२०८३ बैशाख १७

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बादल  लाग्नेछ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

आज राती कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ बैशाख ९ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ९ गते बुधबार ईस २०२६ अप्रल २२ नेपाल सम्बत ११४६ वछलाथ्व षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष षष्ठी, चन्द्रमा मिथुन राशिमा, आर्द्रा नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज विश्व पृथ्वी दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । आमा र नातागोताको सम्झना भइरहने समय हो, घरायसी समस्याले पनि बारबार मन बिथोलिन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह )

पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

सामान्य भनाभनमा ठूलै झगडापर्ने दिन छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससित नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । पेसागत र व्यवसायिक जीवन सन्तोषजनक रहनेछ । सानोतिनो यात्राको योजना बन्नेछ, आज नयाँ सृजना र परिवर्तनका लागि मष्तिष्क सक्रिय रहने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । कला वा सिर्जनासँग सम्बन्धित कामबाट प्रतिष्ठा र सम्मान पाउने दिन हो, धर्म र अध्यात्मतर्फ पनि मनको आकर्षण रहनेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो, तर आज बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । घरपरिवारबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिस्पर्द्धा, खेल र तर्कमा सहभागी हुने दिन हो, झैझगडा, विवाद र प्रतियोगितामा पनि जीत हुनेछ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ ।

Read More

गगन-प्रचण्ड भेटवार्ता: समसामयिक मुद्दामा केन्द्रित गोप्य छलफल

काठमाडौँ । नेपाली राजनीतिक वृत्तमा नयाँ हलचल पैदा गर्नेगरी नेपाली कांग्रेसका सभापती गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच मंगलबार दिउँसो भेटवार्ता भएको छ। प्रतिनिधिसभा निर्वाचनपछि दुई शीर्ष नेताबीच भएको यो पहिलो औपचारिक संवाद हो ।

भेट प्रचण्ड निवासमा भएको थियो, जहाँ समसामयिक राजनीतिक परिस्थिति केन्द्रित छलफल भएको स्रोतले जनाएको छ। यद्यपि, भेटको एजेन्डाबारे औपचारिक रूपमा विस्तृत खुलासा गरिएको छैन ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे ले भेटको पुष्टि गर्दै “समसामयिक विषयमा सामान्य कुराकानी” भएको बताएका छन्। उनले थप विवरण दिन भने चाहेनन्, जसले भेटलाई अझ अर्थपूर्ण र रणनीतिक बनाएको आकलन गरिएको छ।

शीर्ष तहमा भएको यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अबको केही दिनमा यसको प्रभाव राजनीतिक घटनाक्रममा देखिने अनुमान गरिएको छ।

Read More

युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित

काठमाडौँ । नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ ।

युएईले दिएको १२९ रनको लक्ष्य पछाएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित ५७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २३ र कुशल मल्लले १९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाउदै १२८ रन बनाएको थियो । युएईका लागि आकाशदीप नाथले अविजित ५३ रन बनाए भने मुहमद अरफानले ३२ र अडीब उस्मानीले ३० रन बनाए ।  त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ तथा नन्दन यादव र सहाब आलमले एक एक विकेट लिए । 

नेपालको यो जितसँगै २ खेलको सिरिज १-१ ले बराबरी भएको छ । यसअघि सोमबार सम्पन्न पहिलो खेल युएईले जितेको थियो ।

Read More

इरानसँग ठुलो सहमति हुनसक्छ- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच छिट्टै ठूलो सहमति हुन सक्ने बताएका छन् ।

एक अन्तर्वार्तामा उनले यस्तो सहमति भए केही सातादेखि जारी तनाव र द्वन्द्व अन्त्य हुन सक्ने दाबी गरेका हुन् । उनले भने- ‘हामी ठूलो सहमति गर्नेछौँ, उनीहरूसँग विकल्प छैन ।’

ट्रम्पले अमेरिका द्वारा इरानको नौसैनिक तथा वायु शक्तिमा ठूलो क्षति पुर्‍याइएको र त्यसले इरानको सैन्य क्षमता कमजोर भएको दाबी पनि गरेका छन् ।

उनले इरानमा सत्ता परिवर्तनसमेत भइसकेको दाबी गर्दै आफूले प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा त्यस्तो परिवर्तन गराएको बताएका छन् ।

Read More

सभामुखलाई बुझाइयो प्रतिनिधिसभा नियमावलीको मस्यौदा

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ । 

मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् । नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए । नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यस्तै मस्यौदा समितिका सभापति पराजुलीले समयमा नै कानुन बनाएर जनतालाई न्यायको सुनिश्चितता गर्ने, सुशासनको प्रत्याभूति गराउन सक्ने गरि नयाँ नियमावली तयार गरिएको बताए । 

