२०८३ बैशाख १३

४६ प्रतिशतले बढ्यो एनएमबि बैंकको मुनाफा, वितरण योग्य मुनाफा १ अर्ब ९१ करोड

काठमाडौं, २७ साउन । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१/८२मा राम्रो मुनाफा आर्जन गरेको विवरणसहितको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८०/८१मा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको बैंकले आर्थिक वर्ष २०८१/८२मा ३ अर्ब २८ करोड कमाएको छ । एक वर्षमा बैंकको नाफा ४६.२२ प्रतिशत बढेको देखिन्छ ।

यस्तै, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४० पैसा रहेको छ।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेकोले नाफामा उच्च सुधार देखिएको हो । बैंकको सञ्चालन मुनाफा पनि ६४.४६ प्रतिशतले बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ५ रुपैयाँ ६५ पैसा बढेर १७ रुपैयाँ ८७ पैसा पुगेको छ। यस्तै मूल्य आम्दानी अनुपात १५.१० गुणा र प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ८१ पैसा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर ३.७२ प्रतिशत पुगेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १४ अर्ब २३ करोड रुपैयाँ सञ्चित गरेको छ।

२०८२ असार मसान्तसम्म बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।