२०८३ जेष्ठ २

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २७०० मा कारोबार भएको थियो । 

Read More

एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति

काठमाडौँ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नेकपा एमालेका देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जानकारी दिएको छ । 

नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीले आन्तरिक रुपमा संकलन गरेको विवरण सार्बजनिक गर्दै यस बारे जानकारी दिएका छन् ।

आन्दोलनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेललगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए ।

महासचिव पोखरेलले जानकारी दिदै भनेका छन्- ‘प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ । त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ । अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ । आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेका छन् । राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्तैछ ।

आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।

Read More

तुईन खोलाको पहिरो हटाउने कार्य जारी

काठमाडौँ । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोलाको पुल नजिकै पहिरो हटाउने कार्य विहानदेखि शुरु भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराति ठुलो बर्षा भएपछि रोकिएको पहिरो पन्छाउने काम विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको छ । हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनले जनाएको छ । लिमिट स्पेसको कारणले धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न नसकिएको जानकारी दिएको छ ।

सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजनले आज साँझसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।

Read More

गाजामा इजरायलको लगातार आक्रमण, पछिल्लो हमलामा ८० भन्दा बढीको मृत्यु

काठमाडौँ । गाजा पट्टीमा इजरायलको पछिल्लो आक्रमणमा धेरै जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालहरूले इजरायली गोलीबारीबाट ८० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको बताएका छन्।

आपतकालीन कामदारहरूका अनुसार गाजा शहरको दराज क्षेत्रको फिरास बजार नजिकै घरबारविहीन परिवारहरूको लागि बनाइएको भवन र पालहरूमा रातभर गरिएको आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा २० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले दुई हमास लडाकुहरूलाई निशाना बनाएको बताएको छ । सेनाले मृत्यु हुनेको संख्या आफ्नो जानकारीसँग मेल नखाने पनि बताएको छ ।

यसैबीच, इजरायली ट्याङ्क र सेनाहरू शहरको भित्री भागमा अगाडि बढ्न जारी राखे, जुन इजरायलले हमासको अन्तिम गढ भएको दाबी गरेको छ ।

इजरायली सेनाले जमिनको कारबाही हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने र प्यालेस्टिनी सशस्त्र समूहको निर्णायक पराजय सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ ।

Read More

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रजातान्त्रिक विधिबाट चुनिएको केपी शर्मा ओलीको सरकार जेनजी आन्दोलनबाट अपदस्थ भएपछि गत भदौ २७ मा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले बेलुकी ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो। भदौ २३ र २४ को जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ मा निर्वाचनको घोषणा गरेको छ।हालसम्म कार्कीले तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् भने अझै धेरै मन्त्रालयमा मन्त्री पद रिक्त छन्।

Read More

मधेश प्रदेशका मुख्यमन्त्री सिंह अल्पमतमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह अल्पमतमा परेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह अल्पमतमा परेका हुन् । बुधबार कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

कांग्रेसले समर्थन फिर्ता लिएपछि मधेश सरकारलाई अहिले एमालेका २४, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७ र मुख्यमन्त्री सतीशकुमार सिंह गरी ३२ सांसदको मात्र समर्थन छ । मुख्यमन्त्री सिंहको जनमत पार्टीले पनि आफ्नै दलको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेस सभामा बुझाइसकेको छ । मंगलबारको प्रदेशसभा बैठकमा पनि मुख्यमन्त्री सिंहबाहेक जनमतका सबै सांसद विपक्षी बेञ्चमा बसेका थिए ।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको विपक्षमा ७२ सांसद देखिएका छन् । जसमा कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, जनमतका १२, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको एक-एक गरी ७२ सांसद विपक्षमा छन् । सरकार अल्पमतमा परेपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुनः सरकारको प्रक्रिया अगाडि बढ्ने भएको छ ।

राजीनामा दिन अस्वीकार गर्दै आएका र विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सिंहको रणनीतिमा कांग्रेसले समर्थन फिर्ता लिएपछि धक्का पुगेको छ । 

नयाँ परिस्थितिमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा जुटेको छ भने एमाले र लोस्पा पनि सरकारको नेतृत्व गर्ने गरि गठबन्धन बनाउन जुटेको छ ।

Read More

पाकिस्तानमा १७ वर्षीय युवालाई १०० वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानमा १७ वर्षीय जैन अलीलाई आफ्नी आमा, एक भाइ र दुई दिदी बहिनीको हत्या गरेको आरोपमा १०० वर्षको जेल सजाय सुनाएको छ ।

