२०८३ बैशाख २६

१९ मृत्युपछि कर्फ्यु आदेशको पर्वाह नगरी संसद अगाडि भेला भए जेनजी, काठमाडौं तनावग्रस्त

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहानदेखि युवाहरु फेरि भेला भएका छन्।

सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि आक्रोशित हुदै प्रदर्शन जारी राख्ने संकेत दिएका छन् ।

काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले बिहान साढे ५ बजेदेखि र भक्तपुरले अनिश्चितकालिन कर्फ्यु आदेश लागू गरिसकेका छन्।

तर, प्रहरीले जारी गरेको कर्फ्युलाई नजरअन्दाज गर्दै युवा प्रदर्शनकारीहरू नयाँ बानेश्वर क्षेत्रमा जम्मा भएका छन्।

त्यसैगरी, काठमाडौँको कलंकी क्षेत्रमा पनि प्रदर्शन सुरु भइसकेको छ। टायर बाल्दै प्रदर्शनकारीहरू सडकमा निस्किएका छन्। ग्वार्को र सातदोबाटो लगायतका ठाउँहरूमा समेत प्रदर्शन जारी छ।

प्रहरी र प्रदर्शनकारीबीचको तनाव कायमै रहँदा काठमाडौं उपत्यकामा शान्ति कायम राख्न प्रशासनलाई थप चुनौतीहरु देखिएका छन्।

Read More

रुपन्देही जिल्लाभर निषेधाज्ञा जारी

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला भर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञा जारी गरिएको सुचनामा भनिएको छ-   
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२४ गते विहान ९:३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

Read More

पोखराका दुई क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

पोखरा । पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरको शहिद चोक आसपासका क्षेत्र र गण्डकी प्रदेश सभा आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो ।

आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ ।

Read More

प्रदर्शन व्यवस्थापन असफलतापछि उपत्यका प्रहरीमा कमाण्ड परिवर्तन,एआईजी दानबहादुरलाई जिम्मेवारी

काठमाडौं । काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका हुन् । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् ।

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।

Read More

रमेश लेखकको राजीनामापछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक अहिले बस्दै छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो ।

बैठकमा समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। सोमबार भएको जेनजी प्रदशर्नपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ । सोमबार नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकले राजीनामा दिएका थिए ।

Read More

भक्तपुरमा अनिश्चितकालीन कर्फ्यू

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ नगरपालिकाभित्र  आवात जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म भक्तपुरका मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।

Read More

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन् । 

बैठक दिनको १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्ने र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Read More

ललितपुरका विभिन्न क्षेत्रमा राती १२ बजेसम्मका लागि कर्फ्यु आदेश

काठमाडौँ । ललितपुर जिल्ला प्रशासन जिल्लाका विभिन्न क्षेत्रमा राति १२ बजेसम्म कर्फ्यु लगाएको छ ।

मंगलबार विहान प्रशासनले जारी गरेको कर्फ्यु बिहान ७ बजेदेखि राति १२ बजेसम्म लगाइएको उल्लेख छ । 

प्रशासनले ललितपुर महानगरको वडा नम्बर ४, १८ र २५ को भैसैपाटी क्षेत्र, वडा नम्बर २ को सानेपास्थित इद्रायणी क्षेत्र र वडा नम्बर ९ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । 

Read More

काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी

काठमाडौँ । काठमाडौँमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने बताएको छ ।

Read More

सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । सोमबार जेनजीको आन्दोलनमा भएको घटनापछि विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले सरकारको राजीनामा मागेका छन् भने सत्तारुढ दल नेपाली कांग्रेसका कैयौं नेताहरुले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

गएराती बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इतिहासकै कलंकको रुपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यसैगरी रास्वपाले सोमबारको घटनापछि वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । साथै रास्वपाले घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

त्यस्तै राप्रपाले पनि जेनजीको आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनपछि वर्तमान सरकारको उपादेयता समाप्त भएको निश्कर्ष निकालेको छ । राप्रपाको आकस्मिक रुपमा बसेको केन्द्रीय पदाधिकारी बैठकले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आव्हान गरेको छ । राप्रपाले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको टिप्पणी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको बताएको छ ।  

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार राति विज्ञप्ति मार्फत एमालेसँगको गठबन्धन जारी राख्ने कांग्रेसको निर्णय पुर्नविचार गर्नुपर्ने बताएका छन् । उनले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठूला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता नरहेको बताएका छन् । साथै महामन्त्री थापाले आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिइसकेको र समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताएका छन् ।  

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको र सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् ।

त्यस्तै कांग्रेस बाहेक एमाले भित्र पनि आफ्नै पार्टी नेतृत्वको सरकारप्रति अविश्वास बढेको छ । एमालेका केहि केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य उषा किरण तिम्सिनाले गृहमन्त्रीले मात्र राजीनामा दिएर हु्न्न भन्दै प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्ने बताएकी छन् ।

Read More