२०८३ जेष्ठ २

बादलले संसदमा बोलेका कुन कुन शब्द रेकर्डबाट हटे ?

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा मंगलबार बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको  जानकारी दिएका हुन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

सभामुखले अर्यालले थापाले संसदमा बोलेका शब्दहरू- ‘ सभालाई अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू र नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको जानकारी गराएका छन् । 

बादलले मंगलबारको आफ्नो सम्वोधनमा नेपाली सेनाको भूमिका माथि प्रश्न गर्दै देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ? भन्ने जस्ता प्रश्न गरेका थिए । 

Read More

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा आज जनकपुरधाममा ‘साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल’ ले तयार गरेको प्रतिवेदन हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षभित्र मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने उद्देश्यसहित मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल सरकारका पूर्व सचिव डा. रामस्वरुप सिन्हाको संयोजकत्वमा गठित ७ सदस्यीय कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन कार्यक्रममा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको साक्षरता अभियानलाई केवल औपचारिक घोषणा नभई सामाजिक रूपान्तरण र मानव विकाससँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा व्याख्या गरे । उनले सीमित समयभित्र कार्यदलले गहन अध्ययन, तथ्यगत विश्लेषण तथा व्यवहारिक सुझावसहित प्रतिवेदन तयार गरेकोमा कार्यदलप्रति धन्यवाद व्यक्त गरे । प्रतिवेदनमा समेटिएका सुझाव, रणनीति तथा कार्ययोजनामाथि थप अध्ययन गरी सरकार आवश्यक निर्णयमा अघि बढ्ने जानकारी पनि उनले दिए ।

मन्त्री पोखरेलले मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानमा संघीय सरकारको पूर्ण सहयोग र समन्वय रहने स्पष्ट पार्दै तीनै तहका सरकार, विद्यालय, शिक्षक, विद्यार्थी तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे । विशेषगरी १५ देखि ६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई द्रुत सिकाइ विधिमार्फत साक्षरतामा जोड्ने अभियानलाई परिणाममुखी ढंगले सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले विगतमा साक्षरता शिक्षामा भएको लगानीको प्रतिफल-नतिजाका विषयमा प्रश्न गर्दै नतिजामुखी कार्यक्रममा जोड दिइन् । उनले बाँकी रहेको २ महिनामा तीन तहका सरकार, विद्यालयका शिक्षक र विद्यार्थी परिचालन गरी मधेश प्रदेशलाई साक्षर घोषणा गर्न सकिने विश्वास र प्रतिवद्धता व्यक्त गरिन् । 

महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा यादवले उच्चस्तरीय कार्यदललाई धन्यवाद दिदै मधेश प्रदेशको समग्र शिक्षामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएकीछन् । त्यसैगरी प्रतिनिधिसभा सदस्य मनिष झाले इमान्दार र सचेत भएर नागरिकको साक्षर हुने हकको प्रत्याभूत गर्नुपर्ने उल्लेख गर्दै उच्चस्तरीय कार्यदलप्रति आभार व्यक्त गरे ।

कार्यदलका संयोजक सिन्हाले समग्र प्रतिवेदनमा उल्लेखित मूलभूत विषयवस्तु, मधेश प्रदेशको साक्षरताको अवस्था, निरक्षरताका मुख्य कारणहरु, देखिएका समस्याहरु, समाधानका लागि रणनीति र नवीन अभ्यास लगायतका सिफारिस समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले मधेश प्रदेशलाई वि.सं. २०८३ आषाढ तेस्रो साताभित्र साक्षर घोषणा गर्न सकिने समयवद्ध कार्ययोजना समेत प्रस्तुत गरे ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले मधेश प्रदेशलाई साक्षर घोषणाका लागि प्रतिवेदनको सिफारिसबमोजिम कक्षा १०, ११ र १२ का विद्यार्थी परिचालन, विभिन्न निकायको भूमिका परिभाषित गर्ने र सम्बन्धित सरोकारवालालाई साक्षर घोषणा सम्बन्धी अभिमुखीकरण गर्न सकिने उल्लेख गरे ।

शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव दिलिप ठाकुरले सञ्चालन गरेको उक्त कार्यक्रममा सङ्घीय शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले उच्चस्तरीय विज्ञ कार्यदल गठनको पृष्ठभूमि, १५–६० वर्ष उमेर समूहका निरक्षर नागरिकलाई द्रुत विधिबाट साक्षर घोषणा र मधेश प्रदेशलाई साक्षर घोषणाका सम्भावित विधिका बारेमा प्रकाश पारे ।

Read More

नेप्सेमा सामान्य गिरावट, २ अर्ब ८० करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ४.१५ अंकले घटेर २७४०. २५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका ५६ लाख ४३ हजार २८८ कित्ता शेयर २ अर्ब ८० करोड ७४ लाख ४६  हजार ३६१ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी एशियन हाइड्रोको शेयरमा ११.४२ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ११.१७ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी एसवाईप्यानलको २७ करोड ७९ लाखको कारोबार भएको छ भने  रिढी पावरको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

Read More

रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसँग समन्यवमा भए नभएको बारे प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ ? प्रधानमन्त्री ।’ 

शर्माले संसदीय व्यवस्था आफैंमा सुन्दर नहुने उल्लेख गर्दै त्यसको प्रभाव राजनीतिक दल र नेताहरूको व्यवहारमा निर्भर रहने बताएका छन् । उनले ‘फागुन २१’ को विश्वास भत्काएर नागरिकमा निराशा फैलाउने कामबाट प्रणाली र देशको हित नहुने टिप्पणी गरेका छन् ।

