काठमाडौं, २७ साउन । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२मा ७ अर्ब १२ करोड नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशत धेरै नाफा कमाउन सकेको देखिन्छ । आर्थिक वर्ष २०८०/८१मा बैंकले ६ अर्ब १९ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, सञ्चालन आम्दानी बढेका कारण नाफामा पनि वृद्धि देखिएको छ । यस्तै नाफा बढ्नुको अर्को कारण इम्पेरमेन्ट चार्ज घट्नु पनि हो । बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको देखिन्छ ।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । यस्तै, वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा छ।
बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आमदानी ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ। यस्तै, मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ।
२०८२ असार मसान्तसम्म बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




