२०८३ बैशाख १८

केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

काठमाडौं । पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् ।

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।

अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर यो चलचित्र निर्माणको घोषणा गरेकी थिइन् । निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ । पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्रीहरू देखिन्छन् । यसले चलचित्र सोसल ड्रामामा आधारित रहने संकेत गरेको छ ।

२०८१ सालको सफल चलचित्र ‘बोक्सीको घर’ पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छिन् । केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि स्वयं भारतीकै रहेको छ । चलचित्रका निर्माता बद्री अधिकारी हुन् ।

चलचित्रको मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन । ‘स्टेशन’मा कुन-कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ कौतुहलता कायम राखेको छ ।

केकी आफैं चलचित्रमा देखिनेछिन् वा निर्मात्रीको रुपमा मात्र रहनेछिन् भन्ने विषय पनि अझै प्रस्ट भइसकेको छैन । तेस्रो सातादेखि छायाकंन सुरु गरिने तयारीमा रहेको यो चलचित्र आगामी भदौ १९ गते देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

‘बोक्सीको घर’ जस्तो सामाजिक र गम्भीर विषयवस्तुलाई दर्शकले रुचाएका कारण केकीको यो नयाँ प्रोजेक्ट ‘स्टेशन’लाई पनि निकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

Read More

युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

काठमाडौं । अध्यागमन विभागले युएई जाने नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गर्ने  दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन् । उनीहरुमाथि आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ ।

विभागले भनेको छ- ‘अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited. Visit till १० / ६ / २०२६’ लेखेको विषयमा मिति २०८२। १। ३ को निर्णयबाट छानविन समिति गठन गरिएको व्यहोरा अवगत नै छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ।’

अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सरलीकृत र व्यवस्थित मापदण्ड बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

यस अगाडि विज्ञप्तिमा भनिएको थियो, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’

Read More

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका- ८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् । 

पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ । 

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

आरोपभन्दा प्रमाण बलियो हुन्छ, अनुसन्धानमा पूर्ण सहयोग गर्छु: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि उठिरहेका विभिन्न आरोपप्रति प्रतिक्रिया दिँदै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानमा पूर्ण साथ दिने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले पार्टीको निर्णयलाई सम्मान गर्दै आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

पछिल्ला दिनहरूमा आफ्नो नाम जोडेर विभिन्न चर्चा र आरोपहरू फैलिएको उल्लेख गर्दै उनले तथ्य र हल्लाबीच छुट्याउन आग्रह गरेका छन्। विशेषगरी २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने आरोपलाई उनले निराधार भन्दै खारेज गरेका छन्। उनका अनुसार आफ्ना सबै लगानीहरू सम्पत्ति विवरणमै उल्लेख गरिएका छन्।

गुरुङले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमा दुई करोड रुपैयाँभन्दा बढी लगानी खुलाइसकेको जानकारी दिए। स्टार माइक्रो र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही दायराभित्र पर्ने बताउँदै उनले यो ‘लुकाउने’ नभई ‘वर्गीकरण’ को विषय भएको स्पष्ट पारे।

उनले मन्त्री बन्नुअघि सेयर खरिद गर्नु गैरकानुनी नभएको जिकिर गर्दै सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गरिएको बताए। लगानीका लागि लिइएको कर्जा सम्बन्धी सम्पूर्ण कागजात र बैंक रेकर्ड उपलब्ध रहेको उनको भनाइ छ।

विवादित व्यक्तिसँग साझेदारी गरेको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर खरिद गर्नु सबैसँग साझेदारी गर्नु जस्तो नहुने बताए। यस्तो आरोप आधारहीन भएको उनको दाबी छ।

‘स्वार्थको द्वन्द्व’ सम्बन्धी विषयमा भने सम्बन्धित निकायबाट छानबिन भइरहेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको उनले प्रष्ट्याए।

गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछिका घटनालाई आधार बनाएर अघिका निर्णयलाई दोष दिनु उपयुक्त नहुने बताए। कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिन नहुनेमा पनि उनले जोड दिएका छन्।

अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको भन्दै कुनै पनि निर्णय प्रमाणका आधारमा हुनुपर्ने धारणा राखे। साथै, अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

Read More

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

काठमाडौँ । इरानमा जासुसी र तोडफोडको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । इरानी समाचार एजेन्सीका अनुसार उनीहरूलाई आज बिहान फाँसी दिइएको हो ।

समाचारअनुसार ती व्यक्ति इस्रायली गुप्तचर निकायसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहरिएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थान पहिचान तथा विस्फोटक पदार्थ तयार गर्ने तालिम लिएको उल्लेख गरिएको छ ।

आरोपीहरूले सैनिक तथा सार्वजनिक स्थलमा आगजनी गर्ने योजना बनाएको र आफ्ना गतिविधिका भिडियो क्रिप्टोमार्फत पारिश्रमिक लिएर पठाउने गरेको आरोपसमेत लगाइएको छ ।

सम्बन्धित सञ्जाललाई सुरक्षा निगरानीमा राखिएको अवस्थामा तेहरानका सार्वजनिक सेवा र सैनिक केन्द्रमा आक्रमण गर्ने नयाँ जिम्मेवारी दिइएको पाइएको जनाइएको छ । उनीहरूलाई आक्रमणका लागि विस्फोटक प्रयोग, प्रहार बिन्दु छनोट र दृश्य खिच्ने तरिकाबारे समेत तालिम दिइएको बताइएको छ ।

Read More

गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङ बारे उठेका प्रश्नको छानबिन गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै गृहमन्त्री गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेका हुन् । 

काँग्रेसले यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने चेतावनी समेत दिएको छ ।

कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख गर्दै पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको बताएको छ ।

