२०८३ बैशाख २६

अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीनको हत्या गरेकी प्याटरसनलाई आजीवन कारावास

काठमाडौँ । अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीन जनाको हत्या गरेकी महिला एरिन प्याटरसनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । न्यायाधीश क्रिस्टोफर बेलले सर्वोच्च अदालतमा यो सजाय सुनाएका थिए ।

जुलाई २०२३ मा, प्याटरसनले आफ्ना पूर्व पति साइमनका आमाबाबु डन र गेल प्याटरसनका साथै साइमनकी काकी हेदर विल्किन्सन र उनका पति इयान विल्किन्सनलाई आफ्नो घरमा खाजाको लागि निम्तो दिएकी थिइन् ।

उनले जानाजानी खानामा विषालु च्याउ (डेथ क्याप च्याउ) मिसाएर खुवाएकी थिइन् । यस प्रकरणलाई मशरुम मर्डरको नाम दिइएको थियो । 

११ हप्ताको मुद्दा चलेपछि, निर्णायक मण्डलले प्याटरसनलाई तीन हत्याको दोषी ठहर गर्‍यो । उनलाई हत्या प्रयासको पनि दोषी ठहराइएको थियो ।

Read More

प्रधानमन्त्रीको वक्तव्य-स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन बारे वक्तव्य निकालेर नागरिकहरुले ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गरेका छन् ।

सोमबार भएको जेनजी आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको बताएका छन् ।

उनले जेनजी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक नभएको बताउदै प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भएको बताएका छन् ।

उनले भनेका छन्-
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
जेन–जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्‌ना माग शान्तिपूर्ण रुपमा राख्नेमा हामी आश्वस्त रहेकामा प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भयो । जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक थिएन । हामी जेन–जी पुस्ताको मागलाई सुनिरहेका थियौं । तर प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो । प्रदर्शनका आयोजक स्वयंले प्रदर्शनमा घुसपैठ भएको थाहा पाएर आजको प्रदर्शन सफल भएको र ढिलो नगरी सबैलाई घर फर्कन आह्‌वान गरिसकेपछि घुसपैठियाहरुले तोडफोड र आगजनी गरे । यसबाट सरकारले राज्यको सम्पत्ति जोगाउन प्रयास गर्नु पर्ने स्थिति उत्पन्न भयो ।

सरकारले सामाजिक सञ्जालमा हुने अवाञ्छित कार्यबाट नागरिकलाई जोगाउन विगत एक वर्ष अघिदेखि नै यसलाई नियमन गर्ने प्रयोजनका लागि सम्बन्धित कम्पनीहरुलाई नेपालमा सूचिकरण गर्न पटक पटक आग्रह गर्दै आएको थियो । कतिपय प्लेटफर्महरुले सरकारको आग्रह अनुरुप नेपालमा दर्ता र सूचिकरण गरे पनि केहीले पटक पटकको आग्रहलाई बेवास्ता गर्दै आएको परिस्थितिमा सम्मानित सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई अनुगमन गर्न सकिनेगरी दर्ता र सूचिकरण गरेर मात्र सञ्चालन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।

सरकारले सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै नीति लिएको थिएन र छैन । अदालतको आदेश बमोजिम अन्तिम पटक सूचिकरणका लागि गत हप्ता सरकारद्वारा गरिएको आह्‌वानको समेत बेवास्ता भएपछि सूचिकरण हुनासाथ सञ्चालन हुने गरी त्यसलाई निस्कृय गरिएको थियो । बीसौं वर्षदेखि सामाजिक सञ्जाल प्रयोग गर्दै आएको हाम्रो नयाँ पुस्तालाई पक्कै पनि यसले असर पारेको थियो । राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।

आजको प्रदर्शनको क्रममा नागरिकहरुले ज्यान गुमाउनु परेकोमा म अत्यन्तै दुःखी भएको छु । यस अकल्पनीय घटनाबाट परिवारका सदस्य गुमाउनु भएका परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । मृतकको परिवारलाई सरकारले उचित राहतको व्यवस्था गर्ने छ र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने छ । आजको सम्पूर्ण घटनाक्रम र क्षति एवं त्यसको अवस्था र कारण समेतको छानविन र विश्लेषण गरी आगामी दिनमा यस्ता दुर्घटनाहरु हुन नदिन चालिने कदमहरुको सिफारिस समेत गर्नका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन गरिने कुराको विश्वास दिलाउन चाहन्छु ।

