२०८३ बैशाख १८

आज ओपिडी सञ्चालन गर्ने मन्त्रालयको निर्देशनप्रति चिकित्सक संघको आपत्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अन्तर्राष्ट्रिय श्रमिक दिवस र बुद्ध जयन्तीको सार्बजनिक बिदाका दिन पनि सरकारी अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्न गरेको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघले मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो ।

संघका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी पनि श्रमिक नै भएकाले श्रमिक दिवसको बिदाका दिन समेत बहिरङ्ग सेवा सञ्चालन गर्नु अन्यायपूर्ण हुने ठहर गरिएको छ । अस्पतालमा आकस्मिक लगायत अत्यावश्यक सेवा बिदाका दिन पनि नियमित रूपमा सञ्चालन हुने भएकाले बहिरङ्ग सेवा अत्यावश्यक नभएको संघको भनाइ छ ।

संघले बहिरङ्ग सेवा केही दिन बन्द हुँदा स्वास्थ्य सेवामा ठूलो असर नपर्ने उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा अन्य पेशाकर्मीसरह बिदा दिने प्रचलन रहेको जनाएको छ । अन्य चाडपर्वमा समेत तीन दिन वा सोभन्दा बढी बिदा हुने उदाहरण दिँदै मन्त्रालयको निर्णय अव्यवहारिक र अवैज्ञानिक रहेको संघको निष्कर्ष छ ।

यसैबीच संघले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै वैशाख १८ गते बहिरङ्ग सेवा बन्द गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको बिदा कायम गर्न सरकारसँग जोडदार माग गरेको छ ।

Read More

ट्रम्पले स्थगित गरे इरानयुद्ध बारे संसदबाट स्वीकृति लिने स्थगित

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित युद्धलाई निरन्तरता दिन संसदमा प्रस्ताव ल्याउने निर्णय हालका लागि स्थगित गरेका छन् ।

युद्ध सुरु भएको ६० दिन पूरा भएपछि आगामी कदमका लागि मे १ मा संसदमा प्रस्ताव पेश गर्नुपर्ने अवस्था भए पनि उनले त्यो प्रक्रिया तत्काल अघि नबढाउने संकेत दिएका हुन् ।

अमेरिकाका रक्षा मन्त्री पीट हेगसेथले संसदमा बोल्दै राष्ट्रपति ट्रम्पलाई ६० दिनभन्दा बढी युद्ध जारी राख्न संसदको स्वीकृति आवश्यक नपर्ने बताएका छन् । उनका अनुसार इरानसँग भएको युद्धविरामका कारण ६० दिनको समयसीमा नै रोकिएको छ । उनले अहिलेको मुख्य खतरा इरान नभई युद्धको विरोध गर्ने पक्ष भएको दाबी गरे । विरोध गर्नेहरूमा केही डेमोक्रेट र केही रिपब्लिकन नेतासमेत रहेको उनको भनाइ छ ।

भियतनाम युद्धपछि अमेरिकामा ‘वार पावर्स रिजोल्युशन’ लागू गरिएको थियो। उक्त कानूनअनुसार राष्ट्रपति संसदको अनुमति बिना अधिकतम ६० दिनसम्म मात्र सेना प्रयोग गर्न सक्छन् । यो व्यवस्थाअनुसार राष्ट्रपति या त सेना फिर्ता बोलाउनुपर्ने, वा युद्ध जारी राख्न संसदबाट स्वीकृति लिनुपर्ने, वा थप ३० दिन समय माग्नुपर्ने हुन्छ ।

ट्रम्प प्रशासनले मार्च १ मा इरानमाथि गरिएको आक्रमणबारे संसदलाई जानकारी गराएको थियो । त्यसअनुसार ६० दिनको समयसीमा मे १ मा सकिने भएको हो ।

Read More

आइपिएलमा रघुवंशीको विवादस्पद आउट सहि भएको एमसीसीको स्पष्टोक्ति

काठमाडौँ । मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले जारी आइपिएल अन्तर्गतको खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच भएको खेलमा अङ्कृष रघुवंशीलाई ‘फिल्ड अवरोध’का आधारमा आउट दिने निर्णयलाई सही ठहर गरेको छ ।

