प्रेमको नयाँ कथ्यशैलीको सुरुआत गर्नेछ भन्ने लागेको छ’, निर्देशक रिजालले भने ।  

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की,  केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षित अर्याल, आरव बराल र सुपला सापकोटालगायतको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको कथा/पटकथा रहेको फिल्मको छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् । फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । 

Read More

रोल्पा जीप दुर्घटनामा मृत्यु हुने सबै २० जनाको सनाखत

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको सबै २० जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विहिबार भएको दुर्घटनामा मृत्यु हुनेमा पूर्वी रुकुमका २८ वर्षका गोर्ख बहादुर बि.सी., ५३ वर्षकी तिल कुमारी बुढाथोकी, २८ वर्षका युवा बुढाथोकी, १० वर्षका दिब्यान बुढाथोकी, २४ वर्षकी सृजना बुढाथोकी, १३ वर्षका सुदिप बुढाथोकी, ४० वर्षकी ओम कुमारी बुढाथोकी, ६० वर्षकी मिना बि.क., ६० वर्षकी लक्ष्मी शाह, २७ वर्षकी रुक्मिना थापा बस्नेत तथा टेक प्रसाद बुढा, दाङका ५० वर्षकी द्रोपती जि.सी., ३२ वर्षकी तिला जि.सी., ७ वर्षका जेनिस घर्ति, १२ वर्षकी जेनिसा जि.सी., २५ वर्षकी एलिसा घर्ति र भनमाया बिष्ट, लमजुङका ७ वर्षका संयोग थापा तथा उमेर नखुलेका यम बहादुर जि.सी. र ४२ वर्षका बेदु राम बि.क. रहेका छन् ।

थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । 

Read More

परराष्ट्रमन्त्री खनालसँग ट्रम्पका विशेष दुत गोरको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । भेटमा विशेषगरी लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् । 

Read More

बल्खुस्थित सुकुम्बासी बस्तीका पुरुषले गरे आत्महत्या

काठमाडौँ । बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।

शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन भने शव अहिले बागमतीबाट बाहिर निकालिएको छ ।

यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए ।

Read More