२०८३ बैशाख १७

मन्त्री रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग मागिन् सहकारीको बचत फिर्ताको मोडालिटीमा सुझाब

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छन् । 

मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गरेकी हुन् । 

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरेकी छन् । 

मन्त्री रावलले सहकारी समस्या समाधानका लागि छलफल भइरहेको योजनामा सहयोग गर्न आग्रह गरिन । साथै मन्त्रालयले निकट भविष्यमै बचतकर्ताका रकम फिर्ता सुरु गर्न लागेकाले बचत फिर्ताको मोडालिटीका विषयमा समेत राय लिनु भएको छ । 

छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष निलबहादुर सारू मगर सहित सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका थिए । 

मन्त्री रावलसँग छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका पदाधिकारीहरु सहभागी थिए।

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगर सहित सदस्यहरू आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदिपकुमार यादव,कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री, सहनिर्देशक अस्मिता ढकाल सहभागी थिए । 

सरकारले पछिल्लो समय सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सरोकारवालासँग छलफललाई तीव्रता दिएको छ ।  

Read More

चलचित्र ‘चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री अनुबन्धित

काठमाडौं । हास्य विधामा स्थापित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन् । 

निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ ।

यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ । गत आइतबार निर्माण टिमले एक पोस्टरमार्फत प्रशंसालाई फिल्ममा स्वागत गरेको जानकारी  दिएको थियो । 

आशीर्वाद यस चलचित्रमा प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रको औपचारिक घोषणा गत मंगलबार नयाँ वर्ष २०८३ को अवसर पारेर गरिएको थियो । दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन् । चलचित्रको लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन् ।

सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । लेखक कुमार कट्टेलका अनुसार फिल्मको कथा अहिलेकै समयको परिवेशमा आधारित छ । उमेश कुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् ।

‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘परान’ वि.सं. २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो । कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो ।

आशीर्वाद क्षेत्रीको प्रवेशसँगै चलचित्रको कास्टिङ बलियो बनेको छ । चलचित्रको छायांकनका लागि बाँकी कलाकार र प्राविधिक टोलीको छनोट कार्य भइरहेको निर्माण पक्षले जनाएको छ ।

Read More

हामीले उठाएका आशंका क्रमशः सही सावित हुँदैछन्- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका छन् ।

बुधबार च्यासलमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ षड्यन्त्रपूर्ण भएको दोहोर्याउदै सरकारमा छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका हुन् ।

उनले भदौ २४ गते भएको तोडफोड र विध्वंस योजनाबद्ध रूपमा गरिएको बताउदै पार्टीले त्यसबारेको धारणा जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा अहिलेको परिणाम भोग्नुपरेको दाबि गरेका छन् ।

उनले हालको राजनीतिक परिस्थितिमा जनताको जनादेशलाई सम्मान गर्दै विजयी पक्षलाई बधाई दिएको उल्लेख गर्दै सरकारले जनताका भावना अनुसार काम गर्नुपर्ने बताए ।

पोखरेलले सुशासनको विषय उठाउँदै एमालेका नेता–कार्यकर्तामाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले लामो समय सत्तामा रहेका एमाले नेताहरूको मात्र होइन, अहिले सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि जाँचबुझ गर्नुपर्ने धारणा राखे ।

तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीलाई बदनाम गर्न सुनियोजित रूपमा गलत सूचना फैलाइएको महासचिव पोखरेलको दाबि छ । प्रविधिको दुरुपयोगमार्फत जनमत प्रभावित पारिँदा एमाले जनताबाट टाढिएको उनको निष्कर्ष छ ।

Read More

सभामुख अर्याल र अर्थमन्त्री डा. वाग्लेबीच छलफल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदको आगामी बजेट अधिवेशनको कार्यतालिका निर्धारणबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग महत्वपूर्ण छलफल गरेका छन् ।

बुधबार सभामुख अर्यालले बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रारम्भिक छलफल, सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडिएका आवश्यक व्यवस्थाबारे अर्थमन्त्री वाग्लेसँग परामर्श गरेका हुन् ।

आगामी अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यस्तो छलफल गरिएको सभामुखको सचिवालयले बताएको छ ।

Read More

गृहमन्त्रीको राजीनामा बारे प्रचण्डको टिप्पणी- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो’

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

बुधबार पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै प्रचण्डले गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् । उनले भने- ‘उहाँले दिनुभयो, राम्रो गर्नुभयो ।’

अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको साझेदारीको विषयमा प्रश्न उठेपछि गुरुङले आजै राजीनामा दिएका हुन् ।

Read More

रूकुम पश्चिमको विद्यालयमा अनियमितता गर्ने प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको ठहर गर्दै ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसहितका पदाधिकारीले सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याउँदै रकम हिनामिना गरेका हुन् ।

आरोप दायर गरिएकामा विद्यालयका लेखापाल ठक बहादुर बुढाथोकी, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र ऐ. कार्यालयका सूचना प्रविधि अधिकृत गोपाल ओली दाङ तुलसीपुर उप- महानगरपालिका, वडा नं. ६ बस्ने डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वर्ल्ड तुलसीपुर दाङका प्रोप्राइटर शिव प्रसाद श्रेष्ठ रहेका छन् ।

अनुसन्धानबाट आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा सञ्चालनका लागि खरिद गरिएको भनिएका सामग्री विद्यालयमा आपूर्ति नै नगरी करिब ४ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरिएको खुलेको छ । साथै सूचना प्रविधिसम्बन्धी तालिम सञ्चालन नगरी झुट्टा बिल बनाएर थप २ लाख २० हजार रुपैयाँ खर्च देखाइएको पाइएको छ ।

यसैगरी विद्यालयको आन्तरिक आम्दानी तथा विद्यार्थीबाट उठाइएको शुल्कमध्ये ५४ हजारभन्दा बढी रकम बैंकमा दाखिला नगरिएको आरोप छ । अर्को तर्फ बेरुजु फर्छ्यौटका नाममा रकम निकालेर पुनः जम्मा गरी करिब २ लाख १२ हजार रुपैयाँ दुरुपयोग गरिएको र बिना प्रयोजन १ लाख रुपैयाँ निकालिएको पनि भेटिएको छ ।

समग्रमा करिब १० लाख ७५ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना तथा दुरुपयोग भएको निष्कर्षसहित आयोगले सम्बन्धित कर्मचारी र पदाधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Read More

वृद्धि भएको भाडादर विद्युतीय सवारी साधनमा लागु हुदैन- यातायात व्यवस्था विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागले वृद्धि भएको भाडादर विद्युतीय सवारी साधनमा लागु नहुने स्पष्ट गरेको छ ।

विभागले फागुन २५ मा अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरुप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिँदा यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै भएको तर विद्युतीय सवारीसाधनको हकमा उक्त भाडा वृद्धि लागु नहुने स्पष्ट गरेको हो ।

विभागले कुनै कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार-पसार गर्दा माथि उल्लेख भए अनुसार वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो प्राप्त भएको हुँदा विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको बताएको छ ।

साथै यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गर्न निर्देशन दिदै त्यसको विपरित गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९; सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारवाही हुने चेतावनी दिएको छ ।

Read More

निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लाग्छ- प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्ट आन्दोलनको पुनर्गठनको समय आएको बताएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् ।

उनले चुनावको हारबाट आफु निराश नभएको बताउदै आफु नजिक निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लागेको बताए ।

उनले भए- ‘मलाई आजकल निराशाको कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो जस्तो लाग्छ । तपाइँ हामीले सोचे भन्दा छिटो कम्युनिष्टको जन लहर आउनेवालाछ ।’

उनले सरकारको अवस्था देखेको भन्दै एकै उमेर समुहले मात्र चलाउन नसकिने दाबि गरे । उनले नेपो बेबी र नेपो किड्स भनेको पनि देखिएको भन्दै राम्रो दिन छिट्टै आउने बनाए ।

प्रचण्डले जनताले हामीलाई बहिष्कार होइन सबक सिकाएको बताउदै देशका लागि लडेको जनताले नबिर्सिएको बताए ।

उनले आफुहरु गणतन्त्रको लागि नलडेको भए अहिले सरकारमा आउने अवस्था बन्थ्यो भन्दै आफुहरुको योगदान नबिर्सिन सरकारलाई चेतावनी समेत दिएका छन् ।

Read More

नेप्सेमा सामान्य गिरावट, ७ अर्ब ८१ करोडको कारोबार

काठमाडौँ । नेप्से आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, लगानी, उतपादन र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी होटल फरेस्ट इनको शेयर १०.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ४१  करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Read More

गृहमन्त्री सुदन गुरुङको राजीनामा

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् ।

गुरुङले आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि राजीनामा दिएका हुन् ।

उनले राजीनमा दिदै भनेका छन्: 

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z  आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो। 

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।

Read More