२०८३ जेष्ठ २

एसईई नतिजा एक महिनामै सार्वजनिक, करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजा केहीबेरपछि वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।
यसपटक एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा यस वर्ष अपेक्षाकृत छिटो सार्वजनिक गरिएको हो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा प्रकाशन प्रक्रिया तीव्र बनेको बोर्डले जनाएको छ।