२०८२ फाल्गुन २७

यस्तो छ सिन्धुलीबाट हराएका उर्मिला हायूको परिवारले गाउँ छाड्नुको कारण

काठमाडौँ, १३ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पाबाट सम्पर्कविहीन भएका उर्मिला हायूसहितको परिवार पोखरामा भेटिएको छ । पोखरा महानगरपालिका–३०, गगनगौडामा भाडाको कोठामा बसिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले सोमबार साँझ फेला पारेको हो ।

प्रहरीका अनुसार, प्रारम्भिक बयानमा ती परिवारले बारम्बार घरमा बालबालिका बिरामी हुने, निरन्तर पीडामा बस्नुपर्ने अवस्था आउँदा धामीझाँक्रीको सल्लाहमा पनि घर नबस्न सुझाव दिइएको बताएका छन् ।

“हिजो आफन्त र स्थानीय जनप्रतिनिधिको रोहबरमा उनीहरू त्यहीँ राखिएका छन्,” प्रमुख विकले बताए, “सामान्य सोधपुछपछि उनीहरूलाई हाल उक्त ठाउँमै बस्न दिइएको छ ।”

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । हायू परिवारको एक्कासि घर छाडेर अर्कै ठाउँमा पुगेको खबरले चिन्ता व्यक्त गरिरहेका आफन्त र समुदायका सदस्यहरूलाई भने प्रहरीले तिनको अवस्था सुरक्षित रहेको जानकारी गराएको छ ।

यद्यपि, बालबालिकाको स्वास्थ्य अवस्था, उनीहरूको बसोबासको कारण, र धामीझाँक्रीको भूमिका लगायत विषयमा थप अनुसन्धान आवश्यक देखिएको प्रहरीले जनाएको छ ।