काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले आज अर्का कुशल अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको हो ।
सुशीललाई मुख्यमध्ये एक भूमिकामा ‘महाराजधिराज’मा देख्न सकिने निर्माण टिमले जानकारी दिएको छ । सुशील नेपाली सिनेमा उद्योमा अन्डररेटेड अभिनेता हुन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दा सिनेमाको लाइनअप थप बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन् । ‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ ।
परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि बलियो बजाउने बताएका छन् ।
चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । यो सिनेमा नबराज थापाले खिच्नेछन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।
‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।