Read More

सुचारु भए सामाजिक सञ्जाल

काठमाडौँ । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ ।  सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन् ।

सरकारको कम्पनी नेपाल टेलिकमले पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरेको छ भने देशको सबैभन्दा ठुलो इन्टरनेट प्रदायक कम्पनी वर्डलिंकबाट पनि बन्द गरिएका सामाजिक सञ्जाल सुचारु गरिएको छ । 

सरकारले दर्ता नभएको भन्दै गत विहिबारदेखि २६ सामाजिक सञ्जाल निष्क्रिय पारिदिएको थियो । सोमबार देशभर जेनजीको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि सरकार ब्याकफुटमा आएर समाजिक सञ्जाल बन्द गर्ने आफ्नो निर्णयबाट पछि हटेको छ । 

Read More

एशिया कप क्रिकेट आजदेखि, उद्घाटन खेलमा अफगानिस्तान र हङकङ खेल्दै

काठमाडौँ । आजदेखि युएईमा एशिया कप क्रिकेट शुरु हुदैछ । आज उद्घाटन खेलमा अफगानिस्तान र हङकङबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ८: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।   

८ देशले भाग लिने यो प्रतियोगितालाई एशियाको क्रिकेट विश्वकपको रुपमा मानिन्छ । यस पटक एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसहित, अफगानिस्तान, बंगलादेश, श्रीलंका, ओमान, हङकङ र युएई खेल्दैछन् । अघिल्लो एशिया कप खेलेको नेपाल भने यस एशिया कपमा छनौट हुन असफल भएको थियो । २०२४ मा भएको एसीसी प्रिमियर कपमा सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल यस एशिया कपमा छनौट हुन असफल भएको थियो ।

एशिया कपको इतिहास
एशिया कप क्रिकेटको इतिहासको कुरा गर्दा ८० को दशकको सुरुवातमा, भारत र पाकिस्तानमा लोकप्रियताको हिसाबले दुई खेलहरू तीव्र प्रतिस्पर्धा गरिरहेका थिए । एउटा हक्की थियो र अर्को क्रिकेट । त्यसबेला हक्कीमा तीन प्रमुख प्रतियोगिताहरू थिए, जसमा दुवै देशका टोलीहरूले एकअर्कासँग खेल्थे । विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कप । तर, क्रिकेटमा विश्वकप मात्र थियो र त्यसमा पनि भारत-पाकिस्तान खेलहरू हुन सकेनन् ।

यसैबीच, १९८३ मा एसियाली क्रिकेट परिषद्को गठन भएको थियो । यसको उद्देश्य एसियाली क्रिकेट टोलीहरू, विशेष गरी भारत र पाकिस्तान बीच थप प्रतिस्पर्धाको लागि प्लेटफर्म सिर्जना गर्नु थियो । परिषद्ले १९८४ बाट नयाँ प्रतियोगिता सुरु गर्ने निर्णय गर्‍यो, जसको नाम एशिया कप थियो ।

१९८४ देखि एशिया कप १६ पटक आयोजना गरिएको छ । यसको १७औं संस्करण सेप्टेम्बर ९ बाट सुरु हुनेछ। यस पटक प्रतियोगिता टी-२० फर्म्याटमा खेलिदैछ । एसिया कप प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता हो । १९८४ देखि २०१४ सम्म, पहिलो १२ एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो । यसपछि, एसियाली क्रिकेट परिषद्ले यो प्रतियोगिता आगामी विश्वकपको तयारीका लागि प्रयोग गर्ने निर्णय गर्‍यो । यसको ढाँचा विश्वकपको आधारमा तय गरिने निर्णय गरियो । यदि अर्को विश्वकप एकदिवसीय ढाँचामा छ भने, एसिया कप पनि एकदिवसीय ढाँचामा हुनेछ । त्यसैगरी, यदि अर्को विश्वकप टी- २० फर्म्याटमा छ भने, एसिया कप पनि टी-२० फर्म्याटमा हुनेछ ।

