२०८३ बैशाख १८

जापानको विमानस्थलमा रोबोटले सामान उठाउने !

काठमाडौँ । जापानले विमानस्थलमा काम गर्ने कर्मचारीको भार घटाउन मानवजस्तै देखिने रोबोट प्रयोगको परीक्षण सुरु गर्ने भएको छ ।

जापान एयरलाइन्सले मे महिनाको सुरुआतदेखि टोकियोस्थित हानेदा विमानस्थलमा यस्ता रोबोटको परीक्षण गर्न लागेको जनाएको हो । चीनमा निर्मित ती रोबोटलाई यात्रुहरूको सामान तथा कार्गो उठाउने काममा प्रयोग गरिनेछ ।

हरेक वर्ष ६ करोडभन्दा बढी यात्रु आवतजावत गर्ने हानेदा विमानस्थलमा यस प्रयोगबाट कर्मचारीमाथिको शारीरिक दबाब घट्ने अपेक्षा गरिएको छ । सन् २०२८ सम्म सञ्चालन हुने यो परीक्षणमार्फत कामलाई थप सहज बनाउने योजना रहेको बताइएको छ ।

हालै सार्वजनिक गरिएको प्रदर्शनमा करिब १३० सेन्टिमिटर उचाइका रोबोटले विमान नजिक कन्वेयर बेल्टमा कार्गो सार्ने र संकेत गर्ने काम गरेको देखाइएको थियो । एकपटक चार्ज गरेपछि ती रोबोटले २ देखि ३ घण्टासम्म निरन्तर काम गर्न सक्ने जनाइएको छ । भविष्यमा विमानको भित्री सफाइजस्ता काममा पनि प्रयोग गर्ने योजना बनाइएको छ । तर सुरक्षासम्बन्धी संवेदनशील काम भने मानिसले नै गर्ने स्पष्ट पारिएको छ ।

जापान अहिले घट्दो र वृद्ध हुँदै गएको जनसंख्या तथा बढ्दो पर्यटकको चापजस्ता दोहोरो चुनौतीसँग जुधिरहेको छ । कूटनीतिक तनावका कारण चिनियाँ पर्यटक केही घटे पनि पछिल्लो वर्ष रेकर्ड ४ करोड २७ लाख पर्यटक जापान पुगेका थिए । सन् २०२६ को सुरुका दुई महिनामै ७० लाखभन्दा बढी पर्यटक पुगेको तथ्यांक छ ।

आर्थिक लक्ष्य पूरा गर्न सन् २०४० सम्म जापानलाई करिब ६५ लाख विदेशी कामदार आवश्यक पर्ने अनुमान गरिएको छ । तर आप्रवासन नियन्त्रणको राजनीतिक दबाब पनि उच्च रहेको छ ।

कम्पनीका अधिकारी तोमोहिरो उचिदाले विमानस्थल बाहिरबाट आधुनिक देखिए पनि भित्री कामकाज अझै ठूलो मात्रामा मानव श्रममा निर्भर रहेको उल्लेख गर्दै रोबोट प्रयोगले उक्त दबाब कम गर्न सहयोग पुग्ने बताएका छन् ।