२०८३ बैशाख २५

लेखकलाई रिहा गर्न सर्वोच्चको अस्वीकार, कारण देखाउ आदेश जारी

काठमाडौं । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

 सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई रिहा गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । 

लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई भएको थियो । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको थियो । 

योसँगै अब लेखक जिल्ला अदालत काठमाडौँको आदेश अनुसार कम्तिमा पाँच दिन हिरासतमा बस्नुपर्ने भएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले लेखकलाई शनिबार विहान प्रहरीले पक्राउ गरेको थियो ।

Read More

निजी क्षेत्रले कामका लागि घुस खुवाउनु पर्दैन- अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले कामका लागि घुस खुवाउनु नपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री डा. वाग्लेले सरकारले निजी क्षेत्रको सहयात्री बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अब कामका लागि घुस खुवाउनुपर्ने अवस्था नहुने बताएका हुन् ।

उनले भने- ‘म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ ।’

सो अवसरमा अर्थमन्त्री डा. वाग्लेले उद्योगीहरूलाई लगानी र रोजगारी बढाउनमा केन्द्रित हुन समेत आग्रह गरे । निजी क्षेत्रलाई कुनैपनि बहानामा दुःख नदिइने स्पष्ट पर्दै उनले व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको व्यावसायिक कसुरमा थुन्न नहुने मागलाई सम्बोधन गर्दै आर्थिक बेइमानीमा आर्थिक जरिवानाको नीतिमा जाने स्पष्ट गरेका थिए । 

उनले अब उद्योगी व्यापारीहरूले सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु नपर्ने भन्दै अब दण्डको स्वरूप बदल्ने बताएका थिए ।

Read More

नेप्सेमा आज ४७.७१ अंकको गिरावट, १२ अर्ब ९६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१. ३९ विन्दुमा पुगेर रोकिएको छ ।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो गिरावट आएको छ ।

आज ३४१ कम्पनिका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सोलु हाइड्रोको शेयर ७.७९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ६८ करोड ४१ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ४३ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

Read More

धुम्बराहीमा काँग्रेस देउवा पक्षको कार्यक्रम शुरु

काठमाडौँ । नेपाली कांग्रेसका निर्वमान सभापति शेर बहादुर देउवा एवम डा. शेखर कोइराला पक्षले भेला आयोजना गरिएको छ । 

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आज कार्यक्रम गरिएको छ ।

धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा देउवा पक्ष र कोइराला पक्षका नेताहरु उपस्थित रहेका छन् ।

देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम केन्द्रीय सदस्यहरुको बैठक पनि बोलाएको छ । बैठक मंगलबार र बुधबार बस्ने बताइएको छ ।

Read More

चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु

काठमाडौँ । चीन र उत्तर कोरियाबीच विमान सेवा सुचारु भएको छ । चीनको राष्ट्रिय विमान सेवा कम्पनी एयर चाइनाले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीचको सिधा उडान सेवा पुनः सुरु गरेको हो । दुवै देशबीच यात्रु रेल सेवा सञ्चालनमा आएको केही समयपछि हवाई सेवा पनि फेरि सुरु गरिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उक्त उडान प्योङयाङ पुगेपछि त्यहाँ रहेका चीनका राजदूत वाङ याजुनसहित कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए । यसअघि मार्च १२ मा चीन र उत्तर कोरियाबीच यात्रु रेल सेवा पनि पुनः सञ्चालनमा आएको थियो ।

कोरोना महामारी सुरु भएपछि चीनले उत्तर कोरियातर्फका उडान र रेल सेवा पूर्ण रूपमा बन्द गरेको थियो । तर उत्तर कोरियाको राष्ट्रिय विमान सेवा एयर कोरियोले सन् २०२३ मै दुई देशका राजधानीबीच उडान सेवा पुनः सुरु गरेको थियो । महामारीका क्रममा उत्तर कोरियाले विदेशी पर्यटक प्रवेशमा कडाइ गरेको भए पनि अहिले क्रमशः ती प्रतिबन्धहरू खुकुलो बनाउँदै लगेको छ ।