अप्रिल २६ मा सम्पन्न खेलमा रघुवंशी पाँचौँ ओभरको अन्त्यतिर रन लिन प्रयास गर्दा यो घटना भएको थियो । उनले बल प्रहार गरेपछि रन लिन दौडिएका थिए तर सहखेलाडी क्यामरुन ग्रीनले फर्किन संकेत दिएपछि उनी पिचको बीच हुँदै दिशा परिवर्तन गर्दै फर्किएका थिए । सोही क्रममा फिल्डिङ टोलीले फ्याँकेको बल उनलाई लागेपछि अपिल गरिएको थियो ।

त्यसपछि तेस्रो अम्पायर रोहन पण्डितले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम ३७ अनुसार ‘फिल्ड अवरोध’ ठहर गर्दै उनलाई आउट दिएका थिए । उनी इन्डियन प्रिमियर लिगमा यसरी आउट हुने चौथो खेलाडी बनेका छन् ।

मेरिलिबोन क्रिकेट क्लबले स्पष्टीकरण दिँदै ब्याट्सम्यानले जानाजानी फिल्डिङ टोलीलाई अवरोध गर्ने गरी व्यवहार गरेमा यस्तो निर्णय हुने बताएको छ । पिचको बीचबाट दौडेर दिशा परिवर्तन गर्नु सामान्य मार्ग नभएकाले यसलाई जानाजानी गरिएको कार्यका रूपमा व्याख्या गरिएको छ ।

क्लबका अनुसार रघुवंशीले अफ साइडबाट लेग साइडतर्फ सर्दै बल र विकेटबीच आफूलाई राखेका कारण यो स्पष्ट रूपमा अवरोध भएको हो । यदि उनी सामान्य मार्गमै दौडिएका भए बल नलाग्ने र यस्तो अवस्था नआउने उल्लेख गरिएको छ ।

यो निर्णयपछि कोलकाता टोली असन्तुष्ट देखिएको थियो । प्रशिक्षक अभिषेक नायर अम्पायरसँग छलफल गर्दै देखिएका थिए भने रघुवंशी पनि आउट भएपछि असन्तुष्टि जनाउँदै मैदान बाहिरिएका थिए ।

उक्त घटनापछि आचारसंहिता उल्लंघन गरेको भन्दै रघुवंशीलाई खेल शुल्कको २० प्रतिशत जरिवाना र एक डिमेरिट अंक पनि दिइएको छ । खेल अन्ततः सुपर ओभरमा पुगेको थियो, जहाँ कोलकाताले जित हात पारेको थियो ।

Read More

वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले अन्तिम खेलमा इटालीको सामना गर्दै

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गत आज नेपालले आज अन्तिम खेलमा इटालीको सामना गर्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेका ७ खेलमा नेपालले ४ जित र ३ हार बेहोरेको छ । नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग एक जित र एक हार, रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो । त्यस्तै इटालीले भने ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ । 

यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

Read More

बुद्धले मानव जातिलाई शान्ति र आनन्दतर्फ डोर्‍याए- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले २५७०औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उनले वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेको विशेष तिथिका रूपमा विश्वभर बुद्ध जयन्ती मनाइने उल्लेख गरेका छन् । यस दिन गुम्बा, विहार, मठ, स्तूप र चैत्यमा पूजा, प्रार्थना, ध्यान तथा प्रवचनजस्ता कार्यक्रममार्फत बुद्धप्रति श्रद्धा व्यक्त गरिने गरिएको छ।

राष्ट्रपति पौडेलले लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको स्मरण गर्दै उनका उपदेशले मानव जातिलाई शान्ति र आनन्दतर्फ डोर्‍याएको उल्लेख गरेका छन् । बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको पनि उनले बताएका छन् ।

उनले बुद्धका प्रेरणादायी उपदेशलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकता सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा राष्ट्रपति पौडेलले बुद्धका कालजयी शिक्षाबाट प्रेरणा लिएर विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान अझ मजबुत बनाउन आग्रह गरेका छन् ।

