२०८३ बैशाख १८

‘काजी’ को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ- विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन् । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए ।

उनले भने, ‘हामीले काजी भन्ने बितिकै मुखिया, गाउँको ठूलाबडा भन्ने बुझ्छौ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारको भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको कथा हो ।’

अभिनेता कार्कीले ‘काजी’ मा देखाईएको प्रेम कथा ‘रोमियो जुलियट’, ‘मुना मदन’ जस्तै आगामी धेरै वर्षसम्म सम्झिने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे । उनले फिल्मको कथावस्तु, निर्देशकीय पक्ष, छायांकन पक्ष, आर्ट डिपार्टको प्रशंसा गरे । अभिनेत्री केकी अधिकारी र गरिमा शर्माले फिल्मको कथाको प्रशंसा गरे । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’ मा ग्रामिण पृष्ठभूमिमा तयार गरिएको प्रेमकथा देखाएइको छ ।

‘यो अलिक समय अगाडिकको ग्रामिण भेगमा बस्ने एउटा जोडीको प्रेम कथा हो । यसले हामीलाई हाम्रो बाल्यकाल वा त्यो भन्दा अगाडिको समयको निस्वार्थ प्रेमसँग परिचित गराउँछ । यो फिल्मले प्रेमको नयाँ कथ्यशैलीको सुरुआत गर्नेछ भन्ने लागेको छ’, निर्देशक रिजालले भने ।  

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् । फिल्ममा विपिन कार्की,  केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षित अर्याल, आरव बराल र सुपला सापकोटालगायतको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको कथा/पटकथा रहेको फिल्मको छायांकन चिन्तन राजभण्डारीले गरेका हुन् । फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । 

Read More

रोल्पा जीप दुर्घटनामा मृत्यु हुने सबै २० जनाको सनाखत

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको सबै २० जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विहिबार भएको दुर्घटनामा मृत्यु हुनेमा पूर्वी रुकुमका २८ वर्षका गोर्ख बहादुर बि.सी., ५३ वर्षकी तिल कुमारी बुढाथोकी, २८ वर्षका युवा बुढाथोकी, १० वर्षका दिब्यान बुढाथोकी, २४ वर्षकी सृजना बुढाथोकी, १३ वर्षका सुदिप बुढाथोकी, ४० वर्षकी ओम कुमारी बुढाथोकी, ६० वर्षकी मिना बि.क., ६० वर्षकी लक्ष्मी शाह, २७ वर्षकी रुक्मिना थापा बस्नेत तथा टेक प्रसाद बुढा, दाङका ५० वर्षकी द्रोपती जि.सी., ३२ वर्षकी तिला जि.सी., ७ वर्षका जेनिस घर्ति, १२ वर्षकी जेनिसा जि.सी., २५ वर्षकी एलिसा घर्ति र भनमाया बिष्ट, लमजुङका ७ वर्षका संयोग थापा तथा उमेर नखुलेका यम बहादुर जि.सी. र ४२ वर्षका बेदु राम बि.क. रहेका छन् ।

थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । 

Read More

परराष्ट्रमन्त्री खनालसँग ट्रम्पका विशेष दुत गोरको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । भेटमा विशेषगरी लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् । 

Read More

बल्खुस्थित सुकुम्बासी बस्तीका पुरुषले गरे आत्महत्या

काठमाडौँ । बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।

शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन भने शव अहिले बागमतीबाट बाहिर निकालिएको छ ।

यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए ।

Read More

जोखिमपूर्ण बस्तीबाट विस्थापित भएकालाई स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

​जसमा  बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श उपलब्ध गराइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

​यी सेवाहरू शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरूले दिइरहेका छन् । उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन् । बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको बताइएको छ ।

​साथै कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको छ, जहाँ आँखा र दाँतको उपचार गरिएको छ ।

​काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको जानकारी दिएको छ ।

Read More

जापानको विमानस्थलमा रोबोटले सामान उठाउने !