लाहोरको एक स्थानीय अदालतले बुधबार चार हत्याकाण्डका प्रत्येक अभियोगमा २५ वर्षको सजाय सुनाएको छ, जुन एकैसाथ चल्नेछ। उनलाई ४० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि गरिएको छ ।

यो घटना २०२२ मा भएको थियो, जब जैन केवल १४ वर्षका थिए र पबजीका कट्टर प्रशंसक थिए । उनले आफ्नो धेरैजसो समय आफ्नो कोठामा अनलाइन गेम खेल्दै बिताउँथे र आफ्नो लक्ष्य हासिल गर्न असफल भएमा रिसाउने गर्थे । उनकी आमा, नाहिद मुबारक, खेलमा समय बर्बाद गरेकोमा उनलाई प्रायः गाली गर्थिन्, जसले जैनको रिसलाई अझ बढायो ।

खेलमा आफ्नो लक्ष्य हासिल गर्न असफल भएपछि रिसाएको जैनले आफ्नी आमाको पेस्तोलले गोली हानेका थिए भने त्यसपछि उनले आफ्नो जेठो भाइ तैमुर र दुई दिदीबहिनी, महनूर र जन्नतलाई गोली हानी हत्या गरेका थिए ।

अदालतले जैनलाई उनको कम उमेरको कारण मृत्युदण्डको सजायबाट बचाएको छ र चार हत्याकाण्डमा चार आजीवन कारावासको सजाय तोकेको छ । हत्या पछि, जैनले पेस्तोल नजिकैको नालीमा फ्याँके र पछि आफ्नो अपराध स्वीकार गरेका थिए । घटनाले पाकिस्तानभर सनसनी मच्चाएको थियो । प्रहरीले किशोरको हिंसात्मक व्यवहार र गेमिङको लत मुख्य कारण भएको बताएको छ । विज्ञहरूले यो मुद्दाले किशोरकिशोरीहरूमा डिजिटल गेमिङ लत र मानसिक स्वास्थ्यको बारेमा जागरूकता जगाउने आवश्यकतालाई प्रकाश पारेको बताए । परिवार र समाजलाई युवाहरूको मनोरञ्जन र मानसिक सन्तुलनमा ध्यान दिन सल्लाह दिइएको छ ।

Read More

मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले न्यूयोर्क सिटीविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने भने बाल्टासार रोड्रीगेज र लुइस स्वरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामी लिगको इस्टर्न कन्फेरेन्समा २९ खेलमा ५५ अंक रहेको इन्टर मिलान लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूयोर्क सिटीको ३१ खेलमा ५३ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

Read More

रास्वपाको केन्द्रीय समिति बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा नक्खु कारागारको घटना छानबिन गर्न, जेनजी उमेर समूहका युवाहरुसँग आवश्यक संवाद गर्न र फागुन २१ गते हुन गइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न समिति गठन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्  । 

रास्वपाले नख्खु कारागारलगायत अन्य केही स्थानमा भएका घटनामा पार्टी सदस्यको सम्भावित संलग्नता भए नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । त्यस्तै जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रवक्ता झाका अनुसार फागुन २१ गते हुनगइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने निर्णय गरेकोछ  ।  

रास्वपाको केन्द्रीय समितिका निर्णयहरु: 

राष्ट्रिय स्वतन्त्र पार्टीको असोज ७ र ८ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिसँग सम्बन्धित केन्द्रीय सदस्यहरुले राख्नुभएका मौखिक धारणाहरु एवं लिखित प्रस्तावहरुमाथि वृहत् छलफल पश्चात् देहायका निर्णयहरु गरिएको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ । 

१. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने । उक्त विस्तारित बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका विषयमा समेत छलफल गर्ने । 

२. भदौ २४ गते नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरुमा पार्टी सदस्यहरुको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने ।

३. भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई  राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने । 

४. वि सं २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न  सरकारलाई दबाब दिने ।

५. जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने ।

६. जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य श्री पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने ।

७. फागुन २१ गते हुनगइरहेको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने ।

Read More

भारतको जीएसटी कटौतीको सकारात्मक असर, एकै दिन बिक्री भए ५१ हजार कार

काठमाडौँ । भारतमा सेप्टेम्बर २२ मा लागू भएको नयाँ जीएसटी करको सकारात्मक असर देखिन थालेको छ । विशेष गरि अटोमोबाइल क्षेत्रमा कारको मूल्य चार वर्ष अघिको स्तरमा पुगेपछि कम्पनिहरुले धमाधम कार बिक्री गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

