२०८३ बैशाख २५

कति पुग्यो धुरन्धर- २ को कमाई ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । 

प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ११ दिनमा ८१३ करोड भारु कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पहिलो साता (आठ दिन) मा ६४९ करोड कमाएको थियो भने दोस्रो साताको दिन दिनमा १६४ करोड कमाई गरेर आइतबारसम्म कुल ८१३ करोड कमाई गरेको छ । 

फिल्मले रिलिजको दोस्रो शुक्रबार ३८ करोड, शनिबार ६० करोड र आइतबार ६६ करोड कमाई गरेको छ । फिल्मले अहिलेसम्म सबैभन्दा छिटो २ सय करोड देखि ८ सय करोडसम्म कमाएको नयाँ किर्तिमान बनाएको छ ।

त्यस्तै दोस्रो साताको विकइन्डमा धेरै कमाउने रेकर्ड पनि धुरन्धर-२ ले बनाएको छ । दोस्रो विकइन्डमा धुरन्धर-२ ले १६४ करोड कमाएको छ भने यसअघि धुरन्धरले १४६.६० करोड कमाएको थियो । त्यस्तै पुष्पा-२ ले १२८ करोड कमाएको थियो र छावाले १०९.२३ करोड कमाएको थियो । त्यस्तै धुरन्धर-२ ले भारतभन्दा बाहिर पनि करिब ३ सय करोड कमाई गरेको छ ।  

धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।

धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

Read More

ओली पक्राउको विरोधमा एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि प्रदर्शन गर्ने भएको छ ।

एमाले सचिव महेश बस्नेतले आज दिउँसो १ बजे माइतीघर मण्डलमा सशक्त विरोध कार्यक्रममा हुने जानकारी दिएका छन् ।

नेता बस्नेतले ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा राजधानी प्रदेशले विरोध प्रदर्शन आयोजना गरेको बताएका छन् ।

बस्नेतको गिरफ्तारीको चर्चा भइरहेका बेला उनले आन्दोलनको मोर्चामा भेट हुन्छ भनेका छन् ।

Read More

समानान्तर गतिबिधिमा काँग्रेस, देउवा पक्षले बोलायो केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख भएको छ । काँग्रेसको देउवा पक्षले समानान्तर गतिविधि बढाएसँगै कांग्रेस अब बिभाजन उन्मुख भएको स्पष्ट देखिएको छ ।

काँग्रेस नेता पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि काँग्रेसमा तरंग उत्पन्न भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको पक्राउको विषयमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाल्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताएका थिए । खड्काको यस विज्ञप्तिपछि उनलाई काँग्रेसले कारवाहीको तयारी गरेको छ । 

अर्कोतर्फ देउवा पक्ष यतिमै रोकिएको छैन । देउवा पक्षले आज सोमबार नवनिर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । त्यस्तै मंगलबार र बुधबार १४औं महाधिवेशनमा निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठक समेत बोलाएको देउवा पक्षका नेताहरुले जानकारी दिएका छन् । देउवा पक्षले केन्द्रीय समितिको बैठक पछि प्रदेश र जिल्ला स्तरसम्म समेत भेला र बैठक गर्ने तयारी गरेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचन काँग्रेस नेतृत्वले असोजमा १५औं महाधिवेशनको मिति घोषणा गरेर अब चुनावी हारपछि महाधिवेशनमा होमिने निर्णय गरेको छ । ओली र लेखकको प्रक्राउको विरोधमा सडकमा नजाने र सरकार केहि व्यक्तिलाई निशाना बनाएर कारवाहीमा उत्रिएको भन्ने बाहेक काँग्रेस सरकारको कदमप्रति ‘सफ्ट’ भएको छ । काँग्रेसले भदौ २४ को घटनाको छानबिन र दोषीलाई कारवाही हुनुपर्नेमा काँग्रेसले जोड दिएको छ ।

Read More

हिरासतमा रहेका पुर्वमन्त्री खड्का अस्वस्थ, अस्पताल भर्ना

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका काँग्रेस नेता एवं पूर्व उर्जामन्त्री दिपक खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । 

प्रहरी स्रोतका अनुसार हिरासतमा रहेको समयमा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । 

आइतबार बिहान पक्राउ परेका खड्कालाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ र उनी प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका थिए । हिरासतमा उनले गएराती लगातार बान्ता गरेपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

Read More

एप्पलले चर्चित डेस्कटप कम्प्युटर म्याक प्रोलाई गर्यो अलबिदा

काठमाडौँ । एप्पलले आफ्नो चर्चित डेस्कटप कम्प्युटर म्याक प्रोलाई आधिकारिक रुपमा बन्द गरेको छ । कम्पनीले ठूलो घोषणा नगरे पनि म्याक प्रोको यात्रा समाप्त भएको पुष्टि गरेको छ ।