काठमाडौँ । जापानले विमानस्थलमा काम गर्ने कर्मचारीको भार घटाउन मानवजस्तै देखिने रोबोट प्रयोगको परीक्षण सुरु गर्ने भएको छ ।

जापान एयरलाइन्सले मे महिनाको सुरुआतदेखि टोकियोस्थित हानेदा विमानस्थलमा यस्ता रोबोटको परीक्षण गर्न लागेको जनाएको हो । चीनमा निर्मित ती रोबोटलाई यात्रुहरूको सामान तथा कार्गो उठाउने काममा प्रयोग गरिनेछ ।

हरेक वर्ष ६ करोडभन्दा बढी यात्रु आवतजावत गर्ने हानेदा विमानस्थलमा यस प्रयोगबाट कर्मचारीमाथिको शारीरिक दबाब घट्ने अपेक्षा गरिएको छ । सन् २०२८ सम्म सञ्चालन हुने यो परीक्षणमार्फत कामलाई थप सहज बनाउने योजना रहेको बताइएको छ ।

हालै सार्वजनिक गरिएको प्रदर्शनमा करिब १३० सेन्टिमिटर उचाइका रोबोटले विमान नजिक कन्वेयर बेल्टमा कार्गो सार्ने र संकेत गर्ने काम गरेको देखाइएको थियो । एकपटक चार्ज गरेपछि ती रोबोटले २ देखि ३ घण्टासम्म निरन्तर काम गर्न सक्ने जनाइएको छ । भविष्यमा विमानको भित्री सफाइजस्ता काममा पनि प्रयोग गर्ने योजना बनाइएको छ । तर सुरक्षासम्बन्धी संवेदनशील काम भने मानिसले नै गर्ने स्पष्ट पारिएको छ ।

जापान अहिले घट्दो र वृद्ध हुँदै गएको जनसंख्या तथा बढ्दो पर्यटकको चापजस्ता दोहोरो चुनौतीसँग जुधिरहेको छ । कूटनीतिक तनावका कारण चिनियाँ पर्यटक केही घटे पनि पछिल्लो वर्ष रेकर्ड ४ करोड २७ लाख पर्यटक जापान पुगेका थिए । सन् २०२६ को सुरुका दुई महिनामै ७० लाखभन्दा बढी पर्यटक पुगेको तथ्यांक छ ।

आर्थिक लक्ष्य पूरा गर्न सन् २०४० सम्म जापानलाई करिब ६५ लाख विदेशी कामदार आवश्यक पर्ने अनुमान गरिएको छ । तर आप्रवासन नियन्त्रणको राजनीतिक दबाब पनि उच्च रहेको छ ।

कम्पनीका अधिकारी तोमोहिरो उचिदाले विमानस्थल बाहिरबाट आधुनिक देखिए पनि भित्री कामकाज अझै ठूलो मात्रामा मानव श्रममा निर्भर रहेको उल्लेख गर्दै रोबोट प्रयोगले उक्त दबाब कम गर्न सहयोग पुग्ने बताएका छन् ।

Read More

बल्खु र वंशीघाट क्षेत्रका ७२ जनाले टिपाए विवरण

काठमाडौँ । काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रका ७२ जनाले आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै विवरण टिपाएका छन् ।

 ​स्वेच्छिक सहभागिता र तथ्याङ्क: आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइसकेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

 ​एकीकृत प्रयास: रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको छ ।

त्यस्तै ​स्वास्थ्य र मनोपरामर्श: विवरण संकलनसँगै त्यहाँ आइपुग्नु भएका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ, जसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको छ।

साथै आतिथ्य र सम्मान: लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ।

​सुरक्षित होल्डिङ सेन्टरको व्यवस्था: विवरण संकलनपछि उहाँहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।

Read More

श्रीलङ्कामा क्रिकेट प्रशासन सुधारका लागि नयाँ रूपान्तरण समिति गठन

काठमाडौँ । श्रीलङ्कामा क्रिकेट प्रशासन सुधारका लागि नयाँ रूपान्तरण समिति गठन गरिएको छ। सरकारले बुधबार पुरानो नेतृत्व हटाएपछि नौ सदस्यीय समिति गठन गरिएको हो।

समितिमा पूर्व कप्तान कुमार संगाकारा र रोशन महनामासहितका सदस्य समावेश छन् । साथै सिदाथ वेट्टीमुनि पनि समितिमा रहेका छन्। समिति नेतृत्व पूर्व सांसद एरन विक्रमारत्नेलाई दिइएको छ।

समितिका अध्यक्ष विक्रमारत्नेले आफूलाई यो जिम्मेवारी पाउँदा सम्मानित महसुस भएको बताउँदै मुख्यतः दुई प्राथमिकतामा काम गर्ने जानकारी दिएका छन् । पहिलो प्राथमिकता श्रीलङ्का क्रिकेटको संरचना र व्यवस्थापन प्रणालीमा व्यापक सुधार गर्नु रहेको उनले बताए । यसका लागि नयाँ संविधान लागू गरी आधुनिक र प्रभावकारी आधार तयार गर्ने लक्ष्य राखिएको छ।