सन् २०२४ देखि रसियाली पर्यटक समूहहरूले उत्तर कोरिया भ्रमण सुरु गरिसकेका छन् । प्रतिबन्धअघि उत्तर कोरिया पुग्ने कुल पर्यटकमध्ये करिब ९० प्रतिशत चिनियाँ नै हुने गरेका थिए । त्यसैले चिनियाँ पर्यटकको फर्काइ ढिला हुँदा विश्लेषकहरू अचम्मित भएका थिए । अब हवाई र रेल सेवा पुनः सञ्चालनसँगै चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र मुख्य सहयोगी हो । यद्यपि, उत्तर कोरियाले गरेका क्षेप्यास्त्र परीक्षणप्रति बेइजिङले असन्तुष्टि पनि जनाउँदै आएको छ । यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा बेइजिङ भ्रमण गरी भव्य सैनिक परेडमा सहभागीता जनाएका थिए, जुन दशकौँपछि भएको दुर्लभ सहभागिता मानिएको छ ।

Read More

कर्णालीलाई पराजित गर्दै मधेश प्रदेश शिर्ष स्थानमा

काठमाडौँ  ।  जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । 

यो जितपछि मधेश प्रदेशको ४ खेलमा ७ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको ४ खेलमा ३ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

Read More

कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा दुवै प्रदेशका सबै दलबाट निर्वाचित सांसदहरु सहभागि भएका थिए ।

तर यस बैठकलाई श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको थियो ।  श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले आफुहरु कोठे बैठकमा सहभागी नहुने भन्दै संसद बैठक छिटो बोलाउन माग गर्दै प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने बताएका थिए ।

Read More

जबरजस्ती करणीको अभियोगमा कैलाली र संखुवासभाबाट दुई जना पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलाली र संखुवासभाबाट दुई जनालाई पक्राउ गरेको छ।

कैलालीको जानकी गाउँपालिका–७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार बेलुकी पक्राउ गरिएको हो। पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै, संखुवासभाको चैनपुर नगरपालिका–७ फलाटेका १९ वर्षीय निसान कार्कीलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार साँझ पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।

दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Read More

युद्धका कारण लेबनानको २० प्रतिशत जनसंख्या विस्थापित

काठमाडौँ । इजरायल-लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ । संयुक्त राष्ट्रअन्तर्गत बालबालिका सम्बन्धी निकायले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला तीन सातामै लाखौं नागरिक घर छोड्न बाध्य भएका छन् ।

युद्धको सबैभन्दा बढी असर बालबालिकामा परेको छ । दैनिक औसत १९ हजार बालबालिका घर छोडेर भाग्न बाध्य भइरहेको जनाइएको छ । निरन्तर बमबारीका कारण धेरै पुल भत्किएका छन्, जसले राहत सामग्री पुर्‍याउन कठिन भएको छ भने कतिपय बालबालिका अझै जोखिमयुक्त क्षेत्रमा फसेका छन् ।

विस्थापित बालबालिका अस्थायी शिविरमा बसिरहेका छन् । उनीहरूलाई बारम्बार स्थान परिवर्तन गर्नुपर्दा मानसिक रूपमा गम्भीर असर परेको बताइएको छ । सहयोगी संस्थाहरूले ती बालबालिकाका लागि खोप, उपचार र अस्थायी पढाइको व्यवस्था गर्न प्रयास गरिरहेका छन्, किनकि धेरै विद्यालय बन्द भएका छन् ।

यससँगै, धेरै क्षेत्रमा खानेपानी, अस्पताल सेवा र सरसफाइ प्रणाली पनि प्रभावित भएको छ । यसले मानवीय संकट झन् गहिरिँदै गएको देखिएको छ ।

Read More

प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा हर्क साम्पाङ नजाने, संसद बैठक बोलाउन माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा जान अस्वीकार गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री बालेनले श्रम संस्कृति पार्टीलाई भेटका लागि बोलाएको विषयमा साम्पाङले आफुहरु कोठे बैठकमा नआउने र आफ्ना कुरा संसदमै राख्ने भन्दै छिटो संसद बैठक बोलाउन माग गरेका छन् ।

सत्ता पक्षले प्रतिपक्षको प्रश्नको जवाफ दिनुपर्ने र त्यो जवाफ कोठे बैठकमा होइन संसदमै जिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री बालेनले आज विभिन्न दलका सांसदहरुसँग छलफल शुरु गरेका छन् ।

Read More