२०८३ जेष्ठ २

बालेन भन्छन्: तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ

काठमाडौँ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् ।  

तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको र अहिलेसम्म यो पार्कको निर्माणको करिब आधा काम पूरा भइसकेको बालेनले बताएका छन् । उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएर, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको उनले बताएका छन् । 

बालेनले भनेका छन्- 
मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको शहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ। सुरुमै बजेट छुट्याइएको थियो काठमाडौ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधन पछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।

तर काठमाडौं–५ का वडा अध्यक्षज्यू बिरेन्द्र प्रजापति  र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाहरुको अग्रसरतामा सोही अन्ततः २०८१/ २/२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।

यो पार्क केवल खेल्ने ठाउँ मात्र होइन, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको छ। अहिले निर्माण करिब ५०% पूरा भइसकेको छ ।

प्रमुख संरचनाहरू:  अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित), बालबालिकाको खेलमैदान,  ओपन जिम, ट्वाइलेट ब्लक र भलिबल कोर्ट ।

Read More

अल्भारेजको ह्याट्रिकमा एटलेटिको विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रायो भल्लेकानोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरेका थिए । उनले खेलको १५औं, ८०औं र ८८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रायो भल्लेकानोकालागि पेप चाभारिया र अल्भारो ग्रासिया रिभेराले एक एक गोल गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको ६ खेलमा ९ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको ६ खेलमा ५ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

Read More

सरकारले फेर्यो काठमाडौंका प्रमुख जिल्ला अधिकारी

काठमाडौं । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । 

प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रिजालमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको आरोप थियो ।

सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेका काठमाडौंको प्रहरी प्रमुख पनि फेरेको थियो । 

यसअघि सरकारले मंगलबार एकैपटक गृह सचिव गोकर्णमणि दुवाडीको समेत सरुवा गरेको थियो ।

Read More

आज विश्व फार्मासिस्ट दिवस मनाइदै

काठमाडौँ । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ ।

प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको छ । यस बर्षको विश्व फार्मासिस्ट दिवसको नारा ‘स्वास्थ्य सोचौं, फार्मासिस्ट सम्झौं’ रहेको छ । 

अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा स्थापना भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वर्ल्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु र चिकित्सा पेशेवरहरूलाई सम्मान गर्नु रहेको छ । यस दिन प्रत्येक व्यक्तिलाई उचित स्वास्थ्य सेवा प्रदान गर्न फार्मासिष्टहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा मानिसहरूलाई सचेत गराइन्छ । यस विशेष दिनमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका फार्मासिस्टहरूलाई सम्मान गरिन्छ ।

Read More

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाडौँ । नेपालले जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दैछ ।

कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेदेखि शुरु हुदैछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।

नेपाल समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो ।

त्यस्तै भारत भने समुह बी मा अपराजित हुदै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

Read More

बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली  शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो ।

दोस्रो दिन पूजास्थलमा दोस्री ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो । चौथो दिन आज कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । 

आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवीस्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् ।

दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।  आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।  महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । 

बडादशैंको टीकाको शुभ साइत:

बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।

Read More

भारत एशिया कपको फाइनलमा

काठमाडौँ । भारतले बंगलादेशलाई ४१ रनले पराजित गर्दै एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा भारतले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले  १९.३ ओभरमा अलआउट हुदै १२७ रन मात्र बनायो र खेलमा हार बेहोरेको थियो । उसका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए । यसैबीच, भारतका लागि कुलदीप यादवले तीन विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले दुई विकेट लिए । यसबाहेक अक्षर पटेल र तिलक वर्माले एक-एक सफलता पाए ।

भारत अपराजित रहँदै एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतको अब सुपर फोरको एउटा खेल बाँकी छ, सेप्टेम्बर २६ मा श्रीलंकासँग खेल्ने तालिका छ । यो खेल फाइनल अघि भारतीय टोलीको लागि अभ्यास खेलको रूपमा हुने भएको छ, किनकी श्रीलंकाको सुपर फोरका दुवै खेल हारेर फाइनलको सम्भावना सकिएको छ  ।

भारत सुपर फोर अंक तालिकामा चार अंक र १.३५७ को नेट रनरेटका साथ शिर्ष स्थानमा छ । पाकिस्तान र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बिहीबार दुई टोलीबीचको खेल सेमिफाइनल सरह भएको छ । यस खेलको विजेताले सेप्टेम्बर २८ मा फाइनलमा भारतसँग खेल्नेछ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहेको छ भने बागमती प्रदेश र गण्डकी प्रदेशको केही तथा कोशी प्रदेश, मधेश प्रदेश, र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षा भैरहेको छ ।

आज देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ असोज ९ गते बिहिवार: आजको राशिफल

आज असोज ०९ गते बिहिवार ई.सं. २०२५ सेप्टेम्बर २५ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र,  वैधृति योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन दहि खाएर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्‍त हुनेछ ।आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ५३ मिनेट देखि ७ बजेर २४ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । बडादशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिन्छ भने आजको दिनमा विश्‍व फार्मासिस्ट दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्‌ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्‌नु जाती हुन्छ । महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्‌ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । मनमा ठाउँ परिवर्तन गर्ने वा कार्यक्षेत्र बदल्ने सोच सलबलाउने दिन हो । त्यस्तो आकाङ्क्‌षा भएमा प्रयास गर्नोस् सफलता हात पर्नसक्छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्‌ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।

