काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राजनीतिक दलका नेता तथा सांसदहरूले फरक–फरक प्रतिक्रिया दिएका छन्।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नेताहरूले त्यसलाई प्रगतिशीलदेखि कार्यान्वयन चुनौतीपूर्णसम्मका टिप्पणी गरेका हुन्।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति रहबर अन्सारीले नीति तथा कार्यक्रममा नयाँ र सकारात्मक विषय समेटिएको भन्दै आगामी बजेट अझ फरक ढंगले आउने विश्वास व्यक्त गरे। स्वतन्त्र सांसद महावीर पुनले अधिकांश क्षेत्र समेटिएकाले कार्यक्रम समग्रमा राम्रो रहेको बताए।
राप्रपाकी सांसद खुस्बु ओलीले भने नीति तथा कार्यक्रम कागजमा राम्रो देखिए पनि यसको वास्तविक मूल्याङ्कन कार्यान्वयनबाट हुने टिप्पणी गरिन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज गुरुङले कार्यक्रम महत्वाकांक्षी देखिए पनि स्रोत व्यवस्थापनबारे स्पष्ट योजना नदेखिएको बताए।
यस्तै, एमाले सांसद पुष्पराज कँडेलले नीति तथा कार्यक्रमलाई विगतकै निरन्तरताको रूपमा व्याख्या गर्दै केही नयाँ विषय थपिएको प्रतिक्रिया दिएका छन्।




