२०८३ बैशाख २५

ओलीको अदालतमा भर्चुअल पेशी हुने

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित हुने भएका छन् ।

शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओली स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित नसक्ने भएपछि भर्चुअल रुपमा उपस्थित गराइने भएको हो ।

त्यस्तै शनिबारनै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई भने जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।

Read More

लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरेको छ । 

नेपाली फुटबल टिम शनिबार नै त्यसतर्फ प्रस्थान गरेपनि एन्फाले आइतबार मात्र टिमको नाम सार्वजनिक गरेको हो । 

एन्फाले किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको छ । नेपाली टिममा किरण कुमार लिम्बु (कप्तान, गोलकिपर), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, क्रितिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा डोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, समित श्रेष्ठ, योगेश धिमाल(गोलकिपर), योगेश गुरुङ र युवराज खड्का रहेका छन् ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका  स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाको यो पहिलो खेल हो । 

नेपाल र लाओसबीचको यो खेल मंगलबार हुदै छ र दुवै छनौट चरणबाट बाहिरिएका छन् ।  

Read More

बालेनले बनाए सल्लाहकारको टिम

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन काठमाडौं महानगरको मेयर रहँदा प्रमुख प्राशासकीय अधिकृत भएर काम गरेका थिए ।

Read More

२४ घण्टामा सबैभन्दा बढी पानी हेटौडामा पर्यो

काठमाडौँ । गएको २४ घण्टामा सबैभन्दा बढी पानी मकवानपुरको हेटौडामा (२८ मिलिमिटर) परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । अहिले पनि झापा, मोरङ, सिन्धुपाल्चोक, नवलपुर लगायतका जिल्लामा हल्का पानी परिरहेको विभागले जनाएको छ ।

विभागले हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा  साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको जनाएको छ । 

केहि स्थानमा  स्थानहरूमा  मेघगर्जन/चट्याङ र हावाहुरी सहित बर्षा हुनसक्ने भएकाले सतर्क रहन बिभागले आग्रह गरेको छ ।

Read More

बंगलादेशमा आइपिएलमाथिको प्रशारण प्रतिबन्ध हट्यो

काठमाडौँ । बंगलादेश सरकारले इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणमा लगाइएको प्रतिबन्ध हटाएको छ । सूचना तथा प्रसारण मन्त्री जहीर उद्दीन स्वापनले खेललाई राजनीतिबाट अलग राख्नुपर्ने भन्दै अब प्रसारणमा कुनै रोक नरहेको स्पष्ट पारेका हुन् ।

उनले लिगको प्रसारणका लागि हालसम्म कुनै टेलिभिजन च्यानलले आवेदन नदिएको पनि बताए । यदि कुनै च्यानलले प्रसारण अनुमति मागेमा त्यसलाई सकारात्मक रूपमा विचार गरिने उनले जानकारी दिए ।

यसअघि बंगलादेशका खेलाडी मुस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले टोलीबाट बाहिर गरेपछि त्यतिबेलाको सरकारले प्रसारणमा प्रतिबन्ध लगाएको थियो ।

युवा तथा खेलकुद राज्यमन्त्री अमीनुल हकले पनि अघिल्लो अन्तरिम सरकारले यस्तो निर्णय गरेको बताएका थिए र नयाँ सरकारले यसबारे पुनः समीक्षा गर्ने संकेत दिएका थिए ।

कोलकाता नाइट राइडर्सले जनवरी ३ मा मुस्तफिजुरलाई टोलीबाट हटाएको थियो । बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको हिंसाको विषयमा चर्किएको विवादबीच उनलाई टोलीबाट हटाउन माग उठेको थियो । त्यसपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले पनि सम्बन्धित टोलीलाई उनलाई बाहिर राख्न निर्देशन दिएको थियो ।

Read More

रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाको तारेखका निम्ति उनी अदालत पुगेका हुन् । 

यसैबीच लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट आज सर्वोच्चमा सुनुवाई हुदैछ । 

सर्वोच्च अदालतमा विहिबार न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा हेर्दा हेर्दैमा राखिएको यो रिटको सुनुवाई आज हुन लागेको हो । आज लामिछाने पक्षका वकिलको बहसपछि जवाफी बहस हुने बताइएको छ ।  

Read More

दिपक खड्कालाई दिइएको पक्राउ पुर्जीमा के छ ?

काठमाडौ । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ । 

आइतबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको थियो ।

गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गरेको सीआइबीले जारी गरेको जरुरी पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ गरिएको उल्लेख छ । खड्कालाई सिआइबीकै हिरासतमा राखिएको छ । 

Read More

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । कर्णाली प्रदेशसभा सातौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।

आइतबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १८ गतेदेखि जारी रहेको सातौँ अधिवेशन आज राती १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिएका छन् ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ८६ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४७२०  मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।

Read More

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन आक्रमण

काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको ड्रोन आक्रमणले रडार प्रणालीमा ठूलो क्षति पुगेको छ । यद्यपि उक्त आक्रमणमा कुनै मानवीय क्षति भएको खबर छैन ।

यसअघि बुधबार पनि विमानस्थलमा ड्रोन आक्रमण भएको थियो, जसका कारण इन्धन ट्याङ्कीमा आगलागी भएको थियो । कुवेतको दमकल विभागका अनुसार करिब ५८ घण्टा लगातार प्रयासपछि मात्र आगो नियन्त्रणमा ल्याइएको थियो ।

यसैबीच इरानले दुबईमा रहेका अमेरिकी सेनाका दुई गोप्य ठेगानामा आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी समाचार माध्यमले जनाएअनुसार हजरत खातम अल-अनबिया मुख्यालयका एक प्रवक्ताले पहिलेको आक्रमणपछि अमेरिकी सैनिकहरू ती स्थानमा सारिएको बताएका छन् ।

प्रवक्ताका अनुसार दुवै स्थानमा गरी ५०० भन्दा बढी अमेरिकी सैनिक रहेका थिए, जसमा एक स्थानमा करिब ४०० र अर्कोमा करिब १०० सैनिक तैनाथ थिए ।

इरानको क्रान्तिकारी गार्डले ती ठेगाना पहिचान गरी लक्षित क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको र ठूलो क्षति पुर्‍याएको दाबी गरिएको छ ।

Read More