जीएसटीको नयाँ दर लागु भएको पहिलो दिन शीर्ष तीन अटोमोबाइल कम्पनीहरू मारुती, हुन्डाई र टाटा मोटर्सले नवरात्रिको पहिलो दिन ५१ हजारभन्दा बढी कार बिक्री गरेको रिपोर्टमा उल्लेख छ । थप रूपमा, कम्पनीहरूले १० प्रतिशतभन्दा बढीको उत्सव छुट प्रदान गरेपछि कारको मुल्यमा कमि आएको र उपभोक्तालाई आकर्षित गर्न सफल भएका छन् ।

मारुतीले ३० वर्षको बिक्री रेकर्ड तोड्यो
सेप्टेम्बर २२ मा मारुतीले लगभग ३० हजार कार बिक्री गरेको छ भने ८० हजारले सवारी साधनको विवरणको बारेमा सोधपुछ गरेको कम्पनिले जनाएको छ । कम्पनीका अनुसार यो पछिल्लो ३० वर्षमा सबैभन्दा राम्रो प्रतिक्रिया हो । साना कारको मूल्य १०-१५ प्रतिशतले सस्तो भएको छ, जसले मध्यमवर्गीय परिवारहरूलाई शोरूम सम्म ल्याएको धेरैको बुझाई रहेको छ ।

हुन्डाईले ५ वर्षको बिक्री रेकर्ड तोड्यो
नवरात्रिको पहिलो दिन हुन्डाईले लगभग ११ हजार कार बेचेको छ, जुन पछिल्लो पाँच वर्षमा यसको एकल-दिनको रेकर्ड हो । कम्पनीका अनुसार, ग्रान्ड आई १० निओस र क्रेटाको माग सबैभन्दा बढी देखिएको थियो ।

टाटाले पहिलो पटक एकै दिनमा १० हजार कार डेलिभर गर्‍यो
टाटाले पहिलो पटक एकै दिनमा १० हजारभन्दा बढी कार डेलिभर गरेको बताएको छ । नेक्सन र पन्च जस्ता एसयूभी मोडेलहरूको माग सबैभन्दा बढी देखिएको थियो । टाटाका प्रवक्ताले यो सुरुवात मात्र भएको र आगामी दिनहरूमा बिक्री अझ बढ्ने बताए ।

जाटो डाइनामिक्सको विश्लेषण अनुसार, गत महिना अगस्टमा सवारी साधनहरूमा औसत छुट ९.३ प्रतिशतले बढेर ४५ हजार ३९१ भारु पुगेको छ, जुन गत वर्षको अगस्टमा ४१ हजार ५१४ भारु रहेको थियो । यसको अर्थ कार कम्पनीहरूले गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशत बढी छुट दिइरहेका छन् ।

ह्याचब्याक सवारी साधनहरूमा छुट १०२ प्रतिशतले बढेको छ । यसले ह्याचब्याक खण्डमा तीव्र प्रतिस्पर्धालाई संकेत गर्छ, जसले गर्दा निर्माताहरूले बढी छुट प्रस्ताव गरिरहेका छन् । यसको विपरीत, सेडान, एसयूभी र एमपीभीहरूमा दिइने औसत छुटमा गिरावट आएको छ । सेडानहरूले प्रोत्साहनमा ४१.७ प्रतिशतके कमी देखिएको छ ।
भारतीय कम्पनीहरूले चार कारणले कारमा उच्च छुट प्रदान गरिरहेको विश्लेषण गरिएको छ ।

पहिलो, नवरात्रले चाडपर्वको मौसमको सुरुवातलाई संकेत गर्छ र यी नौ दिनहरूमा कार किन्नु शुभ मानिन्छ । दोस्रो, यस वर्ष जनवरीदेखि जुनसम्म २२ लाख सवारी साधन बिक्री भएका थिए । बिक्री केवल १.४ प्रतिशतले बढेको छ भने कम्पनीहरू बिक्री बढाउन दबाबमा छन् ।

तेस्रो अगस्टमा, कम्पनीहरूसँग ५६ दिनको इन्भेन्टरी थियो, जबकि २१ दिनको इन्भेन्टरी उद्योगको लागि आदर्श मानिन्छ । त्यस कारणले पनि कम्पनिहरुले धेरै छुट दिएर कार बिक्री गरिरहेका छन् । 

चौथो, पेट्रोल सवारी साधनहरूमा छुट १४ प्रतिशतले बढाएर ४४ हजार ७३३ भारु र डिजेल सवारी साधनहरूमा ३२.५ प्रतिशतले घटाएर ४५ हजार ८८७ मा पुर्‍याइएको छ ।

Read More