२०८३ जेष्ठ २

सरकारले मन्त्रालयको संख्या १८ बनायो

काठमाडौँ । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो  निर्णय गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन् । सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ ।

अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ । जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन् । त्यसैगरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ । 

साविकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ ।

नयाँ सरकार गठन भएलगत्तै जारी गरिएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो । सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ ले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्यविभाजन, नाम परिवर्तन र एकीकरण गरिएको दाहालले जानकारी दिनुभयो। मन्त्रालयको संख्या आवश्यकताभन्दा ठूलो भई चालू खर्च बढेको समस्या समाधान गर्न र राज्य संयन्त्रलाई चुस्त बनाउन यो कदम चालिएको सरकारको दाबि छ ।

Read More

कर्मचारीले राजनीति गरे जागिर जाने

काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै  निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।

सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ । 

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारीहरू राजनीतिक दल, भ्रातृ सङ्गठनमा आबद्ध हुन नपाइने जनाएको छ । 

सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, सङ्गठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेदवार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भातृ सङ्गठन, राजनीतिक दलको जन वर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध भई सङ्गठनको सदस्यता लिएको वा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानुन बमोजिम कारबाही हुने समेत मन्त्रालयले जनाएको छ ।

Read More

कुचो लिएर निस्किए सभामुख डिपी अर्याल

काठमाडौँ । जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवज्यूको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सम्माननीय सभामुख डिपी अर्याल सहभागी भएका छन् । 

उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख तथा राष्ट्रिय सभाका उपाध्यक्षको समेत सहभागिता रहेको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ बमोजिम वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन भइरहेको सरसफाइ सप्ताह अन्तर्गत संघीय संसद सचिवालयका महासचिवको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा सभामुख अर्यालको सहभागी भएका हुन् ।

कार्यक्रमअन्तर्गत संघीय संसद सचिवालय परिसरको सरसफाइ गरी स्वच्छ, स्वस्थ र व्यवस्थित कार्य वातावरण निर्माणप्रति प्रतिबद्धता व्यक्त गरिएको छ ।

Read More

आयल निगमका कार्यकारी निर्देशक डा. भट्टको राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

भट्टलाई उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न लगातार निर्देशन दिएपछि राजीनामा दिएको बुझिएको छ । 

भट्ट २०८०  फाल्गुन ६ गते निगमको निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि पनि उनी २०७० जेठदेखि २०७१ मंसिरसम्म प्रबन्ध निर्देशकको रुपमा काम गरेका थिए ।

निगममा स्वचालित मूल्य प्रणाली सुरु भट्टकै पहलमा भएको थियो । 

Read More

विद्युत् प्राधिकरणको निमित्त कार्यकारीको जिम्मेवारी श्रेष्ठलाई, सञ्चालक समितिमा दुई सदस्य नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै, उपभोक्ताको तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका छन् ।

प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक भएको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो ।

दीर्घायू कुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् । प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए ।

Read More

प्रतिनिधि सभामा विपक्षीको लगातार अवरोध, भोलीसम्मका लागि बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको तेस्रो बैठक पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए ।

उनीहरुले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री  उपस्थित भएर सांसदहरुले उठाएका कुरा सुन्नुपर्ने माग राख्दै संसद अवरोध गरेका थिए ।

यसअघि दोस्रो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई  नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस भन्ने प्रस्ताव पेश गर्न दिएका थिए । तर त्यसपछि छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै बैठक अवरोध गरिएको थियो ।

अब बैठक विहिबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौं टोखा नगरपालिका-१ बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय सम्भु गौतम र काठमाडौं महानगरपालिका-२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ३७ वर्षीय सनम गुरूङ रहेका छन् ।

पक्राउ मध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार रूपैयाँ, सम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार रूपैयाँ र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौं टोखा नगरपालिका-३ बाट सोमबार तथा सम्भुलाई टोखा नगरपालिका-२ बाट र सनमलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरिएको छ । 

सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन् ।

जस अनुसार काँग्रेसको अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरुमा केन्द्रीय सदस्य धना खतिवडा, केन्द्रीय सदस्य रमेशप्रसाद धमला र केन्द्रीय सदस्य बजरंग नेपाली रहेका छन् ।  

यसअघि अनुशासन समितिमा रहेका सदस्य सुवासकुमार पोखरेललाई हटाइएको छ ।

Read More

प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौँ । प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभाका प्रकाश अधिकारी सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसअघि सभामुखकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका तत्कालिन सचिव हर्कराज राईलाई बर्खास्त गरेका थिए ।

Read More

सुर्खेत उपत्यका नगर विकासको राजश्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर कवल तथा जग्गा भाडाबाट उठेको चार करोड १८ लाख चार हजार ३०३ राजस्वमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र बैंकमा दाखिला गरिएको पाइएको आयोगले जनाएको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरिएको आरोप लगाइएको छ ।

आयोगका अनुसार प्रतिवादीहरूले उक्त रकम बैंकमा दाखिला भएको देखाउन गलत आय–व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराएका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि कानुनअनुसार सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Read More