Read More

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सहकार्य, १५ लाखसम्म विनाधितो कर्जा सुविधा

काठमाडौँ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ।

यस सहमतिसँगै राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीहरूले अब व्यक्तिगत आवश्यकताका लागि विनाधितो कर्जा सुविधा लिन सक्ने भएका छन्।

सम्झौता अनुसार कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट अधिकतम १५ लाख रुपैयाँसम्मको सेवाग्राही कर्जा उपभोग गर्न पाउनेछन्। बैंकका अनुसार यो व्यवस्थाले कर्मचारीहरूलाई वित्तीय आवश्यकताहरू सहज रूपमा पूरा गर्न मद्दत पुर्‍याउनेछ।

यस सहकार्यले एकै स्थानबाट बैंकिङ सुविधा प्राप्त हुने, समय बचत हुने तथा दुई संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

सम्झौतामा नेपाल बैंकका तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कँडेल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका हुन्। कार्यक्रम नेपाल बैंकको प्रधान कार्यालयमा बैशाख १६ गते आयोजित एक समारोहबीच सम्पन्न भएको थियो।

नेपाल बैंक लिमिटेड हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहक सेवा सुधार गर्दै प्रतिस्पर्धात्मक रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको जनाएको छ।

युवामैत्री सेवा, दक्ष व्यवस्थापन र प्रविधिमैत्री प्रणालीमार्फत बैंकप्रति आम सेवाग्राहीको आकर्षण बढ्दै गएको दाबी गरिएको छ।

Read More

उभौली पर्व मनाइदै

काठमाडौँ । आज उभौली पर्व मनाइदै छ । प्रकृतिका पुजारी किरात समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् ।

चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुमनिमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।

कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुई वटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुमनिमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

बालीनालीका रक्षक तत्त्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सँगै नाचेको अत्यन्त रसिक माहौल आजभोली कमै देख्न पाइनेछ । अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ ।

हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ । यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।

Read More

विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र युएई खेल्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र युएईबीच खेल हुदैछ । त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि शुरु हुदैछ ।

जारी सिरिजमा नेपालले पहिलो खेलमा युएईलाई पराजित गरेको थ्यियो भने दोस्रो खेलमा ओमानसँग हार बेहोरेको छ । त्यस्तै पहिलो खेलमा नेपालसँग हार बेहोरेको युएईले दोस्रो खेलमा ओमानमाथि जित हासिल गरेको थियो । 

त्यस्तै लिग- २ मा हालसम्म नेपालको २२ खेलमा १४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ भने युएईको २२ खेलमा १२ अंक रहेको छ र अन्तिम स्थानमा रहेको छ ।

नेपाल र युएई एकदिवसीय क्रिकेटमा अहिलेसम्म १५ पटक आमने सामने भएका छन् । जसमा नेपालले ९ पटक जित हासिल गरेको छ भने युएईले ६ पटक जितेको छ ।

यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।

मे ५ सम्म हुने यस सिरिजमा तिनै देशले एक अर्काविरुद्ध २-२ खेल खेल्ने तालिका रहेको छ । जस अनुसार अब मे ३ मा ओमान र युएई तथा मे ५ मा नेपाल र ओमान खेल्ने तालिका रहेको छ ।

Read More

आज मे दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले सभालगायतका विविध कार्यक्रम गरी मनाउन लागेका जनाएका छन् ।

Read More

आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको गुजरातले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले सर्बाधिक ४३ रन बनाएका थिए भने जोस बटलरले ३९ र राहुल तेबातियाले अविजित २७ रन बनाएका थिए ।

त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने रोमारियो शेफर्डले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले १९.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो । बैंगलुरुका लागि देवदत्त पाडिकलले सर्बाधिक ४० रन बनाएकाथिए भने विराट कोहलीले २८ र कप्तान रजत पाटीदारले १९ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर अर्षद खानले ३ विकेट लिए भने राशिद खान र जासन होल्डरले २-२ विकेट लिए ।

यो जितपछि गुजरातको ९ खेलमा १० अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलुरुको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ ।

Read More