पछिल्लो पटक गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको बताउदै यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएको उल्लेख छ । 

काँग्रेसले विज्ञप्तिमा अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने बताएको छ ।

गृहमन्त्री गुरुङको सम्पत्ति र लगानीका विषयमा प्रश्न उठेपछि अहिले सरकार र रास्वपालाई चौतर्फी दबाब बढ्दै गएको छ ।

गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणसँगै उनको सेयर बजारमा लगानी र हाल सम्पत्ति शुद्धिकरण मुद्धामा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवसायिक सम्बन्धबारे एक पछि अर्को खुलासा हुन थालेपछि मन्त्री गुरुङ दबाबमा आएका छन् ।

Read More

बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

राम नाम सत्यले २ करोड ७८ लाख १८ हजार ८४१ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल ९७ हजार २०५ टिकट विक्री भएको छ ।  राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले ४६ लाख ७६ हजार ६३७ कमाई गरेको छ । पहाडको कुल १४ हजार ३१८ टिकट बिक्री भएको छ ।

Read More

योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुसारको अनुरूपको व्यवहार गरेका छौ ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद अनुरुपको व्यबहार गरे नगरेको प्रश्न उठेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन बैशाख ९ गते बहस गर्ने विषयहरु सार्बजनिक गर्दै नेता भट्टराईले  पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथी पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परिक्षामा रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई सहि अर्थमा बुझेका छौं ? भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्- ‘उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक संघर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसंग छ । तर प्रश्न छ के हामीले जबजलाई सहि अर्थमा बुझेका छौ? सोही अनुरूपको व्यवहार गरेका छौ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौ? यसमा नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो? पार्टी र आन्दोलनको पुनर्जागरण र पुन:उत्थानको मार्ग के हो? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गंभीर बहस गरौ ।’ 

वैशाख ९ लाई कम्युनिष्ट आन्दोलनका लागि गम्भीर बहस गर्ने दिनका रूपमा लिनुपर्ने बताएका छन् । नेकपा स्थापना दिवसको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भट्टराईका अनुसार विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ लगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । स्थापना भएको ७६ वर्ष पूरा भई अब ७७औँ वर्षमा प्रवेश गर्न लागेको उल्लेख गरिएको छ ।

उनले पार्टीले यस अवधिमा फुट, विभाजन, एकता र पुनर्गठनका विभिन्न चरण पार गरेको उल्लेख गर्दै सफलतादेखि असफलतासम्मका अनुभव बटुलेको बताएका छन् । साथै पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताले बनाएको विरासत जोगाउने चुनौती वर्तमान नेतृत्वसामु रहेको उनको भनाइ छ ।

भट्टराईले जनताको बहुदलीय जनवादको व्यवहारिक प्रयोग, पछिल्लो निर्वाचनमा आएको धक्का, नीति, नेतृत्व, संगठन र कार्यशैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् । उनले जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्दै पार्टी पुनर्जागरणको मार्ग खोज्नुपर्नेमा जोड दिएका छन् ।

यस अवसरमा उनले वैशाख ९ गते अपराह्न २ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई बहस तथा छलफलमा सहभागी हुन आह्वान गरेका छन् । साथै राजधानी बाहिर रहेका नेता–कार्यकर्तालाई पनि तोकिएको स्थानमा भेला भएर छलफल गर्न आग्रह गरेका छन् ।

Read More

कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्कासनको बाँडफाँड आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको टेकुस्थित कार्यालयमा सोमबार बिहान बाँडफाँड गरिएको हो ।

कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीको कुल जारी पूँजी ५५ करोड रुपैयाँ रहेकोमा २५ प्रतिशत अर्थात १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यसमा दोलखा जिल्लाका प्रभावित स्थानीयका लागि ५ लाख ५० हजार कित्ता, सर्वसाधारणका लागि ८ लाख २५ हजार कित्ता सेयर छुट्याइएको थियो । सर्वसाधारणतर्फको सेयरमध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी ६ लाख ८४ हजार ७५० कित्ता खुला गरिएको थियो ।

सेयरमा २६ लाख ३५ हजार ६३४ जनाबाट आवेदन परेको थियो, जसमा २ करोड ९१ लाखभन्दा बढी कित्ताका लागि माग गरिएको थियो । यसमध्ये ४२ हजार ४३६ आवेदन अयोग्य ठहरिएका छन् । बाँडफाँड अनुसार गोलाप्रथाबाट ६८ हजार ४७५ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् ।

आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ । 

Read More

धनराज गुरुङ भन्छन्- पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ !

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले पार्टी छोड्नु ठुलो भूल हुने बताएका छन् ।

पार्टीभित्र एकता कायम गर्न आग्रह गर्दै अहिलेको अवस्थामा पार्टी छोड्नु ठुलो भूल हुने बताएका हुन् ।  उनले भनेका छन्- ‘हामीले यही पार्टीमा रहेर रगत बगायौं, कठिनतम् जीवन बितायौं। आफ्नै रगत र पसिनाले सिंचेको पार्टी परित्याग गर्नु जीवनमा ठूलो भूल हुनेछ। तसर्थ यस्तो भूल नगर्न र पार्टीमै रहेर पार्टी प्रति थप योगदान पु-याउनका लागी हार्दिक अनुरोध गर्दछु ।’

उनले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको अवस्थामा त्यसलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् ।

गुरुङले हालै पूर्व केन्द्रीय नेताहरूबीच छलफल गरेर अदालतको फैसला मान्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् । 

गुरुङले विशेष महाधिवेशनबाट निर्वाचित सभापति तथा पदाधिकारीलाई बधाई दिँदै सबैलाई एकताबद्ध भएर पार्टीको हितमा लाग्न आह्वान गरेका छन् ।

Read More