Read More

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राखेका छन् ।

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा छलफल शुरु गर्ने प्रस्ताव पेश गरेपछि काँग्रेस नेता आङदेम्बेले नीति तथा कार्यक्रम मन्त्रीले पेश गर्न मिल्ने भएपनि छलफल र संसदमा उठेका प्रश्न प्रधानमन्त्रीले सुन्नुपर्ने भन्दै रुलिङ गर्न सभामुखसँग माग गरेका थिए । अहिले काँग्रेसले उठेर संसदमा अवरोध गरेको छ भने सभामुखले संसद सुचारु गर्न अनुरोध गरिरहेका छन् ।

Read More

तमिलनाडुका मुख्यमन्त्री विजयले पाए विश्वासको मत, १४४ सांसदको समर्थन

काठमाडौँ । तमिलनाडु विधानसभामा मुख्यमन्त्री विजय नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको छ । 

सदनमा उपस्थित १७१ सांसदमध्ये सरकारको पक्षमा १४४ मत परेको हो । यो बहुमतका लागि आवश्यक मतभन्दा ५८ बढी हो । सरकारको पक्षमा परेको मतमध्ये ४७ सांसद रहेको अन्ना द्रविड मुनेत्र कडगम  (एआइएडिएमके) का २५ बागी सांसदको समर्थन गरेका थिए । विश्वासको मतको विपक्षमा २२ मत परेको थियो ।

५९ सांसद रहेको द्रविड मुनेत्र कडगम (डिएमके) ले मतदानअघि सदनबाट बहिर्गमन गरेको थियो । यसैबीच, पाट्टाली मक्कल काचीका ४ तथा भारतीय जनता पार्टीका १ सांसद अनुपस्थित रहे ।  सभामुखले मतदानमा भाग लिएनन् भने विजय नेतृत्वकै एक सांसदको मुद्दा उच्च अदालतमा रहेकाले उनी मतदानमा सहभागी हुन नसकेको बताइएको छ ।

क्रस मतदानसँगै एआइएडिएमके विभाजन उन्मुख भएको छ । पार्टी पलानीस्वामी र सीभी षण्मुगम समूहमा विभाजित भएको बताइएको छ । सदनमा प्रतिपक्षका नेता उदयनिधि स्टालिनले विजयले बागी सांसदहरूसँग गरेको भेटबारे प्रश्न उठाएका थिए । उनले यो परिवर्तन हो वा राजनीतिक सौदाबाजी भन्दै सरकारमाथि टिप्पणी गरेका थिए । 

यसको जवाफमा मुख्यमन्त्री विजयले आफ्नो सरकार धर्मनिरपेक्ष ढंगले तीव्र गतिमा काम गर्ने र कुनै पनि प्रकारको सांसद किनबेचमा संलग्न नहुने बताएका थिए ।

Read More

हर्क साम्पाङ भन्छन्- देशमा प्रधानमन्त्री छैनन् !

काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । 

बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन् । 

संसद भवन बाहिर प्रतिक्रिया दिदै उनले भने- ‘प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो । हाम्रो र जनताको धेरै प्रश्नहरु छन् ।’

उनले सरकारले मनलाग्दी रुपमा संसद चलाइरहेको समेत आरोप लगाउदै नीति तथा कार्यक्रमको छलफलमा पनि पर्याप्त समय नदिएको र संसदमा प्रस्तुत गर्नुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको टिप्पणी गरे । 

उनले सरकारको नीति तथा कार्यक्रम सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएपछि संसद भित्रै प्रधानमन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।

Read More

हिमाल आरोहणका क्रममा पाँच आरोही तथा पथप्रदर्शकको मृत्यु

काठमाडौँ । वसन्त ऋतुमा हिमाल आरोहणका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको मृत्यु भएको छ ।

पर्यटन विभागका अनुसार हिमाल आरोहण तथा जिम्मेवारी निर्वाहका क्रममा पाँच जना आरोही तथा पथप्रदर्शकको असामयिक निधन भएका हो ।

जस अनुसार सगरमाथा क्षेत्रमा तीन जना र मकालु हिमाल क्षेत्रमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका पथप्रदर्शक लाक्पा डेण्डी शेर्पा, विजय घिमिरे र फुरा गेल्जेन शेर्पा रहेका छन् । त्यस्तै चेक गणतन्त्रका डेभिड रुबिनेक तथा अमेरिकाकी जोहान्सेन सेलीको पनि मकालु हिमाल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ ।

विभागका अनुसार लाक्पा डेण्डी शेर्पाको बैशाख २० गते सगरमाथा आधार शिविर नजिक मृत्यु भएको थियो । विजय घिमिरेको बैशाख २७ गते सगरमाथाको खुम्बु आइसफल क्षेत्रमा तथा फुरा गेल्जेन शेर्पाको बैशाख २८ गते सगरमाथा बेस क्याम्प क्षेत्रमा निधन भएको उल्लेख छ । त्यसैगरी डेभिड रुबिनेकको बैशाख २१ गते मकालु हिमालको करिब ८ हजार ३ सय मिटर उचाइमा तथा जोहान्सेन सेलीको बैशाख २८ गते मकालु हिमाल क्षेत्रमा मृत्यु भएको विभागले जनाएको छ ।

Read More

टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित

काठमाडौं । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन अन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ ।

उर्जा मन्त्रालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत सुचारु गर्न पहल गरिरहेको जानकारी दिएको छ ।

हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । उक्त घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमण राज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो ।

हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ । १३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्तिलाई सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो ।

Read More

विपक्षी दलको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरेका थिए । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेपनि सत्ता पक्ष रास्वपाका सांसदहरुले भने प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीको स्थानमा अन्य मन्त्रीले छलफलमा भाग लिन र जवाफ दिन पाउने जिकिर गरेका थिए ।

Read More