२०८३ जेष्ठ २

स्मार्ट सेल प्रकरणमा इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्  ।

 स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान अघि बढ्दै गर्दा पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पक्राउ गरेको हो ।

सरकारी स्वामित्वसँग जोडिएको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्न भूमिका खेलेको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा विभिन्न आर्थिक र प्रशासनिक निर्णयमा उनको संलग्नता देखिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको बताइएको छ ।

स्मार्ट सेल प्रकरण यतिबेला राज्य संयन्त्र, निजी क्षेत्र र प्रभावशाली व्यक्तिहरूको मिलेमतोबारे गम्भीर प्रश्न उठाउने मुद्दाका रूपमा हेरिएको छ । यही घटनामा यसअघि र पलिना श्रेष्ठ र नरेन्द्र उलक लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

सीआईबीले यो प्रकरणमा थप व्यक्तिमाथि पनि अनुसन्धान चलिरहेको जनाएको छ । पछिल्ला गिरफ्तारीहरूले स्मार्ट सेलको स्वामित्व हस्तान्तरण र आर्थिक कारोबारका पाटा अझ गहिरिँदै गएको संकेत गरेका छन् ।