हालको संविधान पुरानो, अव्यवहारिक तथा भ्रष्टाचार र कमजोरीलाई प्रोत्साहन गर्ने खालको रहेको भन्दै आलोचना हुँदै आएको छ। समितिमा कानुनी विज्ञहरू पनि समावेश गरिएकाले नयाँ संविधान निर्माण प्रमुख काममध्ये एक हुने जनाइएको छ।

समितिको दोस्रो प्राथमिकता मैदानमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु रहेको अध्यक्ष विक्रमारत्नेको भनाइ छ। राष्ट्रिय टोलीलाई सशक्त बनाउन आवश्यक संरचना, सुविधा र प्रोत्साहन प्रणाली विकास गरिने योजना अघि सारिएको छ।

यस परिवर्तनबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन। यसअघि भने सन् २०२३ मा राजनीतिक हस्तक्षेपको आरोपमा श्रीलङ्का क्रिकेटलाई निलम्बन गरिएको थियो।

नयाँ समितिमा खेलकुद, व्यापार, कानुन र राजनीतिक क्षेत्रका व्यक्तिहरू समावेश छन्। नौ सदस्यीय समितिमा एक महिला सदस्य पनि रहेकी छन्।

टी–२० विश्वकपमा खराब प्रदर्शनपछि पुरानो नेतृत्वमाथि व्यापक आलोचना बढ्दै गएको थियो। त्यसैको पृष्ठभूमिमा सरकारले नयाँ समिति गठन गरेको हो ।

Read More

युएईविरुद्ध दिपेन्द्रको शतक

काठमाडौँ ।  दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।

आइसीसी विश्वकप डिभिजन लिग- २ खेल अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ब्याटिंग गर्ने क्रममा दिपेन्द्रले शतक प्रहार गरेका हुन् । 

दिपेन्द्रले ९४ बल खेल्दै शतक पुरा गरेका हुन् । दिपेन्द्रको क्यारियरमा यो दोस्रो एकदिवसीय शतक हो ।    

Read More

ब्रिट्नी स्पेयर्समाथि मदिरा तथा लागूपदार्थको नशामा सवारी चलाएको आरोप

काठमाडौँ । अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्समाथि मदिरा तथा लागूपदार्थको नशामा सवारी चलाएको आरोप लागेपछि कानुनी समस्या बढेको छ ।

भेन्चुरा काउन्टीका अभियोजन कार्यालयका अनुसार ४४ वर्षीया ब्रिट्नी स्पेयर्समाथि मदिरासहित कम्तीमा एक प्रकारको लागूपदार्थ सेवन गरेर सवारी चलाएको अभियोग दर्ता गरिएको छ । यसबारे थप जानकारी दिन उनको प्रतिनिधिसँग स्पष्टीकरण मागिएको भए पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । आरोपमा कुन प्रकारको पदार्थ र कति मात्रामा प्रयोग गरिएको थियो भन्ने विवरण भने खुलाइएको छैन ।

यस विषयमा उनको अदालतमा पेशी सोमबारका लागि तय गरिएको छ । यद्यपि अभियोजन पक्षले यो सामान्य प्रकृतिको मुद्दा भएकाले अनिवार्य रूपमा अदालतमा उपस्थित हुनुपर्ने नपर्ने जनाएको छ ।

स्पेयर्सलाई गत मार्च ४ मा प्रहरीले नियन्त्रणमा लिएको थियो । तीव्र गतिमा तथा असावधानीपूर्वक सवारी चलाएको आशंकामा रोकिएको बेला उनी नशामा देखिएकी थिइन् । त्यसपछि उनलाई पक्राउ गरी भेन्चुरा काउन्टी कारागारमा राखिएको थियो र भोलिपल्ट जमानतमा रिहा गरिएको थियो । पछि अनुसन्धान पूरा गरिएको जनाइएको छ ।

गिरफ्तारीपछि करिब एक महिनापछि उनले नशाको लतबाट छुटकारा पाउन पुनःस्थापना केन्द्रमा भर्ना भएको उनका प्रतिनिधिले बताएका थिए ।

९० को दशकमा निकै लोकप्रिय रहेकी स्पेयर्सलाई पप संगीतकी ‘राजकुमारी’ भनेर चिनिन्थ्यो । उनका गीतहरू अहिले पनि दर्शकमाझ लोकप्रिय छन् । यद्यपि उनी पटक–पटक विवादमा तानिँदै आएकी छन् र एक समय संगीत क्षेत्रबाट टाढा पनि रहनुपरेको थियो ।

Read More