२०८३ बैशाख १७

युरोपको लुफ्थान्सा एयरलाइन्सले २० हजार उडान रद्द गर्ने

काठमाडौँ । इरान युद्धपछि इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण युरोपको सबैभन्दा ठूलो विमान सेवा कम्पनी लुफ्थान्साले २० हजार उडान रद्द गर्ने निर्णय गरेको छ ।

कम्पनीले जनाएको अनुसार गर्मीयामको तालिकाअन्तर्गतका छोटो दूरीका उडानहरू कटौती गरिनेछ । युद्ध सुरु भएपछि जेट इन्धनको मूल्य झन्डै दोब्बर भएपछि यस्तो कदम चालिएको हो ।

यस निर्णयबाट कम्पनीको कुल सिट क्षमता करिब १ प्रतिशतले घट्ने अनुमान गरिएको छ । साथै करिब ४० हजार टन जेट इन्धन बचत हुने अपेक्षा गरिएको छ ।

Read More

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २०८२ माघ १९ गते पक्राउ अनुमती प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ । 

Read More

सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुखको छलफल

काठमाडौं । सांसदहरुले कूटनीतिक राहदानीको माग गरेपछि सभामुख डिपी अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

बुधबार सभामुख अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफल गरेका हुन्  ।

बैठक बारे जानकारी दिदै राप्रपाकी सांसद खुस्बु ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग भएकोले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको भन्दै उनले अब आगमी दिनमा यसलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइन ।

Read More

पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।  

पक्राउ मध्ये बिनिताले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ र बेनुले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिनितालाई कीर्तिपुर नगरपालिका-२ बाट र बेनुलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ राधेराधेबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानकारी दियको छ । 

Read More

पहलगाम घटनाको एक बर्षमा मोदीले भने- कुनै पनि प्रकारको आतङ्कवाद अगाडि झुक्दैनौं

काठमाडौँ । पहलगाममा भएको आतङ्कवादी आक्रमणको आज एक वर्ष पूरा भएको छ । उक्त घटनामा ज्यान गुमाएका निर्दोष नागरिकको सम्झनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै सो घटनामा ज्यान गुमाएकालाई कहिल्यै नबिर्सने बताएका छन् । उनले राष्ट्रका रूपमा भारत दुःख र संकल्पका साथ एकजुट रहेको उल्लेख गरेका छन् ।

उनले भारत कुनै पनि प्रकारको आतङ्कवाद अगाडि नझुक्ने स्पष्ट पार्दै आतङ्ककारीका योजनाहरू कहिल्यै सफल नहुने बताएका छन् ।

यसैगरी भारतका गृहमन्त्री अमित शाहले पनि घटनाको एक वर्ष पूरा भएको अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले निर्दोष नागरिक गुमाउनु परेको पीडा अझै पनि प्रत्येक भारतीयको मनमा जीवित रहेको बताएका छन् ।

Read More

प्रलोपा छोडेको सुदन किराँतीको घोषणा

काठमाडौँ । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने गरि छोडेका छन् ।

किराँतीले प्रलोपा छोडेको जानकारी गराएका हुन् । उनले करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्ने नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै 

यस अवधिमा प्राप्त अनुभवहरूलाई अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको उल्लेख गरेका छन् ।

उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको बताउदै उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने बताएका छन् । उनले आफ्नो आगामी बाटो सजिलो नहुने तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने बताएका छन् ।

किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आवद्ध हुने तयारी गरेको बताइएको छ ।

Read More

११४ महिला सहित १५१ ले लिए महानगरको प्राथमिक उपचार तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिममा १५१ जना प्रशिक्षित हुँदा ११४ जना महिला रेहका छन् ।

हरेक वडामा २५ जनालाई तालिम दिने लक्ष्यसहित चैत १५ गतेदेखि थालिएको तालिमअन्तर्गत अहिलेसम्म वडा नं. १, ९, १२, १४, १५ र २६ गरी ६ वटा वडामा सम्पन्न भएको छ । तालिम नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा गरिएको हो । यसका लागि २०८२ चैत ५ गते सम्झौता गरिएको थियो । 

सोसाइटीले ६ वटा वडामा सम्पन्न गरेको तालिमको समीक्षा गरेको छ । यस क्रममा रेडक्रस काठमाडौँका सभापति श्यामकाजी डोटेलले, तालिमका लागि ज्येष्ठ नागरिकहरुको बढी चासो आएको उल्लेख गरे ।

शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले, तालिम प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिँदै यसअघिका तालिमभन्दा यसपटकको तालिम बढी प्रभावकारी रहेको महसुस भएको उल्लेख गरिन् । महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार यो सेवा आपतकाल व्यवस्थापनका लागि उपयोगी हुनेछ । 

समीक्षात्मक वैठकमा प्रशिक्षकहरु राजाराम श्रेष्ठ, पार्वती पुडासैनी, अमृता रिजाल, राजेन्द्र श्रेष्ठले अनुभव सुनाउँदै भने- ‘प्रशिक्षार्थीहरु कसैलाई पनि समयमा आउनु भन्नु परेको छैन । समय नसकिँदै जान कसैले हतार गर्नुहुन्न । धेरै गृहिणी हुनुहुन्छ । कोही पनि घरको काम वितेको छ भनेर हतारिनु हुन्न । जनप्रतिनिधिहरु पनि पूरा समय दिएर सिकिरहनु भएको छ ।’ यो सबैभन्दा सवल पक्ष हो । 

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सिप सिकाइन्छ ।

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटना स्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप विग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ । 

यसमा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ ।

सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

Read More

अमेरिकी सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ । अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्दै नेपाल-अमेरिका साझेदारी थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।

कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्दै द्विपक्षीय सम्बन्ध विस्तार र व्यापारिक सहकार्य बढाउने विषयमा विचार आदान–प्रदान गरेका हुन् ।

भेटका क्रममा उनले आगामी ‘सेलेक्ट यूएसए लगानी सम्मेलन’ मा सहभागी हुने नेपाली टोलीसँग अमेरिकी लगानीका अवसरबारे जानकारी साझा गरेका थिए । साथै, नेपालमा विस्तार हुँदै गएको प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै अमेरिकी र नेपाली निजी क्षेत्रबीच सहकार्यका सम्भावना खोज्ने प्रयास पनि गरिएको जनाइएको छ ।

भ्रमणकै क्रममा कपुरले बौद्धनाथ स्तूप र पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । यी सम्पदास्थल संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको बताइएको छ ।

Read More

साफ महिला फुटबल खेल्ने ३५ जनाको प्रारम्भिक टिमको घोषणा

काठमाडौँ । दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ महिला) का लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ३५ जनाको टिम घोषणा गरेका हुन् । यही वैशाख १४ गतेदेखि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको परिसरमा सुरु हुने तय गरिएको छ ।

प्रतियोगिता जेठ ११ देखि जेठ २४ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा बारम्बार उपविजेता बन्दै आएको नेपाल यसपटक प्रशिक्षक न्यौपानेको नेतृत्वमा पहिलो उपाधि जित्ने लक्ष्यमा रहनेछ ।

प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, बिमला बीके, बिमला चौधरी, बिर्सना चौधरी, दीपाशाही, गीता राना, हीरा भुजेल, जेनिफर राना, मानमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा ठोकर, पूनम छेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सारु लिम्बु, सिलु परियार, सुकृया मिया, सुशीला कुमारी र उषा नाथ रहेका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५१६० मा कारोबार भएको थियो ।

Read More