२०८३ बैशाख १८

आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको गुजरातले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले सर्बाधिक ४३ रन बनाएका थिए भने जोस बटलरले ३९ र राहुल तेबातियाले अविजित २७ रन बनाएका थिए ।

त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने रोमारियो शेफर्डले २ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले १९.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो । बैंगलुरुका लागि देवदत्त पाडिकलले सर्बाधिक ४० रन बनाएकाथिए भने विराट कोहलीले २८ र कप्तान रजत पाटीदारले १९ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर अर्षद खानले ३ विकेट लिए भने राशिद खान र जासन होल्डरले २-२ विकेट लिए ।

यो जितपछि गुजरातको ९ खेलमा १० अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलुरुको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ ।

Read More

आज बुद्ध जयन्ती मनाइदै

काठमाडौँ । आज २५७०औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।

शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको मानिन्छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उनको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।

शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरी मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोस्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । 

भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । 

विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती , गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भई रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया  बादल लाग्ने तथा लुम्बिनी र सुदुरपश्चिम  प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश  प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा तथा सुदुरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा अधिकांश बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख १८ गते शुक्रबार ईस २०२६ मे १ नेपाल सम्बत ११४६ वछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख शुक्ल पक्ष पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज बुद्ध जयन्ती, उभौली पर्व र अन्तर्राष्ट्रिय श्रमिक दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ । आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो । आम्दानीको अवसरमा बृद्धि हुने तथा पारिवारिक वातावरणसमेत सौहार्द्रपूर्ण रहने देखिन्छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता देखिने छ, साझेदार वा सहयोगीको लापरवाहीका कारण हानि पुग्नसक्छ । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । विशेष कामले गर्दा काम छाडेर बाहिर निस्कनुपर्ने परिस्थिति छ, त्यस्तै मन मिल्ने साथी वा आत्मीय जनको स्वास्थ्यगत समस्याले पनि चिन्ता बढाउन सक्छ । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमण्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ ।

Read More