Read More

राज्यसँग छैनन् जहाज, निजी कम्पनीले सहुलियत दरमा उडाउन नमान्दा यात्रुहरुको बिचल्ली

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी यात्रुको चाप भएको दशैँको बेलामा हवाई टिकटको मूल्य नबढेको दाबी गरेको छ ।

प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भूलले पछिल्लो नौ बर्षदेखि हवाई भाडा नबढेको बताउँदै हवाई कम्पनीहरूले सरकारले तोकेको माथिल्लो सीमामा रहेर टिकटदर कायम राखेको दाबी गरे।

नेपाली रेडियो नेटवर्कसँग आज कुरा गर्दै उनले भने “प्राधिकरणले हवाई भाडा नियमन सम्बन्धी निर्देशिका २०७३ मार्फत ट्रङ्क, टूरिस्ट र स्टोल गरी तीन समूहमा विभाजन गरी हवाई भाडा तोक्ने गरेको छ । सबै वायुसेवा कम्पनीहरूको भाडादर अनुसार भाडा लिन्छन्, यदि त्यो भन्दा बढी उठाएको वा तोकिएको भाडादरभन्दा बढी उठाएको पाइएमा हामीले कारबाही गर्छौं । यात्रुहरूले के बुझ्नुपर्‍यो भने अन्य समयमा न्यूनतम भाडामा उडान भइरहेको हुन्छ । यात्रुको बढी चाप पर्ने दशैँतिहार लगायत चाडपर्वका बेला तोकिएको उच्चतम भाडादरमा उडान हुने गर्दछ ।’

जहाज र सिटको सङ्ख्या उस्तै हुने तर यात्रुको सङ्ख्या दोब्बरले बढ्ने अहिलेको समयमा सिट क्षमताका आधारणमा हवाई भाडा थपघट हुने गरेको उनको भनाई छ ।

सरकारसँग वायुयान नहुँदा निजी क्षेत्रसँग प्रतिस्पर्धा हुन नसकेको बताउँदै उनले तोकिएको भाडामा इन्धनको मूल्यअनुसार ‘सरचार्ज’ पनि जोडिने र नीजि कम्पनी प्रतिस्पर्धामा आउन नपरेपछि हवाई भाडा महङ्गो हुने गरेको उनले बताए ।

‘अन्य समयमा हवाई यात्रा गर्ने यात्रु पनि कम हुने र यात्रु आकर्षण गर्नकै लागि पनि कम्पनीहरूले न्यूनतम भाडामा उडान भर्ने गर्छन् । तर, अहिले त यात्रुको चाप नै बढी हुने गर्छ । ‘अहिले एउटा यात्रु नगए अर्को जान्छ भन्ने हुन्छ, त्यसकारण पनि भाडा उच्चतम नै रहने गर्छ।’ उनले भने ।

प्राधिकरणको आग्रह अनुसार गतवर्ष असोज दोस्रो साताको प्राकृतिक विपतको समयमा हवाई कम्पनीले सहुलियत दरमा यात्रु उडाएका जानकारी दिदै यसवर्ष पनि देशमा विषम परिस्थितिलाई हेरेर प्राधिकरणले हवाई कम्पनीलाई आग्रह गरेपनि कानुन अनुसार वायुसेवा कम्पनीलाई तोकेको दर भन्दा हवाई शूल्क कम गर्न नचाहेको उनको भनाई छ ।

जनतालाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउन सरकारले नै हवाई यातायातमा १३ प्रतिशत भ्याट छुट, हवाई इन्धनमा छुट दिए हवाई भाडा स्वत सस्तो हुँदै जाने उनले बताए । दशैँ, तिहारको समयमा जहाज पूर्ण क्षमतामा उडान भरिरहेका कारण उपलब्ध सिट सङ्ख्या कम हुँदै गएपनि हवाई टिकटको मूल्य बढ्ने गरेको भूले जानकारी दिए । जहाज र सिटको सङ्ख्या उस्तै हुने तर यात्रुको सङ्ख्या दोब्बरले बढ्ने अहिलेको समयमा सरकारसँग वायुयान नहुँदा नीजि क्षेत्रसँग प्रतिस्पर्धा हुन नसकेको उनको भनाई छ ।

अहिले नेपालको सबै सुगम गन्तव्य नीजि हवाई कम्पनीको नियन्त्रणमा रहेकाले दुर्गमका यात्रुलाई समेत सरकारले सुविधान दिन नसकेको उनले बताए । दशैँको मुखमा सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परिरहेको बेला वैकल्पिक साधन हवाई यातायातमा समेत हवाई कम्पनीहरुले मनलाग्दी भाडा लिएको भन्दै जनआक्रोस बढ्दै गएको देखिन्छ ।

कतिपय गन्तव्यमा टिकट पाउन मुस्किल रहेको अहिलेको समयमा प्राय सबै हवाई कम्पनीको भाडादर एउटै हुने गरेको छ । पछिल्लो केही समयदेखि अनलाइन प्लेटफर्ममा टिकट खोज्दा विभिन्न कम्पनीको भाडादर एउटै भेटिने गरेको छ। यो संयोग मात्रै नभएर आन्तरिक हवाई सेवा कम्पनीले आपसी मिलेमतोमा भाडादर निर्धारण गर्न थालेकाले यस्तो अवस्था आएको हो।

नियमन निकाय कमजोर रहेको फाइदा उठाउँदै हवाई कम्पनीले पछिल्लो समयमा कार्टेलिङ गरिरहेको गुनासो बढ्दै गएको छ ।

Read More