नयाँ नियमावली बनाउन चैत्र २३ गते बसेको प्रतिनिधिसभा बैठकले रास्वपा सांसद पराजुलीको संयोजकत्वमा १५ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । 

Read More

अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अमेरिकाको मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरले भेटवार्ता गरेका छन् । 

मंगलबार भएको भेटवार्तामा नेपालको व्यापार वातावरण सुधार र अमेरिकी कम्पनीहरू भित्र्याउने विषयमा महत्वपूर्ण छलफल भएको बताएका बताइएको छ ।

सहायक विदेशमन्त्री कपूरले दुवै पक्षबीच व्यापारिक सम्बन्ध अझ नजिक बनाउने विषयमा सहमति बनेको छ । यसबाट नेपालको यातायात, ऊर्जा तथा डिजिटल पूर्वाधार क्षेत्रमा सुधार भई आर्थिक वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

कपुरले यस्तो सहकार्यले नेपाल र अमेरिका दुवै देशलाई लाभ पुग्ने बताएका छन् ।

Read More

योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायलाई खारेज होइन सुदृढ बनाउने हो- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बैसाख ८ गते आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताए । 

नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उनले भने- ‘विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाह छ। हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ।”

 प्रधानमन्त्री शाहले कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिए । “कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ, यो तथ्यलाई आत्मसात् गरेर अघि बढ्नुस्,” उनले भने ।

मन्त्रालयहरूबिच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै उनले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताए । साथै, बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न समेत उहाँले सचेत गराए । “प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ। पुराना नीति र ऐनकै भरमा ५० वर्षसम्म काम त चलाउन सकिएला तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन,” प्रधानमन्त्रीको कथन थियो ।

सो अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताए । उनले विज्ञहरूको ज्ञानलाई सरकारी नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिए । स्पष्ट लक्ष्य, पर्याप्त बजेट, तोकिएको जिम्मेवारी र मापनयोग्य परिणामसहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमार्फत ल्याउनुपर्नेमा उनको विशेष जोड थियो।

अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रासङ्गिक प्रावधानहरूको खारेजी र नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिए । उनले नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गर्ने रणनीतिबारे समेत चर्चा गरे ।

 छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्रीसमक्ष बिफ्रिङ गरेका थिए । प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन–अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको मागसमेत गरे । प्रधानमन्त्रीसँगको यस प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको उनीहरूले भनाई छ ।

Read More

समस्याग्रस्त सहकारीका ऋणलाई १५ दिन भित्र ऋण चुक्ता गर्न सूचना जारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट  ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको छ । 

ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्का देखि धितो लिलाम गर्ने जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय) बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त

घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।’ 

साथै १५ दिन भित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ । साथै सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख गरिएको छ । 

सूचनामा भनिएको छ, ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिंदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने छ।’  

आज मात्रै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । मङ्गलवार को मन्त्रिपरिषद्को बैठकले  अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो । 

मन्त्रालयले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि चरणबद्ध रुपमा प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्तालाई तीव्रता दिने मन्त्रालयको तयारी रहेको छ ।

Read More

पुरातत्वका तत्कालीन वरिष्ठ डिभिजनल इन्जिनियरसहित दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन वरिष्ठ डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठसहित दुई जनाविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार श्रेष्ठले निर्माण सेवा सञ्चालन गर्ने व्यवसायी तथा सम्बन्धित संयुक्त उपक्रमहरूबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएका थिए । त्यसपछि सोही रकम प्रयोग गरी देउकला अधिकारी र श्रेष्ठको संयुक्त नाममा विभिन्न सम्पत्ति खरिद गरिएको पाइएको छ ।

अनुसन्धानका क्रममा पुरातत्व विभागले गरेका ठेक्का सम्झौतामध्ये करिब ६४ करोड २१ लाख रुपैयाँ बराबरका काममा श्रेष्ठ संलग्न रहेको खुलेको छ । ती ठेक्कामा सहजीकरण गरिदिने नाममा उनले घुस माग्ने र लिने गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

घुसबापत संकलित करिब ४ करोड २२ लाख ७५ हजार रुपैयाँ विभिन्न मितिमा देउकला अधिकारीको खातामा जम्मा गरिएको र त्यस रकमबाट जग्गा खरिद, सुन खरिद तथा अन्य व्यक्तिलाई भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको छ ।

आयोगले गैरकानुनी रूपमा आर्जित रकमको स्रोत लुकाउन तथा रूपान्तरण गर्न दुवै जनाले मिलेमतोमा काम गरेको ठहर गर्दै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण दुवै कसुरमा कारबाहीको माग गरेको छ ।

Read More