२०८३ बैशाख १३

विरगंज पुगेर स्वास्थ्यमन्त्रीले भने: हैजा प्रभावित बिरामीको उपचारमा अभाव आउन दिँदैनौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजा प्रभावित बिरामीहरूको उपचारमा कुनै पनि किसिमको कमी नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार हैजा प्रभावित क्षेत्र विरगंज पुगेका मन्त्रि पौडेलले स्थलगत निरीक्षण पछि भने- “बिरामीको उपचारमा कुनै अभाव र समस्या हुन नदिने गरी सरकार काम गरिरहेको छ ।”

मन्त्री पौडेलले महामारीको यो समय सबै पक्षले मानवीयता ध्यानमा राखेर सहयोग गर्नुपर्ने बेला भएको बताउँदै निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सक्रिय भई सहयोग गर्न आह्वान गरे ।

उनले भने- “बिरामीको स्वास्थ्य परीक्षणका लागि निजी अस्पताललाई आवश्यक किट उपलब्ध गराइने छ । सरकारले औषधि उपलब्ध गराउँदा, उनीहरूले न्यून शुल्कमा सेवा दिन तयार भए हामी छलफल गर्न तयार छौं। अहिले सबैले मानवीयतालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने समय हो।”

मन्त्रि पौडेलले निजी अस्पतालहरूलाई पनि समाजको सेवा र सहयोगमा भूमिका खेल्न उत्प्रेरित गर्दै भने- “सरकार मात्र होइन, निजी क्षेत्रले पनि सहयोग गरेर समाजमा योगदान पुर्‍याउने बेला आएको छ।”