म्याक प्रो विशेषगरी भिडियो सम्पादनकर्ता, विकासकर्ता र डिजाइनरजस्ता पेशागत प्रयोगकर्तालाई लक्षित गरेर बनाइएको थियो । सन् २०१९ मा सार्वजनिक भएको यसको ‘चिज ग्रेटर’ डिजाइनले निकै चर्चा कमाएको थियो । उच्च क्षमता र सजिलै भाग परिवर्तन गर्न मिल्ने विशेषताले यो उपकरण फरक पहिचान बनाएको थियो ।

कम्पनीले आफ्नै चिप प्रयोग गर्न थालेपछि हल्का, छिटो र ऊर्जा बचत गर्ने उपकरणमा ध्यान केन्द्रित गर्‍यो । यही परिवर्तनसँगै म्याक प्रो क्रमशः पछाडि पर्दै गएको देखिएको हो ।

यसैबीच म्याक स्टुडियोले म्याक प्रोको स्थान लिएको छ । सन् २०२३ मा नयाँ चिपसहित म्याक प्रो अपडेट भए पनि खास प्रभाव देखिएन । तर सानो आकार, उच्च क्षमता र नयाँ प्रविधिका कारण म्याक स्टुडियो पेशागत प्रयोगकर्ताबीच छिट्टै लोकप्रिय बनेको छ ।

हाल कम्पनीको उत्पादन सूची अझ स्पष्ट बनेको छ । आइम्याक दैनिक प्रयोगका लागि, म्याक मिनी सानो सेटअपका लागि र म्याक स्टुडियो उच्च क्षमताका कामका लागि उपलब्ध छन् । त्यस्तै म्याक बुक एयर र म्याक बुक प्रो जस्ता ल्यापटपले पनि विभिन्न प्रयोगकर्ताको आवश्यकता समेटिरहेका छन् ।

म्याक प्रो पहिलो पटक सन् २००६ मा सार्वजनिक गरिएको थियो । त्यसपछि सन् २०१३ मा आएको नयाँ डिजाइनले विवाद समेत निम्त्याएको थियो । पछि सन् २०१९ मा फेरि पुरानै शैलीमा फर्काइएको यो उपकरण कम्पनीले आफ्नै चिप प्रयोग गर्न थालेपछि विस्तारै अप्रासंगिक बन्दै गएको थियो ।

अन्ततः नयाँ प्रविधि र प्रयोगको बदलिँदो शैलीसँगै म्याक प्रोको स्थान म्याक स्टुडियोले लिएको छ । लामो समयसम्म उच्च क्षमताको प्रतीक मानिएको म्याक प्रो अब प्रविधिको इतिहासमा सीमित हुने भएको छ ।

Read More

जापानको नागोयामा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा दिन चार दिने घुम्ती शिविर सञ्चालन हुदै

काठमाडौँ । जापानको नागोया सहरमा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले चार दिने वृहत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

जापानस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा आगामी अप्रिल ४ देखि ७ सम्म शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि प्रत्यक्ष विवरण दर्ता, बालबालिकाको नयाँ राहदानी आवेदन तथा नवीकरण, यात्रा अनुमति पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, जन्मदर्ता लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।

दूतावासका अनुसार राहदानी नवीकरण तथा नयाँ जारीका लागि खोलिएका १६०० सबै समयतालिका भरिइसकेका छन् । आवश्यकताअनुसार थप समयतालिका आज बेलुका ५ बजे खोलिने जानकारी दिइएको छ । यस कार्यका लागि काठमाडौँस्थित राहदानी विभागबाट दुई जना कर्मचारी पनि खटिने कार्यक्रम रहेको छ ।

शिविरमार्फत सङ्कलन गरिएका आवेदनबाट तयार भएका राहदानी तथा अन्य कागजात सेवाग्राहीकै घर ठेगानामा पठाइने व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

Read More

लेखक पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ ।

लेखकका तर्फबाट उनकी श्रीमती यशोदा लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । रिटमा कानुन विपरीत लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

यता आइतबार जिल्ला अदालत काठमाडौँले लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले लेखकलाई शनिबार विहान प्रहरीले पक्राउ गरेको थियो ।

Read More

ओली पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ ।

ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

रिटमा कानुन विपरीत ओलीलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

यता आइतबार जिल्ला अदालत काठमाडौँले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २५ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८६ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घट्यो छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ४७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४७२० मा कारोबार भएको थियो ।

Read More

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

काठमाडौं । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान करिब ६: ४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन् । 

दुर्घटनामा परि ठक्कर दिने बसमा सवार ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले  दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी  संचालनमा ल्याईएको छ ।

Read More