२०१६ र २०२२ मा, टी-२० विश्वकप अघि, एसिया कप टी-२० फर्म्याटमा आयोजना गरिएको थियो । त्यस्तै, २०१८ र २०२३ मा, एकदिवसीय विश्वकप अघि, एसिया कप एकदिवसीय ढाँचामा आयोजना गरिएको थियो ।

भारतीय क्रिकेट टिमले सबैभन्दा धेरै एसिया कप जित्ने रेकर्ड राखेको छ । भारतले अहिलेसम्म आयोजित १६ एसिया कपमध्ये १५ मा भाग लिएको छ र ८ पटक उपाधि जितेको छ । भारतले यो प्रतियोगिता ७ पटक एकदिवसीय ढाँचामा र १ पटक टी-२० ढाँचामा जितेको छ । श्रीलंका ६ पटक उपाधि (५ एकदिवसीय र एक टी-२० ) सहित दोस्रो स्थानमा छ । त्यस्तै पाकिस्तान दुई पटक च्याम्पियन बनेको छ (दुबै एकदिवसीय फर्म्याटमा ) ।

श्रीलंकाले एसिया कपमा समग्रमा सबैभन्दा धेरै खेल जित्ने रेकर्ड राखेको छ । श्रीलंकाले एसिया कपमा कुल ४४ खेल जितेको छ । यसले एकदिवसीय ढाँचामा ३८ खेल र टी-२० मा ६ खेल जितेको छ । त्यस्तै भारत दोस्रो स्थानमा छ । भारतले कुल ४३ खेल जितेको छ । भारतले एकदिवसीयमा ३५ र टी-२० मा ८ खेल जितेको छ ।

Read More

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

काठमाडौँ । जेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।

सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

विज्ञप्ति:
हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं।

पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्रिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।

हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ भदौ २४ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ २४ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर ९ नेपाल सम्बत ११४५ ञलागा द्वितीया- १७, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष द्वितीय, चन्द्रमा मीन राशिमा, उत्तरभाद्रपदा नक्षत्र, गण्ड योग, तैतिल करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर १८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर २६ मिनेट देखि ०९ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज सोर्ह श्राद्धको दोस्रो दिन रहेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । महत्त्वपूर्ण व्यक्तिसित निकटता बढ्नेछ, कार्यक्षेत्रबाट लाभ मिल्नेछ । प्रतिस्पर्द्धामा विजयी भएर आफ्ना शत्रुमाथि दबाब सिर्जना गर्न सकिने छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

आत्मविश्वासमा अभिबृद्धि हुनाले साहसी र निडर भइने छ । अन्यायका विरुद्धमा जुझारु बन्न सक्नुहुन्छ । शत्रु र प्रतिस्पर्द्धीलाई दमन गर्ने समय हो । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो, स्वास्थ्यगत कमजोरीले पनि रोमान्टिक जीवन प्रभावित बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । कामधन्दा र बन्दव्यापारमा सफलता प्राप्त हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । समुचित निर्णय लिन नसक्दा क्षमता र योग्यतामा नराम्रो प्रभाव पर्नसक्छ । अन्धविश्वास र भ्रमले डेरा जमाउने समय छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । धनसङ्ग्रहमा कठिनाइ हुनेछ । नयाँ व्यवसाय, उद्योगधन्दा र साझेदारीको काममा लगानी गर्नुछ भने बढी हौसिनु ठीक हुँदैन । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला ।

Read More

काठमाडौँ महानगर भित्रका विद्यालय २६ गतेसम्म बन्द

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

Read More

झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति साढे ८ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्लामा कर्फ्यु आदेश जारी गरिएको छ । 

प्रशासनले सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने बताएको छ । कर्फ्यु आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन हुने भएको छ । सोमबार झापाको विर्तामोड र दमकमा जेनजीको आन्दोलन उग्र बनेको थियो ।  

Read More

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित

काठमाडौँ । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेल असहज परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको छ ।

यसअघि शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Read More